काठमाडौं– फागुन १४ गतेको प्रतिनिधिसभा बैठकमा सांसद मिन विश्वकर्माले काठमाडौंका घरबेटीले डेरावाललाई जातको आधारमा विभेद गरेको उदाहरण दिँदै कारबाहीको माग गरे । कानुनले वर्जित गरे पनि छुवाछूत नहटेको भन्दै सांसदले कैलालीकी दीपा नेपालीले भोगेको विभेदको उदाहरण दिएका थिए।
काठमाडौंमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा पढ्दै गरेकी दीपाले घरबेटीले आफूहरुलाई गरेको जातीय विभेदको अनुभव नेपाल समयलाई सुनाएकी छन्–
गएको मंसिरको कुरा हो । म र मेरो भाइले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण बिडारीको घरमा कोठा भाडामा लिएका थियौं । काठमाडौं शिक्षित र सभ्य मानिसहरुको सहर होला भन्ने लागेको थियो मलाई। ग्रामीण क्षेत्रमा छुवाछूतको विभेद भएको देखे–भोगेको भए पनि काठमाडौंमा त्यस्तो होला भन्ने लागेको थिएन। तर, मैले सोचेजस्तो रहेनछ यहाँको अवस्था ।
उच्च शिक्षा अध्ययनका लागि हामी काठमाडौं आएका हौं । तर, दलित भएकै कारण हामीले अनेक मानसिक यातना खेप्नुपरेको छ । दलित भएकै कारण आएको भोलिपल्टै कोठा सर्न बाध्य बनाए घरबेटीले ।
घरबेटीसँग भाडालगायतको कुरा मिलेपछि हामीले गएको मंसिर १३ गते कोठामा सामान सार्यौं । सोही दिन बेलुका घरबेटीकी छोरी हामीसँग परिचय गर्न आइन् । परिचयको क्रममा दलित भन्ने थाहा पाएपछि भोलिपल्टैदेखि हामीलाई घरबाट निस्कन दबाब आउन थाल्यो ।
अघिल्लो दिन ल्याएको सामान मिलाउन पनि पाएका थिएनौं, भोलिपल्टै घरबाट निस्किहाल पो भन्न थाले । दलितलाई हाम्रो घरमा राख्दैनौं, तिमीहरु बस्यौ भने मेरो घरमा अरु पनि बस्न मान्दैनन् भनेर कचकच गर्न थाले । हुँदाहुँदा कोठा छोड्न आदेश दिँदै ढोकामा सूचना नै टाँसिदिए ।
म आफैं कानुन पढ्ने मान्छे । जातीय विभेद गर्नु हुँदैन भन्ने मलाई थाहा छ । तर, म आफैं यस्तो विभेदमा परें । परीक्षा आउन लागेको बेला कोठा सर्नुपर्ने तनाव । घरबेटीले अलिकति पनि मानवीयता देखाएनन् ।
घरबेटीको दबाब बढ्दै गएपछि म मानव अधिकार आयोगमा गुहार माग्न पुगें । आयोगका पदाधिकारीले घरबेटीलाई सम्झाइ पनि दिए। आयोगका मान्छेसँग ‘अब यस्तो गर्दिनँ’ भनेर मौखिक सहमति पनि गरेछन्। केही दिन शान्त पनि भए घरबेटी । तर, केही दिनमा फेरि ‘टर्चर’ दिन थाले । आयोगले भनिसकेपछि सहज वातावरण बन्ला भन्ने लागेको थियो तर केही दिनपछि उस्तै भयो ।
आयोगले सचेत गराएपछि घरबेटीले हामीलाई दबाब दिने शैली परिवर्तन गरे । सधैं पानी बन्द गरिदिने, पानी खोलिदिन आग्रह गर्दा हातपात गर्न आयो भन्दै भाइलाई आरोप लगाए । हुँदाहुँदा भाइलाई बालाजु प्रहरीसम्म पुर्याए । प्रहरीले गल्ती नभएको भनेर छोडिदियो ।
जातकै कारण हामीले अपमान सहनुपर्ने ? म जन्मेको कोख कसरी अछूत भयो ? हामीमात्र होइन, त्यही घरमा भाडा बस्न आएकी धना नेपालीले पनि हामीले जस्तै विभेद भोग्नुपर्यो ।
अहिले पनि घरबेटीले दिनदिनै अनेक घोचपेच गरिरहन्छन् । घरबाट कतिबेला बाहिर जाऊँ जस्तो लाग्छ, अनि बाहिर गएपछि कोठामा फर्किन नपरे हुन्थ्यो जस्तो लाग्छ । घरबेटी देख्दा पनि डर लाग्छ ।
हामी मानव अधिकार आयोग गुहार्न पुगेपछि यो कुरा संसदसम्म पनि पुग्यो । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले यो कुरा उठाउनुभयो । यति हुँदा पनि हामीले विभेद भोग्नु परिरहेकै छ ।
हामीले कानुनी प्रक्रियामा जाने बताएपछि घरबेटीले अर्काे कोठा खोजिदिने भन्दै आफ्नो घर छोड्न दबाब दिइरहेका छन् । यो पनि विभेद नै त हो । जातीय भेदभाव र छुवाछूतको व्यवहारविरुद्ध संविधानको धारा २४ एवं जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६४ अनुसार कानुनी प्रक्रियामा जान्छौं अब हामी ।
सरकारी कर्मचारीसमेत रहेका घरबेटीले हामीलाई ३५ दिनभित्र कोठा छाड्न सूचना टाँसेका छन्। घरमा पानीको अभाव भएको र घर मर्मत गर्नुपर्ने कारण देखाएका छन् घरबेटीले । तर, कारण त्यो होइन । दलित भएकैले हामीलाई निकाल्न खोजिएको हो ।
सूचना टाँस गरेपछि हामीले तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई पनि गुहार्यौं । वडा सदस्य लक्ष्मी गैरेले हामी बसेको घरमा गएर कुरा गरी समस्या सुल्झाउन घरबेटीलाई आग्रह गरिन् ।
घरबेटी पनि समस्या सुल्झाउन तयार भएका छन् । पढ्ने, करिअर बनाउने उमेरमा यस्तो कुरामा अल्झिएर बस्नुपरेको छ। हामीलाई पनि उनको घरमा बस्न मन छैन तर, कोठा पाउन कहाँ सजिलो छ र !