सोमबार, जेठ १२, २०७७

समाचार समाज

बढ्दै छ कस्तूरी मृगको चोरी सिकार

1588829478Animal.jpg
सगरमाथा राष्ट्रिय निकुञ्जमा चोर सिकारीले मारेका कस्तूरी मृग र पासोमा पारेका हिमाली गिद्ध। तस्बिर सौजन्य : लक्ष्मण अधिकारी

काठमाडाैं- सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा ६ वटा कस्तूरी मृग मारेको भेटिएको छ। निकुञ्जका अनुसार क्षेत्रमा यति धेरै संख्यामा कस्तूरी मारिएको यो पहिलोपटक हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले सबै कस्तूरीलाई पासोमा पारेर मारेको भेटिएको बताए। ‘दुई वटा कस्तूरीको बिना भने निकालेर लगिएको पाइयो,’ उनले भने।

कस्तूरीको भालेमा मात्र बिना हुन्छ। ‘चोर सिकारीले परिस्थिति र मौसम प्रतिूकल हुँदाको फाइदा उठाएको देखिन्छ,’ उपाध्यायले भने। चोरी सिकारमा संलग्न भएको शंकामा तीन जना शंकास्पद व्यक्ति पक्राउ परेको उनले बताए।

विश्वमा कस्तूरीका ७ प्रजाति पाइन्छन्। नेपालमा कालो (ब्ल्याक मस्क डियर), हिमाली (हिमालयन), वन कस्तूरी (फरेस्ट) र साइबेरियन यसका चार प्रजाति छन्। मारिएका कस्तूरी हिमाली प्रजातिका हुन्। नेपालमा झण्डै ५ सय कस्तूरी मृग रहेको अनुमान छ।

दुई वर्षअघि सगरमाथा राष्ट्रिय निकुञ्जमा कालो कस्तूरी मृग गणना गरेका प्राणीशास्त्री डा. मुकेशकुमार चालिसे नेपालमा २२ सय देखि ४३ सय मिटरसम्म कस्तूरी मृग पाइने बताउँछन्।

उनका अनुसार कस्तूरीको मानिसको चर्पीजस्तै निश्चित ठाउँमा मात्र बड्कौंल्याउने बानी हुन्छ। ‘त्यसैले गर्दा चोरी सिकारी गर्नेले यसको बासस्थान पत्तो पाउने हुन्,’ चालिसे भन्छन्। उनका अनुसार वयस्क कस्तूरीको भालेमा ३० देखि ४५ ग्रामसम्म बिना हुन्छ।

कस्तूरी मृग एकान्तप्रिय, लज्जालु तथा निश्चित वासस्थानको आफ्नै सीमा क्षेत्रमा बस्न मन पराउने प्राणी हो। यो प्राणी मिरेमिरे उज्यालो र साँझमा बढी सक्रिय हुन्छ भने दिउँसो आराम गर्छ। ‘कस्तूरी मृग गुराँस र भोजपत्रका झ्याम्म परेका रूखमुनि र स्याँठ नचल्ने ठाउँका ककारोतिर बस्छ’ चालिसेले भने।

नेपालका १२ वटा संरक्षित क्षेत्रमा कस्तूरी मृग पाइने विभिन्न अध्ययनले देखाएका छन्। तीमध्ये हिमाली क्षेत्रका निकुञ्ज सगरमाथा, रारा, से फोक्सुण्डो, मकालु वरुण र खप्तड तथा संरक्षित क्षेत्रहरु अन्नपूर्ण, मनास्लु, गौरी शंकर र अपिनम्पाका साथै ढोरपाटन सिकार आरक्षमा कस्तूरी पाइन्छन्।

कस्तूरीको बिना चीनमा चोरी पैठारी हुने गरेको बताइन्छ। परम्परागत औषधिका लागि चीनमा विभिन्न वन्यजन्तुको अंग प्रयोग हुने गरेको छ।

कस्तूरी मार्न चोर सिकारीले पासो थाप्ने गरेका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीले सगरमाथा बेसक्याम्प पदमार्गबाट झन्डै डेढ सय मिटरमुनिको सल्लाको जंगलमा पासो थापिएको बताए। ‘सजिलै पुग्न नसकिने ठाडो भीरमा पासो थापेका रहेछन्,’ उनले भने। उनले वन क्षेत्रमा ५४ वटा पासो भेटिएको बताए।

सोही स्थान नजिकै एक मृत हिमाली गिद्ध (गोल्डेन इगल) पनि भेटिएको उनले बताए। ‘सिनो खाने आउँदा पासोमा परेर गिद्ध मरेको अनुमान छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्