मंगलबार, वैशाख ४, २०८१

ओली, बाँस्कोटा र भिटेनको र्‍याप

‘भिटेनलाई गीतमा अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीले पक्रेको थियोे, गोकुल बाँस्कोटाले त्यस्तै शब्द कर्मचारीलाई प्रयोग गरे’, उनीचाहिँ थुनिनु नपर्ने?’
 |  बुधबार, फागुन १४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १४, २०७६

राजनीतिक सामाजिक विषयमा चासो राख्ने मित्रमण्डलीको चियागफमा फेरि र्‍यापर भिटेन चर्चाको विषय बने।

triton college

प्रधानमन्त्री केपी ओलीको राजसी शैलीको जन्मदिवस, वामदेव गौतमको राष्ट्रियसभा प्रवेश तयारी, विष्णु पौडेलको ललिता निवास जग्गा प्रकरण आदिको गफ गोकुल बाँस्कोटा अडियो प्रकरणमा पुगेपछि मित्रले एक्कासि भिटेनको कुरा उप्काएका थिए।

‘भिटेनलाई गीतमा अपशब्द प्रयोग गरेको आरोपमा प्रहरीले पक्रेको थियोे, गोकुल बाँस्कोटाले त्यस्तै शब्द कर्मचारीलाई प्रयोग गरे’, उनीचाहिँ थुनिनु नपर्ने?’ मित्रले भने।

७० करोड रुपैयाँ कमिसनले नपुगेर मेसिनको भाउ एक अर्ब बढाइदेऊ भनेको सुन्दासुन्दै पनि उनीमाथि अनुसन्धान नहुने?

नेकपा बैठकमा बाँस्कोटामाथि छानबिन गर्ने काम सरकारको विषय भएकाले पार्टीले छानबिन गर्नु नपर्ने भनिएछ।

corrent noodles
Metro Mart

तर, बाँस्कोटाको तार प्रधानमन्त्रीसँगै जोडिएकाले सरकारले यो विषयमा निष्पक्ष छानबिन गर्छ भन्नेमा विश्वस्त हुन सकिँदैन र यो प्रकरणमा बाँस्कोटा एक्लै मात्रै दोषी हुन् भनेर पनि पत्याउन सकिन्न।

गुठी संस्थानका कर्मचारीले घुस रकम फिर्ता गरेपछि पनि मुद्दा व्यहोर्नुपर्‍यो। तर, विष्णु पौडेलले जग्गा फिर्ता गर्छु भनेपछि सफाइ पाए। प्रधानमन्त्री निवासछेउको जग्गा कसैले सहजै फिर्ता गरिदिएपछि सबैलाई आश्चर्य लागेको छ।

आश्चर्य यसर्थमा कि, मेहनतको कमाइले किनेको भए करोडौंको जग्गा रकम फिर्ता प्रक्रियामा नगई कसैले किन फिर्ता गर्छ? त्यसैले सहजै अनुमान गर्न सकिन्छ– पक्कै गडबडी त भएकै छ।

नेकपा उपाध्यक्ष वामदेव गौतम बर्दियाका जनताबाट अस्वीकृत भए, सांसदको चुनावमा हारे। तर, उनलाई राष्ट्रियसभामा प्रवेश गराउने मात्र होइन, उनैका लागि राष्ट्रियसभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने गरी संविधान संंशोधन प्रयास गरिनुले लोकतन्त्रकै मजाक उडाएको छ।

कुनै एक व्यक्तिको आत्मसन्तुष्टिका लागि संविधान संशोधन ! सोच्न पनि कसरी सकेको? 

एकातिर अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैंं कर्मचारीलाई एकदुई हजार घुस दिएर समात्दै ‘भ्रष्टाचार उन्मूलन’ को तमासा देखाइरहेको छ।

ललिता निवास प्रकरणमै पनि हाकिमको आदेश मानेका साना कर्मचारीमाथि मुद्दा चलाइएको छ। तर, त्यसो गर्न लगाउने पूर्वप्रधानमन्त्रीहरू ‘नीतिगत निर्णय गरेको’ आधारमा उन्मुक्ति पाइरहेका छन्। 

बैठकको माइन्युट लेख्ने, प्रस्ताव पेस गर्नेे तत्कालीन मुख्यसचिव ‘पत्राचार मात्रै गरेको’ भनी राजदूत पदमा टिकिरहनुले ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान चरितार्थ भएको छ।

केही समयअघि प्रधानमन्त्री ओली अध्यक्ष रहेकै पार्टीले कार्यकर्तालाई भोजभतेर गर्न नपाइने उर्दी जारी गर्‍यो । तर उनी आफैंले जन्मदिवस मनाउन चारचारवटा हेलिकप्टर उडाए। नेकपाको नियम अध्यक्षलाई नलाग्ने हो ?

‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने ओली उद्गार सबै सरकारी कार्यालयमा टाँसिएको छ। यो त लोककथामा ‘बालाई लुकाउन मेरा बा भकारीमा छैनन् भनेजस्तै भ्रष्टाचार लुकाउन म भ्रष्टाचार गर्दिनँ’ भनेको त होइन?

