सोमबार, जेठ १९, २०७७

विशेष

‘डिसइन्फेक्सन निर्जीव वस्तुका लागि हो, छालामा परे गम्भीर समस्या हुन सक्छ’

1588675400Disinfaction.jpg

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको रोकथाम र नियन्त्रणका नाममा ‘डिसइन्फेक्सन’ गर्ने भन्दै मानिसको शरीरमा प्रत्यक्ष रुपमा ‘स्प्रे’ गर्न थालिएको छ। ठाउँठाउँमा टनेल नै निर्माण गरी सवारी साधनमा पनि स्प्रे गर्ने कार्य भइरहेको छ।

सरकारको अनुमतिबिना विभिन्न स्थानीय तह र निजी कम्पनीहरूले कोरोना मार्ने भन्दै मानिसको अनुहारमा केमिकलयुक्त औषधि छर्किएका छन्। यसरी जथाभावी केमिकल मिसाइएको स्प्रेबाट मानव स्वास्थ्यमा खेलबाड भइरहेको विज्ञहरु बताउँछन्।

जथाभावी छर्किएको स्प्रेमा पानीमा मिसाइएको सोडियम हाइपोक्लोराइड र क्लोरिनको झोलको प्रयोग गरिएको भन्दै स्वास्थ्य मन्त्रालयले पनि यस्ता रसायनिक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ।

शरीरभित्र कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, ब्लिच, क्लोरिनजस्ता विभिन्न डिसइन्फेक्सन शरीरमा छर्कंदैमा भाइरस नाश नहुने मन्त्रालयले जनाइसकेको छ। विज्ञहरूका अनुसार ‘डिसइन्फेक्सन’ ले निर्जीव वस्तु वा सतहलाई संक्रमणजन्य जीवाणुविहीन बनाउने अर्थात् रोग लगाउने जीवाणु मार्ने काम गर्छ ।

मानिसमा केमिकलको प्रयोग गलत : शुक्रराज अस्पताल टेकुका निर्देशक राजभण्डारी 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ सागर कुमार राजभण्डारी डिसइन्फेक्सन प्रत्यक्ष रुपमा मानिसमा प्रयोग गर्नु गलत भएको बताउँछन्।

उनी भन्छन्, ‘मानिसमा कुनै पनि अवस्थामा यस्ता रसायनको प्रयोग गर्न मिल्दैन, यस्ता स्प्रेहरुमा सोडियम हाइड्रोक्लोराइड, क्लोरिन, लाइसो, इथानोल जस्ता रासायनिक वस्तुहरू मिसाइएको हुन्छ, त्यसले मानिसको श्वासप्रश्वासमा समस्या आउनुका साथै मानिसको आँखा र छालामा प्रत्यक्ष असर गर्छ।’

साथै श्वासप्रश्वास सम्बन्धि बिरामीलाई झनै खतरा हुने निर्देशक राजभण्डारी बताउँछन्। राजभण्डारीले नेपालसमयसँग भने, ‘कोरोना भाइरस मानिसको शरीरभित्र हुन्छ, इम्युनिटी सिस्टममा हुन्छ, बाहिरी शरीरमा स्प्रे गरेर शरीरभित्रको कोरोना भाइरस नष्ट हुँदैन। त्यसैले मानव शरिरमा डिसइन्फेक्टड आवश्यक छैन।’

मानिसको शरिरमा डिसइनफेक्सन गर्ने भनेको संक्रमितको उपचारपश्चात बाहिर निस्कँदा (जुन समयमा पिपिई लगाइएको हुन्छ) त्यसमा गर्न सकिन्छ तर मानिसको शरीरमा प्रत्यक्ष गर्नु हुँदैन। कोरोना संक्रमित क्षेत्र, भवन, आवातजावत बढी हुने ठाउँ, लिफ्ट आदिमा प्रयोग गर्न सकिन्छ।

साथै संक्रमण फैलिएको देशबाट ल्याइएका सामग्रीमा क्लोरिन प्रयोग गरी केही समय ती सामग्रीलाई पनि क्वारेन्टीन गर्नुपर्छ तर मानिसमा केमिकलको प्रयोग गलत भइरहको उनी बताउँछन्।

निर्जीव वस्तुको लागि डिसइन्फेक्सन : धर्मेन्द्र कर्ण, छालारोग विशेषज्ञ

छालारोग विशेषज्ञ धर्मेन्द्र कर्ण पनि डिसइन्फेक्सन भन्नेवित्तिकै निर्जीव वस्तुहरुको लागि भन्नेमा सहमत छन्। उनका अनुसार डिसइन्फेक्सन भन्नेवित्तकै कपडा, मोवाइल, ल्यापटप, सवारी साधनलगायत अन्य सामग्रीमा गर्न सकिन्छ तर शरीरमा नै गर्नु सरासर गलत हो।

डिसइन्फेक्सन भनेको यस्तो केमिकल हो जसले ब्याक्टेरियालाई मार्छ र त्यसले साथै छालामा विभिन्न असर गर्छ। उनी भन्छन्, ‘अहिले बजारमा धेरै प्रकारका केमिकल पाइन्छन्, पछिल्लो समय सस्तो र प्रचलनमा आएको सोडयम हाइपोक्लोराइड शुन्य दशमलव ५ प्रतिशतदेखि १ प्रतिशतसम्म राखिन्छ, त्यो पनि मानव शरीरको लागि होइन सतह वा अन्य जिर्जीव बस्तुको लागि हो।

त्यस्ता केमिकल छालमा परेमा सुरुको चरणमा छाला पोल्ने, सुख्खा हुने, हुन्छ, त्यसपछि चिलाउने, फोका आउने जस्ता समस्या देखिँदै समस्याहरु बढ्न सक्छ। यस्ता रसायनले ओठमुख, र नाकमा घाउ हुने, नाकमा एलर्जी हुने, घाँटी दुख्ने र दम बढ्ने समस्या हुनसक्छ।’

मापदण्ड बनाउन आवश्यक छ : समिरमणी दिक्षित, जनस्वास्थ्य वैज्ञानिक

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणी दिक्षित कुनै पनि कुरामा डिसइन्फेक्सन गर्नुअगाडि सरकारले मापदण्ड बनाउन जरुरी रहेको बताउँछन्। उनका अनुसार कुनै पनि रसायन विना तयारी मानिसको शरिरमा प्रयोग गर्नु राम्रो होइन्।

कुनै पनि मापदण्ड विना प्रयोग गरिएको हो भने त्यो एकदमै भयानक हुन्छ। आखा, नाक, छाला, स्वाशप्रश्वासमा असर गर्छ।

उनी भन्छन्, ‘मापदण्ड नै तोकिएको छैन जस्तो छ, एक जनालाई कति समयसम्म स्प्रे गर्नुपर्ने, कस्ता केमिकलको प्रयोग गर्ने भन्ने विना तयारी स्प्रे गर्दा मानिसको अवस्था गम्भीर बन्न सक्छ।’ अन्य सामान्य केमिकलहरु पनि नाक, मुख र आँखामा जोगाउनुपर्छ तर अहिले शरीरै भिज्नेगरी प्रयोग गरिएको पाइएको छ। जताततै प्रयोग भइरहेका यस्ता रसायनलाई रोक्नजरुरी रहेको उनी बताउँछन्।

नागढुङ्गा चेकपोष्टमा बनाइएको डिसइन्फेक्सन टनेल

 

प्रतिक्रिया दिनुहोस्