काठमाडौं– जलविद्युत कम्पनीहरुको प्राथमिक सेयर निष्कासन (आईपीओ) केही समयको लागि रोकिएको छ । जलविद्युत कम्पनीहरुको आईपीओ विक्री हुन छोडेपछि विद्युत नियमन आयोगले नयाँ जलविद्युत कम्पनीहरुको आईपीओ निष्कासन रोकेको हो ।
दोस्रो बजारमा धेरै जलविद्युत कम्पनीहरुको सेयर मूल्य प्राथमिक सेयर मूल्यभन्दा कममा विक्री भइरहेका छन् बढेको बजारमा पनि ती कम्पनीहरुको मूल्य बढ्न नसकेपछि आयोगले आईपीओ जारीका लागि रोकेको हो ।
अबदेखि आयोगले नै जलविद्युत कम्पनीका आयोजनाको वित्तीय एवम् प्राविधिक पक्षको विश्लेषण गरेर मात्र आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ । आयोगका प्रवक्ता रामप्रसाद धितालका अनुसार जलविद्युत आयोजनाहरुको आर्थिक अवस्था राम्रो नभएको जानकारीमा आएकोले आईपीओ अघोषित रुपमा रोकिएको हो।
आयोगले आर्थिक तथा प्राविधिक पक्षको विश्लेषण गरेर मात्र आईपीओ निष्कासन गर्न दिनेछ। आयोगले आईपीओका लागि स्वीकृति दिएपछि मात्र नेपाल धितोपत्र बोर्डले आईपीओको अन्तिम स्वीकृति दिने हो तर आयोगले नै अब केही समय आईपीओ जारीका लागि नपठाउने आन्तरिक निर्णय गरेको छ ।
हाल आयोगमा ३ वटा जलविद्युत कम्पनीले मात्र आईपीओ निष्कासन गर्न अनुमति मागेको उनीहरुको अवस्थाको मिहिन ढंगले वित्तिय विश्लेषण गरेपछि मात्र बोर्डमा आइपीओको लागि पठाइने धितालले जानकारी दिए । ‘अहिले हामीले तीनवटा कम्पनीलाई आईपीओको लागि अनुमति नदिने सोच बनाएका छौं,’ उनले भने ।
आयोगमा तीनवटाले आईपीओको लागि आवेदन दिए पनि आयोगबाट गइसकेका र अन्तिम अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा एक दर्जन जलविद्युत् कम्पनी पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
आयोगका अनुसार सरकारले आगामी दिनमा ल्याउने जनताको जलविद्युत आयोजनाका आईपीओ समेत बिक्री नहुने जोखिम बढेपछि बोर्डसँग छलफल गरेर मात्र आइपीओ जारी गर्न दिने मनस्थिति बनाएको छ ।
जलविद्युत आयोजनाको नविकेको सेयर सेयर प्रत्याभूतिकर्ता (अन्डरराइटर)ले नै नसकार्ने भएका कारण पनि जलविद्युत आयोजनाका आइपीओमा झनै समस्या पर्ने देखिएको हो ।