मंगलबार, जेठ १३, २०७७

ब्लग

जनकपुर घटना, भ्रामक सूचना र प्रधानमन्त्रीको अभिव्यक्ति 

1587454670fact_check_2.jpg

‘धादिङको सडकमा केही मान्छे बीचै निस्किन्छन्, पत्रकारचाहिँ त्यहाँ कसरी पुगिसक्छ? त्यहाँको प्रहरीलाई थाहा छैन। सीडीओलाई थाहा छैन। तर मान्छे हुर्रर निस्केर गन्तव्यतर्फ लाग्दा पत्रकारलाई थाहा हुन्छ र काठमाडौंबाट क्यामेरा बोकीवरी कसरी पुग्छ? रहस्यपूर्ण छैन र?’

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि सरकारी सञ्चारमाध्यमका प्रतिनिधिलाई दिएको अन्तरर्वार्तामा व्यक्त भनाइकाे आसय सीडीओ र प्रहरीले दिएका समाचार मात्र पत्रकारले प्रकाशन प्रसारण गर्नुपर्छ भन्ने हो। आवाजविहीनको आवाजलाई मिडियामा ल्याउँदा सत्तामा बस्नेहरुलाई पोल्न थालेकाले प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हुन सक्छ।

सत्ताको शीर्ष स्थानमा बस्नेले पत्रकारका सम्बन्धमा दिएको यो अभिव्यक्तिलाई कुन सैद्धान्तिक रुपमा व्याख्या गर्ने भन्ने जिम्मेवारीचाहिँ पत्रकारिताका पण्डितहरुलाई नै छाडिदिऔं।

यहाँ उठाउन खोजिएको विषय के हाे भने, प्रहरीले नै दिएको सूचनालाई आधिकारिक मानेर समाचार बनाउँदा पनि सरोकारै नभएका केही व्यक्ति पीडित हुनुपर्दोरहेछ। त्यस्ता पीडितले तत्काल मानसिक पीडा त भोग्नुपर्‍यो नै दीर्घकालीन रुपमा उनीहरुले भोग्नुपर्ने समस्याको जिम्मेवारीचाहिँ कस्ले लिने? अथवा अनाहकमा समाचार बनाइएका पात्रले के क्षतिपूर्ति पाउँछन्? वा क्षतिपूर्ति सम्भव छ? यद्यपि यसमा पत्रकारको जिम्मेवारी नै छैन भन्न खोजिएको होइन।

प्रसंग हो, शुक्रबार जनकपुरमा भएको एउटा घटनाको। महावीर चोकमा दुई महिलाले सडकमा पैसा फ्याँकेर भागेको भनियो।  त्यो देखेर महावीर चोकका स्थानीय अत्तालिए।

‘लडकाउन’ का बेलाको सुनसान सडकमा दुईजना महिला हटियातर्फ जाँदै गरेको देखेका केही स्थानीयले प्रहरीलाई खबर गरे। केहीले सञ्चारकर्मीलाई बोलाए। केही बेरमै प्रहरी टोली र सञ्चारकर्मी आइपुगे। यति बेलासम्म कतिपय स्थानीयले मुस्लिम पहिरनमा रहेका दुई महिलाले सडकमा पैसा छरेर भागेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरिसकेका थिए।

प्रहरी निरीक्षक अशोक झाको कमान्डमा पुगेको प्रहरी टोलीले पैसा छरिएको स्थानमा घेरा हाल्दै स्यानिटाइजर छर्कियो। केही स्थानीयले प्रहरीसँग ‘हामीले दुवै महिलालाई पर्खन भने पनि उनीहरु सरासर अगाडि हिँडेको’ बताए।

स्थानीय र प्रहरीले दिएको जानकारीअनुसार त्यहाँ पुगेका सञ्चारकर्मीले समाचार लेखे। तर के ती दुई महिलाले जानाजान खुद्रा नोट सडकमा फाले होलान् त भन्नेतर्फ कसैको ध्यान गएन। न त त्यसलाई फेरि पुष्टि गर्ने सोच आयो।  समाचारले सनसनी मच्चायो, महावीरचोक आसपासका बासिन्दा थप त्रसित बने।

