सोमबार, जेठ १९, २०७७

समाचार समाज
1589029616Migratory_Birds_2.jpg

जैविक विविधताका आधारमा नेपाल विश्वको २५ औं र एसियाको ११ औं स्थानमा छ। पन्छी विविधतामा पनि नेपाल धनी छ।
नेपालमा ८ सय ८८ प्रजातिका चरा अभिलेख भएका छन्। तिनमा घुमन्ते चराको संख्या झन्डै ३ सय छ। त्यस्तै, ३ सय ८९ प्रजातिका जंगली चरा पाइन्छन् भने ४५ प्रजाति गर्मीयाममा आउने घुमन्ते प्रजाति हुन्।

विश्वमा पाइने कुल चरा प्रजातिको ८ प्रतिशत नेपालमा पाइन्छन्। शनिबार १५ औं विश्व आगन्तुक चरा दिवस। लकडाउनका कारण कार्यक्रम हुन पाएनन्। यद्यपि विविध संघसंस्थाले आआफ्नै ढंगमा आगन्तुक चरा दिवस मनाए।

चराविद् हेमसागर बरालले दिवसकै अवसरमा संरक्षणकर्मीसँग भर्चुअल छलफल चलाए।  चितवनमा रहेको बर्ड एजुकेसन सोसाइटीले पनि विश्व आगन्तुक चरा दिवस मनाएको छ। सोसाइटीले चुरे क्षेत्रमा चरा अवलोकन कार्यक्रम गर्यो।

नेपालमा धरै चरा पाइने जिल्ला चितवन हो। चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा विश्वव्यापी रुपमा तथा राष्ट्रिय रुपमा संकटापन्न चरा प्रजाति पाइने हुँदा सो क्षेत्रमा संरक्षण गतिविधि प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको धारणा छ।

साथै, कोसीटप्पुमा पनि दिवस मनाइयो। त्यहाँ कोसी बर्ड सोसाइटीले चरा अवलोकन कार्यक्रम आयोजना गरेको छ।

अन्तर्राष्ट्रिय संस्था बर्डलाइफ इन्टरनेसनलले नेपालका विभिन्न ३७ स्थानलाई महत्त्वपूर्ण चरा क्षेत्रका रुपमा पहिचान गरेको छ। ती क्षेत्रले नेपालको कुल भूमीको २७ प्रतिशत ओगट्छ। हालसम्म १७ वटा चरा संरक्षण क्षेत्रमा प्रभावकारी क्रियाकलाप भएका छन्।

वासस्थान संकट

चराका लागि सबभन्दा ठूलो चुनौती वासस्थानको संकट हो। ‘बस्ने ठाउँ नै नभएपछि चराले कहाँ गुड बनाउने? कहाँ बच्चा कोरल्ने? त्यसैले वासस्थान नासिनु चरा नासिनुसरह हो,’ चराविद् हेमसागर बराल भन्छन्, ‘वासस्थान नासिएपछि चराको संख्या खण्डित हुन्छ।’

नेपालमा पाइने चरामध्ये ८ प्रजाति लोप भइसकेको उनी बताउँछन्। ती ८ प्रजाति नदेखिएको १ सय ५० वर्ष भइसकेको छ।

त्यस्तै, सन् २०१६ को अध्ययनमा १ सय ६८ प्रजातिको चरा संकटमा परेको देखिएको थियो। ‘अरु चराचाहिँ संकटमा छैनन् भन्ने होइन,’ बराल भन्छन्, ‘वातावरण विनाश र संरक्षणको सोचबिनाको विकासलाई निरन्तरता दिइरहने हो भने चरा प्रजाति घट्दै जान्छ।’

वन विनाश

चरा संकटमा पर्नुका केही कारण छन्। खेती विस्तार गरिँदा चरा संकटमा परे। सहरीकरण बढ्दै जाँदा तथा जंगल मासिँदा पनि चरा संकटमा परे।
कतिपय चरा एउटै रुखमा मात्र बस्छ। त्यस्तो रुख मासिँदा पनि चरा मासिए। ‘चरालगायत अन्य वन्यजन्तु संकटमा परेको मानवीय क्रियाकलापले हो,’ बराल भन्छन्, ‘मानव निर्मित समस्यालाई मानवले नै निराकरण गर्ने प्रयास गर्नुपर्छ।’

पछिल्लो समय जनसंख्या बढ्यो भने चराको संख्या घट्यो। खेती गर्नुपर्दा वन विनाश भए । चराको वासस्थान मासियो र संख्या घट्यो।
‘विकास निर्माणलाई गति दिँदा विद्यालय, विश्वविद्यालय, सडक, अस्पताल बनाउन वन क्षेत्र नै मासिँने हुँदा प्राणीको वासस्थान खुम्चिँदै गएको छ, जसका कारण चराको संख्या पनि संकुचित हुँदै गएको हो,’ बराल भन्छन्।

सीमसार संकटमा पर्दा पनि चरा संकटमा परे। नेपालमा भएको १० वटा सीमसारमा सबैको प्रभावकारी संरक्षण हुन सकेको छैन।
जैविक विविधताका लागि घाँसेमैदान महत्त्वपूर्ण मानिन्छ। विगतमा घाँसेमैदान भएका ठाउँमा अहिले खेती वा वस्ती छ। घाँसे मैदान अभावमा पनि चरा संरक्षण चुनौतीपूर्ण बनेको छ।

सकारात्मक पक्ष

संरक्षणको क्षेत्रमा देखिएको एउटा सकारात्मक पक्ष हो, सचेत युवापुस्ता। प्रकृति र वन्यजन्तुलाई संरक्षण गर्नुपर्छ भन्ने चेतना युवापुस्तामा छ। संरक्षणका प्रभावकारी काम युवा पुस्ताले नै हाँकेका छन्।

संरक्षण पक्षमा भएको अर्को सकारात्मक पक्ष हो, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम। ‘चुरे धेरै हिसाबले महत्त्वपूर्ण छ। किनभने तराईमा बाढी आउँदा जीवजन्तुले चुरेमा आएर आफूलाई जोगाउँथे। त्यस हिसाबले चुरे जीवजन्तुको बिउको भण्डार हो भन्न सकिन्छ,’ बराल भन्छन्, ‘त्यस्तै, चुरे ‘वाटर सेड’ हो। यसले पानी तानेर ‘वाटर टेवल’लाई माथि ल्याउन मद्दत गरेको हुन्छ। त्यस्तै, पहाडबाट बग्ने पानीहरुलाई फिल्टर गरेको हुन्छ।’

चुरे हुँदै तराई पुगेका नदीहरुमा बढी मानवीय अन्तरक्रिया पाइन्छ।

‘संरक्षणका प्रयासमा भएको उदाहरणीय काम गिद्ध रेस्टुरेन्ट पनि हो,’ बराल भन्छन्, ‘गिद्ध संरक्षणका लागि खाना उपलब्ध गराउन गिद्ध रेस्टुरेन्टले गरेको प्रयासले उच्च मृत्यु दर उल्लेखनीय रुपमा कम भएको छ।’ संरक्षणमा भएको प्रयासले सकारात्मक परिणाम देखिएको उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्