सोमबार, जेठ १९, २०७७

विशेष

यो मानवीय क्षुद्रताको बेला हो...

1585377868india_lock_down.jpg
तस्बीर: पीटीआई

लकडाउन सुरु भएको केही दिनमा सन्देश आयो, ‘लाग्छ, कलियुग समाप्त भयो, सत्ययुग आउँदै छ...।’ ठिक त्यही बेला हजारौं श्रमिकको जत्था भोकै प्यासै फाटेका चप्पल काखी च्यापेर सहरका सडकमा निस्किरहेको थियो।

द वायर- लकडाउन सुरु भएको ४० दिन नाघिसकेको छ। मानिसहरु भनिरहेका छन्, अब समय पहिलेजस्तो रहने छैन। प्रि कोरोना र पोस्ट कोरोना सोचमा ठूलो परिवर्तन आउने आँकलन भइरहेका छन्। तर, मलाई त्यस्तो केही होला जस्तो लाग्दैन।

यो बेला एउटा कुरा भने स्पष्ट देखिएको छ। त्यो हो मानवीय क्षुद्रता... स्यालोनेस, मिननेस...

भनिन्छ, परिवर्तन मात्र स्थायी हो। तर हाम्रो समाजमा छुद्रता स्थायी छ। यसको स्वरुप र मात्रा घटबढ हुन सक्छ, तर यो सधैं छ।
लकडाउन सुरु भएको केही दिनमा रामनवमी थियो, एउटा ग्रुप म्यासेज आयो, ‘लाग्छ, कलियुग समाप्त भयो, सत्ययुग आउँदै छ, प्रदूषणरहित वातावरण, समानता, न नोकरचाकर, घरमा सबै मिलेर काम हुन्छ, उपवास–कीर्तन हुँदै छ आदि।’

ठिक त्यही बेला हजारौं श्रमिकको जत्था भोकै प्यासै एउटा रोग र अनिश्चित भविष्यको डरले फाटेका चप्पल र थोत्रा झोला काखी च्यापेर सहरका सडकमा निस्किरहेको थियो।

वर्षौंसम्म आफ्नो पुर्ख्यौली घर नगएका यी मजदुर चुपचाप किन बसेनन्? दुई महिनाको रासन किनेर पहिलेदेखि बसेको ठाउँमा बस्न हुन्थेन? गाउँमा के छ र त्यस्तो?

मेरो कामले गर्दा अखबार र खबर पढ्ने इच्छा नहुँदा पनि पढ्नैपर्छ। यसबीच सयौं रिपोर्ट पढें, पचासौं सम्पादन गरें।

प्रत्येकजसो खबरमा पहिल्यैदेखि चुनौतीपूर्ण मजदुरको जीवनमा थपिएको चुनौतीका कुरा, ठेला र दैनिक ज्यालादारीमा काम गर्नेलाई मालिकले रित्तै हात बिदा गरेका कुरा हुन्छन्।

न बस्ने ठेगाना, न खाना पाइने भरोसा। उनीहरु पैदल निस्किए। बस अड्डामा क्यामराका सामु मजदुर बालिकाको रुवाइ सायद कहिल्यै बिर्सन सकूँ...।

कति परिवार दुधे बच्चा बोकेर सडकमा निस्किए, साना नानीलाई काँध, काख र झोलामा बोकेर हिँडिरहेका ती आमाबाबुको तस्बिर...।

दिल्लीको एक बस्तीमा यूपीको एक मजदुरकी गर्भवती पत्नी बच्चाका साथमा एक्लै थिई। मानसिक रुपमा कमजोर श्रीमान् ठेकेदारसँग काममा गएको, उतै अड्कियो। यसै बेला प्रसव पीडा भयो, छिमेकीले डाक्टरसँग हारगुहार गरेर जसोतासो सुत्केरी गराए।

घरमा न अन्न छ न पैसा। नवजात बच्चालाई छिमेकीको काखमा दिएर उसकै कुममा टाउको अडाउँदै घर फर्किरहेकी आमासँग सन्तान जन्मिएकोमा खुसी हुनुपर्ने कुनै कारण छैन। ऊसँग फोन पनि छैन, लोग्नेलाई उसको घरमा छोरी जन्मिएको के थाहा?

