बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसी पास गर्न लागिएको भन्दै सत्तारुढ दल नै आन्दोलित, असोज १ बाट विद्यालय खुलाउने तयारी [२०७८-५-२१]

एमसीसी पास गर्न लागिएको भन्दै सत्तारुढ दल नै आन्दोलित, असोज १ बाट विद्यालय खुलाउने तयारी [२०७८-५-२१]

आफ्ना नागरिक मारिँदा पनि चुइक्क बोल्न पनि यो कस्तो सरकार भन्दै उनले सरकारको आलोचना गरे।
 |  सोमबार, भदौ २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २१, २०७८

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई 'घरको बाघ, वनको स्याल’ भएको टिप्पणी गरेका छन्।

triton college

सोमबार राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै उनले तुइन फुस्काएर नेपाली युवालाई नदीमा खसाइदिएको घटनाका सन्दर्भमा सरकारले भारतसँग कुरा नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। आफ्ना नागरिक मारिँदा पनि चुइक्क बोल्न पनि यो कस्तो सरकार भन्दै उनले सरकारको आलोचना गरे। 

ओलीले आवाज उठाउने युवालाई यातना दिइएको भन्दै सरकार नालायक भएको समेत टिप्पणी गरे। देश र राष्ट्रियताको लागि बोल्ने युवाहरुलाई थुन्ने र यातना दिने काम गरेको भन्दै उनले सरकार नालायक बन्दै गएको टिप्पणी गरेका हुन्। दार्चुलको घटना र एमसीसीका विषयमा पछिल्लो समय युवाहरुले दिनहुँ निकाल्ने गरेको प्रदर्शन रोक्न सरकारले देखाएको सक्रियताप्रति उनको टिप्पणी थियो। 

यस्तै एमाले अध्यक्ष ओलीले स–साना जुम्राहरु मिलेर एमालेलाई लखेट्न खोजेको आरोप लगाए। एमालेबाट फुटेर गएका माधव नेपाल समूहप्रति लक्षित गर्दै जुम्राहरु मिलेर लखेट्न खोजेको उनको आरोप थियो। सरकारबाट एमाले हटेको भए पनि जनताले एमाले खोजेको उनको दाबी छ। 

एमसीसीबारे सत्तारुढ गठबन्धनकै विरोध

corrent noodles
Metro Mart

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पास गर्न लागिएको भन्दै सत्तारुढ गठबन्धनकै दल आन्दोलनमा उत्रिएको छ। 

सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता पास गर्न लागिएको भन्दै सरकारविरुद्ध चरणवद्ध आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले एक विज्ञप्ति जारी गर्दै एमसीसी पास गर्न लागिएको भन्दै सरकारविरुद्ध पार्टीले आन्दोलन गर्ने जानकारी दिएका छन्। विभिन्न खालका चलखेल र अमेरिकाले एमसीसीलाई संसद्बाट पारित गराउन दिएको दबाबले एमसीसीलाई पारित गर्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय जनमोर्चाले त्यसविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएको हो। 

अहिले २२ राजनीतिक दल तथा संगठन, पत्रकार जगत, नागरिक समाजबाट समेत यसको व्यापक विरोध र संघर्ष हुँदै आएको भन्दै राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र स्वयं गठबन्धनको सरकारलाई सचेत पार्न यही भाद्र २२ गते देशव्यापी विरोधका कार्यक्रमहरु गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त दिन जिल्लामा विरोध सभा, जुलुस, कोणसभा, अन्तर्क्रिरया, गोष्ठि आदि कुनै पनि प्रकारको विरोधको कार्यक्रम गर्न पार्टी कार्यकर्तालाई जनमोर्चाले निर्देशन दिएको छ। एमसीसी हिन्द प्रशान्त क्षेत्रका देशहरुमा चीन विरोधी मोर्चा बनाउने षड्यन्त्र भएको जनमोर्चाको ठहर छ।

गृहमन्त्रीको पुतला दहन

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठनले नै  गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ। 

सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन्। सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि नेकपा (एकीकृत समाजवादी) पाटी निकट अनेरास्ववियू आक्रोशित बनेको हो। 

दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश पोखे। गृहमन्त्री खाँणले भारतलाई रिझाउनका लागि विज्ञप्ति निकालेको भन्दै चर्को विरोध गरे। 

प्रदर्शनमा गृहमन्त्री राजिनामा दे, एमसीसी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे भनि नाराबाजी समेत गरिएको थियो। 

एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ।  सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिए। अज्ञात समूहको धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

छिमेकीले मंगलबार बिहान सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। परिवारका सदस्यलाई बाहिर निकालेर लखेटी–लखेटी हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ। हत्याराको पहिचान हुन सकेको छैन। तेजबहादुर कार्कीको शव घरबाट केही पर फेला परेको उनकी श्रीमती मनमायाको शव घरमुनि खोल्सामा भेटिएको प्रहरीले बताएको छ। यस्तै बालबालिकाको शव भने घरमा यत्रतत्र छरिएको अवस्थामा भेटिएको छ। 

