काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) पश्चिम र मध्य क्षेत्रका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको छ ।
महाशाखाका अनुसार पश्चिमबाट मौसम सक्रिय भएकाले पश्चिमका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।
विस्तारै यो मध्य क्षेत्रमा सर्दै जाने छ भने अपरान्हपछि काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले नेपाल समयलाई जानकारी दिइन् ।
उनका अनुसार आजको वर्षासँगै एक हप्तादेखि धुम्मिएको काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रको आकाश विस्तौ खुल्दै जानेछ । यद्यपी आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन् ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
फागुन १० गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
राति: पहाडी भेगमा आंशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ |
फागुन ११ गते (आईतबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
राति: देशभर आँशिकदेखि सामान्य बदली रहनेछ।