सोमबार, साउन २६, २०७७

समाचार समाज

काठमाडौंमा चितुवाबाट आक्रमणको डर कति ?

1588916614Chituwa_at_TU4.jpg
चन्द्रागिरिमा मारिएकाे चितुवा (माथि ) र कीर्तिपुरमा देखिएकाे चितुवा। तस्बिर : फेसबुक 

प्राध्यापक मदनकुमार रिमालले गत आइतबार फेसबुकमा एउटा पोस्ट गरे, ‘त्रिभुवन विश्वविद्यालय परिसरमा प्रात तथा साँझमा भ्रमण गर्नेहरु सावधान। त्रिवि जंगल क्षेत्रमा चितुवा विचरण गरिरहेको छ।’ उनले सहकर्मीबाट प्राप्त चितुवाको फोटो पनि पोस्ट गरेका छन्।

त्रिवि परिसरमा लकडाउनको सुनसानमा मात्र होइन विगत सातआठ वर्षदेखि चितुवा देखिँदै आएको हो।

स्थानीयका अनुुसार पछिल्ला दिनमा कीर्तिपुरमा तीनवटा चितुवा देखिएका छन्। कुनै चितुवा आफ्ना छाउरासँग हिँडेको पाइएको छ। यी चितुवा नजिकै जंगलबाट आएको हुनसक्ने विज्ञ बताउँछन्।

काठमाडौं उपत्यका वरिपरिका डाँडा चितुवाको वासस्थान हो। कुनै जंगल छोडेर बस्तीतिर आउने विज्ञको अनुमान छ। ‘आहारको खोजी र हिँडडुलका क्रममा चितुवा कहिलेकाहीं बस्तीमा आउँछ,’ चितुवाबारे अनुसन्धान गरिरहेका यादव घिमिरे भन्छन्, ‘कीर्तिपुरमा देखिएका चितुवा वरिपरिबाटै आएका हुन सक्छन्।’

विगतमा बल्खु, बानेश्वर, महाराजगन्जबाट पनि चितुवालाई नियन्त्रणमा लिइएको थियो। यस्तै गोठाटार, मच्छेगाउँ, कागेश्वरीलगायतका ठाउँमा पनि चितुवा देखिएका थिए। चन्द्रागिरी, नागार्जुन, शिवपुरी, फुलचोकी आसपासका क्षेत्रमा त प्रायः चितुवा देखिन्छन्।

‘पहिला वन क्षेत्र धेरै थियो। खेतबारी टन्नै र बस्ती पातलो थियो,’ घिमिरे भन्छन्, ‘अहिले बनको सीमासम्मै बस्ती पुगेको छ अनि वन्यजन्तु बस्तीतिर देखिन थालेका हुन्।’

वन क्षेत्रमा चितुवाको संख्या बढेर वा आहाराको खोजीमा चितुवा बस्तीतिर आएको हुन सक्ने उनी बताउँछन्।
कीर्तिपुरमा चितुवा देखिएको केही दिनपछि २४ वैशाखमा अर्को समाचार आयो– चन्द्रागिरीमा मानिसलाई आक्रमण गर्ने चितुवा मारियो।

चन्द्रागिरि नगरपालिका–६ मा चितुवाले स्थानीय ६ जनालाई घाइते बनाएपछि चितुवालाई स्थानीयले मारे।
मानिसलाई आक्रमण गरेपछि प्रतिरोध गर्दा चितुवा मरेको हो वा बस्तीमा आएको चितुवा देखेर मान्छेले आत्तिएर लखेटेर मारेका हुन् स्पष्ट भइसकेको छैन।

चन्द्रागिरि क्षेत्र चितुवाको धेरै गतिविधि हुने क्षेत्रमध्येको एक रहेको बताउँछन्, साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका सागर दाहाल।

‘चितुवाले मानिसको मिहीन अध्ययन गरिरहेका हुन्छन् । हामीले चितुवालाई जति देख्छौं त्योभन्दा बढी उनीहरुले हाम्रो गतिविधि नियालिरहेका हुन्छन्,’ दाहाल भन्छन्, ‘लकडाउनले तीसचालीस दिन मान्छेको गतिविधि कम हुँदा चितुवा आत्मविश्वासका साथ नयाँ क्षेत्रमा आएको देखिन्छ।’

