काठमाडौं–कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८७३ पुगेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार चीनमा ९८ जनाको ज्यान गएको छ। तीमध्ये ९३ जना वुहान प्रान्तका छन्, जुन कोभिड–१९ को उद्गमस्थल हो।
डिसेम्बर अन्त्यमा देखा परेको यो भाइरस संक्रमणबाट चीनमा अहिलेसम्म मर्नेको संख्या १८६८ पुगको अधिकारीहरूले बताएका छन्।
हङकङ, जापान, ताइवान, फिलिपिन्स र फ्रान्समा एक एक जनाको मृत्यु भएको छ।
चीनमा अहिलेसम्म ७२ हजारभन्दा बढीमा भाइरस संक्रमण भएको छ। चिनियाँ अधिकारीहरूका अनुसार १२,५५२ बिरामी उपचारपछि फर्किएका छन्।
स्वास्थ्य आयोगका अनुसार सोमबारसम्म उपचारमा संलग्न झन्डै ३ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ संक्रमण देखा परेको छ।
चीनमा झन्डै आधा जनसंख्या अर्थात् ७८ करोड मानिसलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। चीनको जनसंख्या झन्डै डेढ अर्ब छ।
नागरिकमाथि यात्रामा प्रतिबन्ध लगाइएपछि मुलुकको आर्थिक क्षेत्रमा समेत नकारात्मक असर परेको चिनियाँ अधिकारीहरूले बताएका छन्।