शनिबार, वैशाख ८, २०८१

छाउगोठमा जल्यो अनुहार, तर जलेका छैनन् सपना

यो गीत रेकर्ड गर्दा गायिका धना परियार स्टुडियोभित्रै रोइन्। गीतले आफ्नै वास्तविकता बोलेको अनुभूत भयो उनलाई। सय वटाभन्दा बढी लोकगीतमा आवाज दिइसकेकी धनाको आवाज सुरिलो छ। विरहको गीत गाउने धनाको जीवन–संघर्ष पनि निकै पीडादायी छ।
 |  आइतबार, फागुन २५, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, फागुन २५, २०७६

मेरो जीवन दुःखको मूल भयो
चैतमासमा सुकेको फूल भयो
दुखियाको जीन्दगी दुःखै–दुःखको
भाग्य हो कि कर्मै हो ठूलो खै, कैले साथ पाइनँ सुखको

triton college

यो गीत रेकर्ड गर्दा गायिका धना परियार स्टुडियोभित्रै रोइन्। गीतले आफ्नै वास्तविकता बोलेको अनुभूत भयो उनलाई। सय वटाभन्दा बढी लोकगीतमा आवाज दिइसकेकी धनाको आवाज सुरिलो छ। विरहको गीत गाउने धनाको जीवन–संघर्ष पनि निकै पीडादायी छ।

दैलेखको विकट गाउँमा जन्मेकी धना समाजको अन्धविश्वासको जालोमा परिन्। छाउ प्रथाका कारण धनाले ३ वर्षको उमेरमै जल्नुपर्‍यो। २०५७ सालमा उनी ३ वर्षकी मात्र थिइन्। आमाको महिनावारी भएको थियो। घरभन्दा केही पर छाउगोठमा बसेकी थिइन्। छोराछोरीलाई बुवाले खासै वास्ता नगर्ने, आमासँग पनि राम्रो व्यवहार नगर्ने भएकाले आमाले आफूबाट छोराछोरीलाई कहिल्यै एक्लै र टाढा राखिनन्।

महिनावारीको समयमा समेत आमा धना र भाइलाई आफूसँगै छाउगोठमा सुताउँथिन्। खरले बारेको छाउगोठका प्वालबाट हावापानी सजिलैसँग छिर्थ्यो। मंसिरको महिना। सिरसिर बतास चलिरहेको थियो। बिहानै काममा जानुपर्ने र छोराछोरीलाई पनि न्यानो बनाउनको लागि बिहान उठेर नामसराले छाउगोठमा आगो बालिन्। छोराछोरी सुतिरहेकै थिए। एकैछिन आगो तापेपछि आगो निभाउन पानी लिन गोठबाट निस्किइन्।

महिनावारीको समयमा घरमा भएका भाँडा छुन पाइँदैनथ्यो, त्यसैले पानी लिन छाउगोठभन्दा केही पर गइन्। जब पानी सिन छाउगोठबाट निस्किइन्, बतासले आगोको लप्का उडाइदियो र खरले बारेको गोठ जल्न थाल्यो। गोठसँगै गोठभित्र रहेका धना जल्न थालिन्। निदाएकी धना निन्द्राबाट ब्युँझिइन्, तर बाहिर निस्कने ढोकामा नै आगोको मुस्लो थियो। उनको बाल मस्तिष्कमा भाइलाई जोगाउनुपर्छ भन्ने लाग्यो। जलेको पीडा सहँदै भाइलाई छोपेर बसिन्।

corrent noodles
Metro Mart

गोठमा आगो लागेको देखेपछि केही छिमेकी जम्मा भए तर कसैले पनि गोठभित्र पस्ने आँट गरेनन्। आमा नामसरा पानी लिएर आउँदा गोठको एक भाग दनदनी बलिरहेको थियो। उनी गोठभित्र पसिन् र भित्र भएका दुई छोराछोरी निकालिन्। छोरालाई सामान्य पोलेको थियो भने धनाको शरीर पूरै जलेको थियो। उनी बेहोस थिइन्।

होसमा आउँदा आगोले पोलेर छाला उप्किएको थियो। धनाले गाउँमा कुनै उपचार पाउन सकिनन्। उपचार हुने अस्पताल लैजान पैसा थिएन। नामसराले गाउँमा भेटिने जडिबुटी लगाइदिइन्। कैयौं रात अनिदो रहिन्, धनाको स्वास्थ्य सुधार्न निकै प्रयास गरिन्। छोरीको उपचारमा नामसराको एक्लो प्रयास थियो। परिवारका अन्य सदस्यबाट कुनै सहयोग पाइनन् नामसराले।

देख्दा साइत पर्दैन भन्दै कुट्थे

गाउँघरमै पाइने जडिबुटी लगाएर धनाको स्वास्थ्य केही मात्रामा त सुधार भयो तर टाउकोमा कपाल पनि बाँकी रहेन भने दाहिने हात पनि चलाउन नसक्ने गरी खुम्चियो। अनुहारको सबै भाग जलेको थियो। धना पूर्ण रुपमा सञ्चो हुन सकिनन्। अझै पनि पूर्ण रुपमा ठिक भएको छैन।

