मंगलबार, जेठ १३, २०७७

समाचार समाज

१० मिनेट घम्साघम्सीपछि कुमालले यसरी मारे आक्रमणकारी चितुवा

1589088823chituwa.jpg
आक्रमणकारी चितुवासँगकाे भिडन्तमा घाइते भएका रामबहादुर कुमाल र उनले मारेकाे चितुवा। तस्बिर ः सामाजिक सञ्जाल

काठमाडौं- तनहुँको भानु नगरपालिका–४ का रामबहादुर कुमालले आक्रमणकारी चितुवालाई मारेका छन्।

चितुवासँग झन्डै दस मिनेट घम्साघम्सी परेको कुमालले बताए। ‘सेनामा हुँदा सिकेको तालिम चितुवासँग लड्न काम लाग्यो,’ सेनाका पूर्व हवल्दार कुमालले भने। स्थानीय मोती मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई पोखरा लगिएको थियो।

भानु नपा वडा नम्बर ४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले कुमालको उपचारमा नगरपालिकाले सहयोग गर्ने बताए। ‘धेरै पछि गाउँमा चितुवा आक्रमणको घटना भयो,’ भाटले भने, ‘यो घटनाचाहिँ जंगल क्षेत्रमै मानिस जाँदा भएको देखियो।’

डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले गत वर्षको पुस २२ गतेपछि यो घटना भएको बताए। ‘झन्डै १५ किलो जतिको रोगी रोगी खालको भाले चितुवा रहेछ,’ बरालले भने, ‘कार्यालयले घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउँछ।’

उनले घाइतेलाई क्षतिपूर्ति दिइने बताए। मृत चितुवालई वन कार्यालय परिसरमा गाडिएको छ। तनहुँमा दुई वर्ष अवधिमा चितुवा आक्रमणमा परी ८ बालबालिकाको मत्यु भइसकेको छ।

चितुवा आक्रमणका ७ वटा घटना भानु नगरपालिकामै भएका छन्। कार्यालय तनहुँले झन्डै एक करोड रुपैयाँ मृतक, घाइते तथा चौपाया क्षति भएकालाई क्षतिपूर्ति दिइसकेको बरालले बताए।

उनले अधिकांश घटना साँझको समयमा भएको जानकारी दिए। ‘जनचेतनाको काम अझै प्रभावकारी हुन नसकेको देखिन्छ,’ बरालले भने, ‘समाधानका अन्य उपायसँगै सचेतना कार्यक्रम बढाउनुपर्ने देखिन्छ।’

चितुवाले वयश्क मान्छेलाई हत्तपत्ति आक्रमण गर्दैन । जसरी मानिस चितुवादेखि डराउँछ चितुवा पनि वयश्क मान्छेसँग डराउँछ।

प्राणीशास्त्री यादव घिमिरे भन्छन्, ‘चितुवाको मुख्य निशाना मान्छे होइन। उसलाई जोखिम पर्दा जाइलाग्ने हो । त्यो त चितुवा मात्रै होइन सबै प्राणीमा लागू हुन्छ।’

आठौं चितुवा खोरमा

‘चितुवा समाउन जिल्लाभरि १८ वटा खोर बनाएर वन क्षेत्रमा राखेका छौं,’ बरालले भने, ‘शुक्रबार बन्दीपुर गाउँपालिका शेराटारमा एउटा चितुवा खोरमा परेको छ। यसअघि ७ वटा चितुवालाई पक्रेर चितवन राष्ट्रिय निकुञ्जलगायतका ठाउँमा लगिसकेका छौं।’

उनका अनुसार शेराटारको खोरमा परेको चितुवा ३५ किलो जतिको आठ नौ वर्षको भाले हो। ‘सधैं खोरमा थुनेर मात्र पनि समस्या समाधान हुँदैन,’ बरालले भने, ‘जिल्लाभर चितुवाको संख्या र तिनको आहार प्रजातिबारे विस्तृत अध्ययन पनि थालेका छौं। क्यामरा ट्रयाप विधिबाट निगरानी बढाउने तयारीमा छाैं।’

घरसँगै टाँसिएको बारीमा मकैजस्ता चितुवा लुक्न सक्ने बाली नलगाउने, रातको समयमा घरबाहिर बत्ति बालेर उज्यालो बनाइराख्ने, घरबाहिर निस्कँदा एक्लै ननिस्कने, निस्कनै परे दुईजना भएर निस्कने, रातमा निस्कन पर्दा टर्चलाइट बाल्ने जस्ता उपाय अपनाउँदा जोखिम धेरै कम हुन्छ।

'यसरी मारेँ चितुवा'

चण्डी पूर्णिमाका लागि अघिल्लो दिन कुखरा किनेर ल्याएका थियौं। राति तीन बजे आसपास कुखुरा चोरी भएको सुइँको पायौं। उठेर हल्ला गर्न थालियो। सेतोसेतो लुगा लगाएको चोर चउरतिर भागेको कुरा गाउँलले गरे।

कुकुर पनि चउरतिरै भाग्न थाल्यो। कुकुरले पक्कै चोरलाई लखेट्यो होला भनेर कुकुर भागेतिर भाग्यौं। हातमा एउटा मोबाइल बोक्या थिएँ। पछिपछि १३ वर्षको छोरो पनि दौडेर आइराथ्यो।
अलि पर पुगेर कतै चोर चोर रुखमा पो चढ्यो कि भनेर यसो माथि हेरेको त चितुवा पो रहेछ। लौ बर्बाद भो ‘ल भाग भाग’ भन्दै थियौं।
ङ्वारर्र गरेर एक खेप करायो। मेरो पछिल्तिर भएको छोरोलाई चितुवाले खाला भनेर उसलाई अघि लाएर यसो अघि मात्र बढ्या थियौं अर्को खेप ङ्वारर्र गरेर आइहाल्यो। ढुंगा टिपेर हानें। लाग्यो लागेन भेउ पाइनँ ।

मैले ढुंगा हानेकै हातमा क्वाप्प पारिहाल्यो।
लडेर अर्को कान्लामा पुगिसकियो हात त छोड्दैछोेड्दैन। बाघले अगाडिको खुट्टाले आक्रमण गर्छ भन्ने तालिमका सिकेको थिएँ।
अनि मैले पनि घुँडाले घाँटीमा अँठ्याएर उसका अगाडिका दुई हातलाई लक लगाइदिएँ। ऊचाहिँ पछाडिको खुट्टाले मलाई हानिराछ।

मैले मुखै च्यातिदिन्छु भनेर मुखमा हात छिराएँ। माथ्लो च्यापुले मेरा हातलाई अँठ्याउँछ। बल्लबल्ल हात निकालेर तल्लो च्यापु च्यात्न लागेँ। एउटा दाउराको ठेडो देखें। त्यो ठेडो लिएर बल्लतल्ल बायाँ हातले त्यसैको आँखैमा कोपिदिए।

‘ढुंगाले हान्नू ढुंगाले हान्नू’ भन्दै छोरो कराउँदै थियो। एउटा सस्यानो ढुंगाले ड्याम कि ड्याम हान्न थालें। गलिसकेको थिएँ।
त्यही बेला मेरो दाइ आएर त्यसको पछाडिको खुट्टा समाइदिनुभो। अनि एक दुई खेप हानेपछि त्यो अचेत भर लड्यो।

दाहिने हातमा चोट लागेको छ। सेनाको तालिम नभएको भए पक्कै पनि लड्न सकिन्न्थ्यो। तालिम लिएको भर बाँचियो। (कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्