यो अव्यवस्थाबीच हतारहतार मजदुरलाई राहत शिविरमा लगियो। तर शिविरमा पनि भरपेट खाना छैन। आधारभूत सुविधा केही छैन। दिउँसोका खानाका लागि बिहानैदेखि लाग्ने लाइनको खबर सायद कसैको नजरमा छैन।

मजदुरको एउटा समूह हरियाणाबाट यूपीको आफ्नो गाउँसम्मको ८०० किलोमिटरको यात्रा बल्लतल्ल पूरा गरेर पुगेको छ।

पटपटी पैताला फुटाएर गाउँ पुगेका यी मजदुरलाई अहिले सरकारी क्वारेन्टिन सेन्टरमा लगिएको छ। जहाँ न खानपिनको सुविधा छ न त शौचालय।

यी मजदुरको स्वास्थ्य परीक्षणको जिम्मा जुन रोजगार सेवकलाई दिइएको छ, उनीहरुलाई प्रोटेक्टिभ गियरको त कुरै नगरौं डेढ वर्षदेखि तलब पनि दिइएको छैन।

यो यात्रामा कैयन् मजदुरले ज्यान गुमाए, कसैको पुरानो रोग काल बन्यो। आफन्तभन्दा टाढै बितेका यी मजदुरको प्रशासनिक अधिकारीको दयाले अन्तिम संस्कार भएको छ।

यस्तै एउटा खबर सम्पादन गरेकी थिएँ, एउटा मजदुर बिरामी भाइलाई एम्बुलेन्समा हालेर हजार किलोमिटर टाढा आफ्नो गाउँ जाँदै गरेको। तर, गाउँ पुग्नुभन्दा केही किलोमिटर वरै उसको भाइले संसारबाटै बिदा लिएछ।

यो खबरसँगै आएको तस्बिर देखेपछि कतै चिनेजस्तो लाग्यो। तर, जहाँ घटना भएको थियो, त्यहाँ त मैले चिनेको कोही थिएन।
यस्तै एउटा मजदुर घरबाट टाढा अस्पतालमा एक्लै बितेको खबर थियो। र, गाउँमा कुशको शव बनाएर उसको अन्तिम संस्कार गरियो।

सायद ऊ प्लम्बर थियो। तर, घर पत्नी र बच्चाबाट टाढा रहेका यी कामदारका असहाय आँखामा अचम्मको समानता देखिन्थ्यो... त्यस बेला लागेको थियो मेरो घरमा आउने प्लम्बरको अनुहार कस्तो थियो हँ? यही त होइन होला? के उसलाई बाहिर कतै देखे चिन्छु होला त?

मेरो घरधन्दामा सघाउन कोही आउँदैन। पछिल्लो घरमा आउने दिदीलाई फोन गरें। उनले अहिले रासन पाइरहेकी छन्, तर कसले दिन्छ थाहा छैन।

जुन बस्तीमा उनी बस्छिन् त्यहाँ करिब ३०० छाप्रा छन् र अधिकांशमा शौचालय छैन। मैले सोसल डिस्टेन्सिङ कायम गरे नगरेको बुझ्न खोजें। त्यहाँ मानिसले आपसी दुरी कायम गरेका छन् त? र, आफ्नै प्रश्नप्रति लज्जाबोध भयो।

उनले भनिन्, 'बस्तीमा जम्मा तीन बाथरुम छन्, तपाईं आफैं बुझ्नुस्।'

यस्ता कैयौं कथा आँखा अगाडि आए, जसका तिखा काँडा मनमा कतै गडेका छन्। तर म त्यो म्यासेज सम्झिरहेकी छु... कलियुग होइन सत्ययुग हो।

म जुन कोलोनीमा बस्छु, तुलनात्मक रुपमा राम्रै छ। जनता कर्फ्युका बेला दुई दिन त्यहाँ दूध आएन। पसलेले बीस मिनेटभित्रै ४० लिटर दूध बिक्री भएको बताए। लाग्यो, लिम्का बुक रेकर्डलाई फोन गरेर यो उपलब्धि सुनाऊँ ।

यसबीच एउटा समानान्तर संसार चलिरहेको छ, जहाँ सोसल मिडियाका विभिन्न चुनौती छन्। डलगोना कफी छ, नेटफ्लिक्स, प्राइम, हटस्टार छन्। छैन त केवल सकारात्मकता।

यो समानान्तर दुनियाँका मानिस उनीहरुको संसारबारे कुनै टिप्पणी सुनेर रिसाइदिन सक्छन्। हरेकलाई आफ्नो मनमुताबिक गर्ने हक छ। यसैले सकारात्मकता ल्याउँछ, सबै दुःखी भएका बेला कोही त खुसी होओस्।

एउटा मध्याह्न मेरो किबोर्डले काम गर्न छोड्यो। किबोर्ड बिग्रनु मेरो सबैभन्दा ठूलो डर थियो। सयौं किताब–फिल्म हेर्ने विकल्प हुँदाहुँदै न्यास्रोको गुनासो सुनाउन सक्नु मेरो विशेषाधिकार हो।

मसँग एक महिनाका लागि पुग्ने रासन छ र अवस्था खराब भयो भने अरु दुई महिनाको रासन जम्मा गर्न सक्ने विकल्प पनि। हामी विशेष अधिकार प्राप्तका लागि शिक्षाको अवसर छ, हामीसँग किताब छन्। त्यसैले हामी आफ्ना हरेक व्यवहारका लागि तर्क दिन सक्छौं। अरु त के गर्न सक्छौं र?