घरायसी उपचारबाट उठेर हिँड्न थालेकी धनालाई समाजको संकीर्ण सोच र मानसिकताले थला पारिदियो। उनलाई स्कुल जाने रहर लाग्यो। गइन् पनि तर मानिसहरु उनलाई देख्नेबित्तिकै गाली गर्ने, जिस्क्याउने गर्थे। दलित परिवारकी धनालाई जलेको शरीर लिएर हिँड्न कष्टसाध्य भयो।

‘मलाई देख्दा साइत पर्दैन भन्दै बाटो हिँड्न दिँदैनथे। लुकीलुकी स्कुल जानुपर्थ्यो । कसैले देखे भने पनि पिटेर घाउ नै बनाइदिन्थे। पोलेको घाउ सञ्चो भएकै थिएन, झनै घाउ थपिदिन्थे। कक्षा नौ पढ्दासम्म घाउ पाकिरहन्थ्यो,’ स्कुले दिन सम्झिँदा अहिले पनि धनाका आँखा रसाउँछन्।

धनाले गाउँबाटै २०७३ सालमा एसएलसी दिइन्। त्यसपछि थप पढ्न आर्थिक समस्या भयो। सानैदेखि उनको रुची गीतसंगीतमा थियो। त्यतैतिर करिअर बनाउन सकिन्छ कि भनेर गीतसंगीतमा लागिन्। छिमेकीहरुले ‘तेरो आवाज सुरिलो छ, गीत गाउन काठमाडौं जा’ भन्थे सानैदखि। तर, कसरी जानु काठमाडौं !

शिक्षक नरबहादुर महतराको सहयोगमा धना काठमाडौं आइन्। नरबहादुर तिनै शिक्षक हुन्, जसले धनालाई कक्षा ६ देखि एसएलसीसम्म पढ्नको लागि सहयोग गरी अभिभावकको भूमिका निर्वाह गरे। धनाको सहयोगको लागि नरबहादुरले गाउँमा देउसी–भैलो खेलेर पैसा जम्मा पारिदिन्थे।

काठमाडौं आइसकेपछि धनालाई केही गीत गाउने अवसर त मिल्यो, तर त्यतिले मात्रै काठमाडौंमा कहाँ टिक्न सकिन्थ्यो र ! केही नलागेपछि उनी गाउँ नै फर्किइन्। धनाको संगीतप्रतिको मोह र लगनशिलता देखेर उनै शिक्षक नरबहादुरले उनलाई पुनः काठमाडौं ल्याए। पढ्ने रहरले पनि छोडेको थिएन। धनाले पढाइ र संगीत सँगसँगै अगाडि बढाइरहेकी छन्।

गाउँमा हुँदा धनाले सुनेकी थिइन्– काठमाडौंमा कसैलाई अरुको विषयमा सोच्ने फुर्सद हुँदैन, सबै आफ्नै काममा व्यस्त हुन्छन्। तर, वास्तविकता त्यस्तो रहेनछ भन्ने आफैंले भोगिन्। दलित र अनुहार जलेकै कारण अपहेलित हुनुपर्‍यो उनले। उनका अनुसार गत मंसिरमा घरबेटीले उनलाई दलित भएकै कारण आफ्नो घरबाट निस्किन दबाब दिए। न्याय खोज्दै उनी मानव अधिकार आयोग र प्रहरीसम्मा पुगेकी छिन्। न्याय पाउने आश मरिसकेको छैन।

सपना जलेको छैन

कपाल नै उम्रन नसक्ने गरी जलेको छ धनाको टाउको। कपालबिनाको टाउको छोप्न सधैं क्याप लगाएर हिँड्छिन्। जलेको त अनुहार पनि छ तर अनुहार चाहेर पनि छोप्न सक्दिनन्। उनलाई देख्नेहरु हिँड्दा–हिँड्दै रोकिएर हेर्छन्।

अनेक हण्डर खाँदै धना सांगीतिक क्षेत्रमा लागिरहेकी छन्। उनलाई जीविकोपार्जकको लागि आर्थिक अभाव छ तर पनि संघर्ष गरिरहेकी छिन्। जलेको अनुहार देखेर आयोजकले फिक्स भइसकेको स्टेज कार्यक्रम रद्द गरेको तितो अनुभव पनि छ उनीसँग। ‘मेरो गीत सुनेर कार्यक्रममा बोलाउने आयोजकले अनुहार देखेपछि कार्यक्रम नै रद्द गरिदिन्छन्, तर सहनु नै पर्दोरहेछ,’ उनी तितो पोख्छिन्।

छाउ प्रथाका कारण धनाजस्ता थुप्रैको जीवन कष्टसाध्य भएको छ। तरपनि हटेको छैन यो प्रथा। मनसराजस्ता सयौं महिला अहिले पनि छाउगोठमा बस्न बाध्य छन्। धना भन्छिन्, ‘समाजमा बसेपछि मन नहुँदा–नहुँदै पनि छाउ गोठमा बस्न बाध्य भइने रहेछ। छाउ प्रथानमान्दा समाजले झनै बाँच्न गाह्रो बनाउँछ। अनुहार जलेका कारण समाजको छिःछिः–दुर्दुर सहनु परिरहेको छ। समाजसँग पौँठेजोरी खेलिरहेकी छु। अनुहार जलेको छ तर सपनाहरु जलेका छैनन्।’

प्रकाशित: Mar 08, 2020| 11:04 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।