जनकपुरधाम– मोटरसाइकलमा ‘प्रेस’ लेखेर लागुऔषध तस्करी गर्ने दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ बस्ने ३० वर्षीय जीतेन्द्रकुमार सिंह र भारत विहार बस्ने २२ वर्षीय नासिर आलमलाई मंगलबार बाराको सिमराबाट पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी गोविन्द पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल चढेका जितेन्द्रले साइकल चलाएर वीरगन्जबाट सिमरातर्फ आइरहेका आलमलाई सुरक्षा दिँदै हिँडेको बेला पक्राउ गरिएको डीएसपी पुरीले नेपाल समयलाई बताए ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजीपाम, नुफिन र फेनारगन ३–३ सय था बरामद भएको पुरीले बताए । लागुऔषध ओसारपोसारमा संलग्न जितेन्द्र लामो समयदेखि आफूहरुको खोजी सूचीमा उनले जनाए ।
पुरीले मोटरसाइलमा प्रेस लेखेको भए पनि उनीहरु पत्रकार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । लागुऔषध ओसारपोसार गर्न सहज भनेर जितेन्द्रले मोटरसाइकलमा प्रेस लेखेको हुनसक्ने उनको भनाइ छ ।