एक दिन एक साथीसँगको कुराकानीमा भनेकी थिएँ, हामी त्यो पुस्ताका हौं जसका प्राथमिकता नै अचम्मका छन्। उसको बुझाइ थियो, आफ्नो खुसीका लागि केही पनि गर्नु गलत हुँदैन।

केही यस्ता मानिसलाई चिन्छु, जसको सबैभन्दा ठूलो दुःख सप्ताहन्तमा बाहिर निस्कन नपाउनु हो। यस्तो बेला जब खानको लाइनमा लागेका, सडक, फुटपाथ या फ्लाइओभरको तल बसिरहेका मानिस देख्छु तब अपराधबोध हुन्छ।

सायद हामी दुःखी हुन पनि जान्दैनौं। दुःखको समयमा सकारात्मकता खोज्नु अपराधजस्तो लाग्छ मलाई।

मास्टर्स पढ्दै गर्दा एकजना सर भन्नुहुन्थ्यो, पढेलेखेको मानिस अनपढभन्दा बढी धूर्त हुन्छ। यसकारण होइन ऊ शिक्षित छ, ऊसँग आफ्नो कुरालाई सही ठहर गर्न तमाम (कु) तर्क हुन्छन् त्यसैले। त्यसबेला लाग्थ्यो यी सर जे पनि भनिदिन्छन्। तर, आज त्यो कुरा अलिक बुझेजस्तो लाग्दै छ।

एक ठूला पत्रकार यस बेला प्रयोग भइरहेको भाषा र शब्दसँग आक्रोशित छन्... क्वारेन्टाइन वा क्वारेन्टिन। उनी सही र गलत सिकाउँदै छन्।

मलाई उनको कुरा ठिकै लाग्छ, तर फेरि क्वारेन्टिन सेन्टरमा बस्ने मजदुरको दशा सम्झन्छु। कहाँ बस्दा उनीहरुको दशा सुध्रिएला? क्वारेन्टिन कि क्वारेन्टाइन?

कैयौं किलोमिटर हिँड्दै आएका मजदुर, फोहर कोठा, खराब शौचालय, एउटा कुनामा ओछ्यान। न खाने ठेगान, न पानी नै। क्वारेन्टिनको अर्थ यही हो?

असगर वजाहतको कथा ‘लिन्चिङ’ की बूढी काकीको अनुहार मनमा आउँछ। उनलाई लाग्थ्यो, अंग्रेजी शब्द राम्रा हुन्छन्। उनलाई ‘पास’ हुनु, जागिर खानु थाहा थियो र तलब पाउनु पनि। यी शब्द सुन्दाबित्तिकै उनको नाकमा तावामा सेक्दै गरेको रोटीको सुवास आउँथ्यो।

म शब्द–चयन र भाषाको शुद्धता, साथै कामको स्तरमा ती सज्जनको छेउछाउ पनि छैन। कुरा काट्नु या आलोचना त धेरै टाढाको कुरा।

म उनका कुरा, उनका सरोकार बुझ्न चाहन्छु तर, सुदूर जिल्लाका गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनमा रहेका मजदुरका फुस्रा अनुहार, पहेंलो पानी आउने ह्यान्डपम्प, खानाको नाममा गुडको भेली दिने प्रशासन, झाडीका बीचमा बनेका शौचालयले मेरो बुझ्ने क्षमता शून्य गराइदिन्छन्।

यति बेला जुन काम विना अवरोध भइरहेको छ, त्यो हो लेखन। सबैसँग लेख्नका लागि केही न केही छ। तर, म त्यस्ता कैयौं मानिसलाई चिन्छु जो सधैँ ट्रेन्डिङ टपिक्समा सोसल मिडिया अकाउन्ट रंगाउनुभन्दा धेरै राम्रो लेख्न सक्छन् तर यतिबेला मौन छन्, बिल्कुलै चुप।

उनीहरुको निःशब्दता यो समयको प्रतीक हो। मलाई पनि लाग्छ मौन हुनु राम्रै हो, यो समय बुझ्नका लागि। हामी केही गर्न सकौं या नसकौं, सहानुभूति राख्न सक्छौं।

एउटा नमागिएको सल्लाह पनि छ। सामाजिक सञ्जालमा सकारात्मकता खोजिरहेका मानिसलाई सडक किनारको कुनै ढुंगा वा होर्डिङमा लेखिएको कुनै कुराले सायद धेरै प्रभावित गर्न सक्छ। तर यो ठाउँमा सकारात्मकता खोज्नु ‘भुसको थुप्रोमा तोरीको दाना’ खोज्ने प्रयास हो।

द वायरमा प्रकाशित मीनाक्षी तिवारीको यो लेख अनुवाद/साभार गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्