स्थानीयका अनुसार घटनामा ९३ वर्षीय वृद्ध बौद्धमान कार्की बाँच्न सफल भएका छन्। उनी कान एकदमै कम सुन्ने र आँखा पनि कम देख्ने व्यक्ति भएको पाठकले जानकारी दिए। हत्याराको खोजी भइरहेको प्रहरीले बताएको छ। 

भौतिक रूपमा विद्यालय खोल्न अनुमति

आगामी असोज १ गतेदेखि सामुदायिक तथा निजी दुवै खाले विद्यालय भौतिक रूपमा नै विद्यार्थीको उपस्थिति हुने गरी सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ।

सोमबार उपत्यकाका जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीचको छलफलपछि स्कुल खोल्न दिने सहमति भएको हो। स्थानीय तहको शिक्षा शाखाले कोभिड संक्रमणको अवस्था हेरेर स्कुल खोल्न दिने सहमति भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर अब स्कुल खोल्न सकिनेछ। 

स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड अपनाएर स्कुल खोल्न दिने निर्णय यसअघि नै प्रशासनले गरिसकेको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले करिब दुई साताअघि शिक्षा सचिवलाई भेटेर भौतिक रुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेको थियो।

१८ सय संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ४८८ जना र एन्टिजेन परीक्षणबाट ४०९ जनामा संक्रमण पुष्टि भएको हो। 

२४ घण्टामा जम्मा १५ हजार ९७९ परीक्षण भएको छ।मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७४३ जना कोरोनामुक्त भएका छन्। सोमबार देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन्।

'पत्रकार प्रशिक्षणमा लगानी वृद्धि गर्नुपर्छ'

वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले पत्रकारहरुको प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय हुन नसकेको बताएका छन्। 

सोमबार न्यूज एजेन्सी नेपालले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्यभारको सम्बन्धमा गरेको अन्र्तक्रियामा बोल्दै वरिष्ठ पत्रकार दाहालले पत्रकारहरुको शिक्षादिक्षा, प्रशिक्षण तथा अनुसन्धानमा लगानी गर्न नसकिएको कारण पत्रकारिता क्षेत्र गुणस्तरीय हुन नसकेको बताएका हुन्। पत्रकारको वृत्तिविकासमा राज्यले लगानी गर्न नसकेका कारण पत्रकारहरुले उत्कृष्ट विषयवस्तुहरु ल्याउन नसकेको उनको निष्कर्ष छ। केही विश्वविद्यालय र क्याम्पसहरुले पत्रकारिताका विद्यार्थी उत्पादन गरेकै आधारमा पत्रकारहरुको मागलाई धान्न नसकिने पनि उनले स्पष्ट पारे। 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा हूबहु कपि गर्ने समस्या विकराल रुपमा रहेकोले त्यसलाई रोक्नका लागि प्रेस काउन्सिल नेपाल केन्द्रीत भएर लागेको बताए। यसको सम्बन्धमा सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नेदेखि सार्वजनिक विज्ञप्तीमार्फत् ध्यानाकर्षण गराइएको पनि उनले जानकारी दिए। त्यसैगरी चलिरहेको मिडियासँग मिल्दोजुल्दो नाम राख्ने कामलाई पनि निरुत्साहित पार्न लागिएको उहाँले जानकारी बताए।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक तथा पत्रकार जगत नेपालले पत्रकारिता उद्योगको रुपमा विकास भएपनि जनशक्ति व्यवस्थापन भने गर्न नसकेको बताए। समाचार कक्षहरु कमजोर देखिन थालेको उनको टिप्पणी छ। यस्तै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडिया क्षेत्रका लगानीको स्रोत राज्यले खोज्नुपर्ने बताए। 

यु-२३ मुख्य प्रशिक्षकमा बालगोपाल

नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जन उमेर समूह यू–२३ को मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले आज सोमबार सूचना जारी गर्दै प्रशिक्षक महर्जनलाई यू–२३ को मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ। अब उनको प्रशिक्षणमा नेपाली यू–२३ टिमले आउँदो एसियन कप छनोट खेल्नेछ। अहिले यू २३ मा नेपाली टिम इरान, लेबनान र ताजकिस्तान रहेको समूह बीमा परेको छ। 

अब नेपालले अक्टोबर २५ मा इरानसँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेल ताजकिस्तानमा अक्टोबर २८ मा खेल्नेछ। नेपालको अन्तिम खेल भने लेबनानसँग अक्टोबर ३१ मा हुनेछ। सबै खेल ताजकिस्तानको राजधानी डुसनाबेमा हुनेछन्।

भिडियोमा हेर्नुहोस्

प्रकाशित: Sep 06, 2021| 21:59 सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।