बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ‘करछली, मानव वेचविखन र बैकिङ ठगीको रकम सहकारी क्षेत्रमा’

‘करछली, मानव वेचविखन र बैकिङ ठगीको रकम सहकारी क्षेत्रमा’

सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।
 |  आइतबार, फागुन ४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०७६

काठमाडौं । सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताएका छन् ।

triton college

आइतबार सहकारी पत्रकार समाज र सहकारी विभागद्धारा संयुक्त रुपमा आयोजित सहकारीमा सम्पत्ति शुद्धीकरण विषयक छलफलमा महानिर्देशक भट्टराईले कर छली, मानव बेचविखन, बैकिङ ठगी लगायत रकमहरु सहकारी क्षेत्रमा रहेको बताउँदै विभागले पनि सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिमको क्षेत्र रहेको बताए ।

उनले भने, ‘सहकारी क्षेत्रमा हामीले हाम्रो डाटा केलाउदा के भेट्यौं भने कर छली गरेको रकम, मानव बेचविखनको रकम, बैंकिङ ठगिका रकमहरु सहकारी क्षेत्रमा गएका छन् । त्यस्तो रकम सहकारी क्षेत्रमा नभित्रियोस् भनेर सम्पत्ति शुद्धीकरण निर्देशिका लागू गरिएको हो ।’ उनले पछिल्लो समयमा सहकारी क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी चेतना विस्तार भई वित्तीय जानकारी इकाइमा सहकारीले पनि रिपोर्टिङ गर्न थालेको स्पष्ट पारे ।

‘नेपालमा हुने वित्तीय कारोबारको झन्डै ९० प्रतिशत कारोबार सहकारी र बैंक तथा वित्तीय संस्थामा हुन्छ, त्यसैले पनि मुख्यगरी यस क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐन लागु हुन्छ,’ भट्टराईले भने ।

उनले ठूलो वित्तीय उत्तरदायितव बोकेको सहकारी क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको परिपालना भने अत्यधिक न्यून रेहेको बताउँदै सहकारी क्षेत्रका कर्मचारीहरुमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ज्ञानको कमी रहेको पनि उनले धारणा राखे ।

corrent noodles
Metro Mart

‘अहिले सहकारी क्षेत्रलाई हामीले सम्पत्ति शुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखेका छौं। यसबारे सहकारी विभागलाई जानकारी गराएर अगुगमन नियमनका लागि निर्देशन दिइसकेका छौं,’ उनले भने ।

आन्तरिक सुशासन र वित्तीय पारदर्शिताका लागि पनि सम्पत्ति सुद्धिकरण आवश्यक रहेका कारण सहकारी विभागले गम्भीर भएर अनुगमन गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले चालू आर्थिक बर्षमा केही सहकारी संस्थालाई सम्पत्ति शुद्धीकरण निवारण ऐनको परिपालना नगरेको भन्दै न्यूनतम जरिवाना १० लाख रुपैयाँ तिराएको र केहीलाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।

सो कार्यक्रममा उनले कतिवटा सहकारीलाई जरिवाना र कतिलाई स्पष्टीकरण सोधिएको भन्नेबारे भने उल्लेख गरेनन् । उनले भने, ‘सहकारी क्षेत्रमा वित्तिय कारोबार भइरहेको छ, कतिलाई जरिवाना र कतिलाई स्पष्टीकरण सोधियो भन्नेबारेमा बोल्दा सहकारीमा निक्षेपकर्ताहरुले निक्षेप फिर्ता लैजानका लागि लाइन लाग्छन्। जसका कारण सहकारीहरु नै समस्यामा पर्नसक्छन् । सहकारी सिध्याउने सोच हाम्रो छैन ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुन पालनाका लागि महासंघले सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे । ‘केही संस्थाले गरेको बदमासीका कारण समग्र सहकारी क्षेत्र नै शंकाको घेरामा परेको छ,’ कँडेलले भने, ‘सहकारमिा कालोधन छ भन्ने सुनिन्छ, नियामक निकायले भएका संस्थालाई कारबाही गर्नुस् । नभए समग्र सहकारीमा कालोधन छ भन्ने आरोपबाट मुक्त गराउनुहोस् ।’

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थामा शुद्धीकरणको विषय कार्यान्वयनमा आएको लामो समय भइनसकेकाले सहकारी संस्थाले विषय बुझाइमा समस्या रहेको बताए । जिल्ला सहाकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सम्पत्ति शुद्धीकरणका लागि संघमा आवद्ध सहकारी हातोमालो गर्न तयार रहेको जानकारी दिए ।

प्रकाशित: Feb 16, 2020| 17:16 आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्