चन्द्रागिरिमा मात्र होइन विगतमा मच्छेगाउँ, गोठाटार, काभ्रेको पाँचखालमा पनि मान्छेले चितुवालाई कुटीकुटी मारेका थिए।

‘मान्छेले परापूर्व कालदेखि नै जनावरलाई मार्दै आइरहेका हुन्। उनीहरुसँगको डरका कारण अहिले पनि त्यही स्वभाव दोहोरिएको हो,’ दाहाल भन्छन्, ‘वन्यजन्तुको वासस्थान साघुरिँदै गएको, उनीहरुको संख्या घट्दै गएको र उनीहरुलाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश आमजनतामा प्रभावकारी रुपमा नपुग्दा यस्तो घटना दोहोरिएका हुन्।’

बाघ र अन्य बिरालो प्रजातिजस्तै चितुवा पनि एक्लै बस्ने प्राणी हो। सिकार गर्न सक्ने भएपछि माउले बच्चालाई आफ्नो नजिकै आउन दिँदैन। अनि चितुवाले आफ्नो क्षेत्र बनाउँछ।

चितुवाले आफ्नो क्षेत्रमा अर्कोलाई आउन दिँदैन। बलियोले निर्धोलाई धपाएर आफ्नो क्षेत्र निर्धारण गर्छन्। ‘त्यसरी क्षेत्र छोड्नुपर्दा कमजोर, कलिला वा वृद्ध चितुवा आहारका लागि बस्ती पस्ने हुन्,’ घिमिरे भन्छन्।

एक बेतमा दुईवटासम्म बच्चा पाउने चितुवा दिउँसो प्रायः आराम गर्ने र राति सक्रिय हुने गर्दछ। यसको आहारा मुसा, सालक, चरा, मृग, चित्तल, बाँदर आदि हुन्। चितुवाले बस्तीका कुुकुर र अन्य चौपायाका पाठा, बाच्छा र पाडापाडी पनि सिकार गरेको पाइन्छ। यसको सरदर आयु आठ वर्ष जति हुन्छ।

चितुवाबाट मान्छेलाई कत्तिको डर हुन्छ?

चितुवाले वयस्क मान्छेलाई हत्तपत्ति आक्रमण गर्दैन। ‘कीर्तिपुरमा चितुवा देखिएको सातआठ वर्ष भइसक्यो तर मानिसलाई आक्रमण गरेको छैन,’ घिमिरे भन्छन्, ‘चितुवाको मुख्य निसाना मान्छे होइन। उसलाई जोखिम पर्दा जाइलाग्ने हो। त्यो त चितुवा मात्रै होइन सबै प्राणीमा लागू हुन्छ।’

चितुवाबाट जोगिन मानिसले सावधानी अपनाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार घरसँगै टाँसिएको बारीमा मकैजस्ता चितुवा लुक्नसक्ने बाली नलगाउने, रातको समयमा घरबाहिर बत्ती बालेर उज्यालो बनाइराख्ने, घरबाहिर निस्कँदा एक्लै ननिस्कने, निस्कनै परे दुईजना भएर निस्कने, रातमा निस्कन पर्दा टर्चलाइट बाल्ने जस्ता उपाय अपनाउँदा जोखिम धेरै कम हुन्छ।

विगतमा नेपालको पश्चिमी जिल्ला बैतडी र गण्डकी प्रदेशमा चितुवा आतंक थियो। चितुवाकै कारण बैतडीमा दस वर्ष अवधिमा २४ जनाले ज्यान गुमाएका छन्। तनहुँमा २०७५ वैशाखदेखि २०७६ पुससम्ममा ८ बालबालिकालाई चितुवाले लग्यो।

नेपालमा चितुवा सम्बन्धि विस्तृत अध्ययन भएको छैन। देशभर पाँच सयदेखि हजारसम्म चितुवा भएको अनुमान छ। 

प्रतिक्रिया दिनुहोस्