बच्चैदेखि सुनेको एउटा भनाइ थियो – रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ। यो भनाइ किन यति चर्चित छ र जताततै प्रयोगमा आइरहन्छ भन्ने कुरा वतमान सरकारको काम गराइबाट प्रस्टै छ।

केही साताअघि बालुवाटारमा आयोजित रात्रिभोजमा दायाँबायाँ वरिष्ठ नेताहरु राखेर प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको दृश्य देख्ने अवसर नेपालीले प्राप्त गरे। पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए।

यो दृश्य त्यति बेला बाहिर आयो, जतिबेला चीनमा कोरोना भाइरसका कारण आत्तिएका नेपालीले स्वदेश फर्काउन अनुरोध गर्दै बिलौना गरेका समाचार आइरहेका थिए।

ती विद्यार्थीका क्रन्दन र अभिभावकको पीडा सुन्न सरकारले पूरै तीन साता लगायो। स्वास्थ्यमन्त्रीले सदनमा कोरोना भयानक विषय होइनसम्म भने। यही अवस्थालाई भनेको होला ‘रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ।’

झुटलाई सयचोटि सत्य हो भन्यो भने सत्य ठहर्छ भन्ने गोयबल्सको भनाइ चरितार्थ हुँदै छ। ‘नेपाल समृद्धिको बाटोमा अघि बढिरहेको छ,’ प्रधानमन्त्रीको भाषण समाचारमाध्यममा आइरहन्छ। के नेपाल साँच्चै समृद्धिकै मार्गमा छ त?

विकास बजेट खर्च गर्न नसकेर मध्यावधि समीक्षामार्फत परिमार्जन भएको छ। पुँजीगत खर्च हुन सकेको छैन। ठूला आयोजनामा प्रगति छैन।

यस्तो अवस्थामा मुलुक विकासको मार्गमा अग्रसर छ भनेर प्रधानमन्त्री र मन्त्रीले भन्दैमा कसरी पत्याउने? पत्याउनेको संख्या पनि मनग्यै छ। यसबाट गोयबल्सको सिद्धान्तले पूरापूर काम गरेको पुष्टि हुन्छ ।

नेपालमा कुनै पनि योजना समयमै सम्पन्न भएका छैनन्। ठूला विद्युत् आयोजना त १० वर्षसम्ममा पनि पूरा भएका छैनन्। प्रधानमन्त्री सय वर्षसम्म पाँच सय मेगावाट बिजुली भएको मुलुकमा दुई वर्षमै हजार मेगावाट नघाएँ भन्छन्।

अर्को वर्षमा अर्को हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ भन्छन्।

वर्षौंंअघि सुरु भएका केही विद्युत् आयोजना अहिले सम्पन्न हुँदा उत्पादित विजुलीको जस वर्तमान सरकारले लिन मिल्छ? प्रधानमन्त्रीले ...वर्षअघि सुरु भएको योजना बल्ल सकिएको छ भनेर सत्य बताउन सक्दैनन्? अनि प्रधानमन्त्रीका यस्ता कुरा पत्याइदिनुपर्ने नेपालीको कस्तो विडम्बना ?

विकास देखेर कोही आत्तिएको छैन, बरु विकृति देखेर सबै निराश छन्। प्रधानमन्त्री आफैँ पार्टीभित्र कमजोर हुँदै गएर आत्तिन थालेका हुन् कि भन्ने शंका छ।

नत्र करिबकरिब दुई तिहाइको बलमा गठन भएको सरकार ढाल्ने प्रयास गरिँदै छ भनेर आफ्नै गृहजिल्ला पुगेर प्रधानमन्त्रीले किन भन्नुपर्ने?

प्रमुख प्रतिपक्षी कांग्रेसले समर्थन नगर्दैमा वा चाहँदैमा ओली सरकार ढल्दैन भन्ने स्पष्ट छ।

डेढ महिनाअघि नै प्रधानमन्त्रीलाई जानकारी गराइएको भन्ने अडियो प्रकरण, नेपाल ट्रस्टको सम्पत्तिमाथि यतीलाई गर्न दिइएको रजाइँ जस्ता अनेक प्रकरण एकपछि अर्कोे गर्दै छताछुल्ल हुन थालेपछि अब सरकार ढल्छ भन्नेमा प्रधानमन्त्री पुगेका त होइनन्?

सबैको चाहना ७० करोड घुस प्रकरणको त्यो अडियो सत्य नभइदेओस् भन्ने छ। किनकि अत्यन्त विश्वास गरेर झन्डै दुई तिहाइ बहुमत दिएको पार्टीको सरकार भ्रष्टाचारमा लिप्त भएपछि कसको विश्वास गर्नु!

कम्युनिस्ट पार्टीको तल्लो तहमा रहेर काम गरिरहेका वास्तविक कार्यकर्तामा यो प्रकरणले झन् ठूलो निराशा पैदा गराएकोे छ। निराशा बढ्दै जाँदा देशको शक्तिशाली र ठूलो दल तहसनहस हुने मात्र होइन लोकतन्त्रका लागि समेत प्रत्युत्पादक हुन्छ।

प्रकाशित: Feb 26, 2020| 13:52 बुधबार, फागुन १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...