जनकपुर क्षेत्रका नागरिकले भारतीय टेलिभिजन च्यानलबाट यस्तै भ्रामक र निश्चित समुदायलाई आरोपित गर्ने सनसनी खबरहरु देखिरहेकाले पनि उनीहरुमा चिन्ता बढ्नु अस्वाभाविक थिएन।

जिल्ला प्रहरी कार्यालयको ‘क्राइम ब्रान्चले’ नजिकैको एक घरबाट सीसीटीभी फुटेज लिएर घटनाबारे अनुसन्धान थाल्यो। कोरोनाको त्रास बढिरहेका बेला पैसा फ्यालेर महिला फरार भएको सुनेपछि प्रहरी गम्भीर रुपमा लियो। सीसीटीभी फुटेजमा देखिएका महिलाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले टोली परिचालन गर्‍यो।

प्रहरीले केहीबेरमै सीसीटीभी फुटेजबाट लिइएको दुवै महिलाको हुलिया धमाधम सञ्चारकर्मीलाई मेलमा पठायो भने आफ्नो आधिकारिक फेसबुक पेजबाट समेत सार्वजनिक गर्‍यो। दुवै महिलाको हुलियाको प्रिन्ट निकालेर प्रहरीले टोलटोलमा पुगेर खोजी कार्य तीव्र बनायो।

तर, साँझ जिल्ला प्रहरी कार्यालयले आफ्नो फेसबुक पेजबाट दुवै महिलाको तस्बिर हटायो। फेसबुकबाट तस्बिर किन हटाइयो भन्नेबारे जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म केही प्रस्ट पारेको छैन। यद्यपि उसले पठाएको विवरण र महिलाको हुलियाका आधारमा सञ्चारमाध्यममा अर्को समाचार बन्यो।

अन्ततः प्रहरीले ती दुवै महिलालाई जनकपुरधाम–७ स्थिति उनीहरुको घरबाट नियन्त्रणमा लियो। कोरोना भाइरसको संक्रमण रहे नरहेको जाँच गराउन उनीहरुलाई प्रादेशिक अस्पताल लगियो। र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि त थप सनसनीपूर्ण समाचार बन्यो। तर पछि स्वाबको नमुना लिई पीसीआर परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आयो। अर्थात् महिलामा कोरोना संक्रमण नरहेको पुष्टि भयो। 

यति बेलासम्म बैंकबाट आउँदै गरेका ती महिलाको खल्तीबाट असावधानीबस महावीरचोकमा पैसा खसेको भन्ने थाहा भइसकेको थियो ।

उनीहरुबारे नकारात्मक समाचार सामाजिक सञ्जाल र मिडियामा आइसकेपछि उनीहरुले डराएर त्यसको खण्डनसमेत गर्न नसकेका रहेछन् भन्ने तथ्य स्पष्ट भइसकेको छ।

सञ्चारकर्मीको धर्म समाचार लेख्नु हो। यो घटनामा पनि सुरक्षा निकायका आधिकारिक व्यक्तिले घटना शंकास्पद देखिएको बताएपछि मात्रै समाचार सम्प्रेषण गरेका थिए। घटनास्थलमा पुगेका सञ्चारकर्मीले क्रसचेकका रुपमा स्थानीयको भनाइलाई आधार बनाए। 

प्रहरीले भनेकैअनुसार नगरेर सञ्चारकर्मीले धैर्य गरेको भए सम्भवतः ती दुवै महिला मानसिक रुपमा तनावमा पर्ने थिएनन्। जनकपुरको पछिल्लो घटनाले हतारमा न्युज ब्रेक गर्नुभन्दा तथ्य बुझेरमात्र समाचार सम्प्रेषण गर्नुपर्ने पाठ सञ्चारकर्मीलाई सिकाएको छ।

यसले सञ्चारकर्मीलाई मात्रै होइन, सुरक्षा निकायलाई पनि गतिलो शिक्षा दिएकाे छ। घटनाबारे सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउने सुरक्षा निकायले पनि सावधानी नअपनाउँदा अनाहकमा कोरोनासँग सरोकार नै नरहेका दुई महिलाले तनाव भोग्नुपरेको छ।

प्रहरीले अपराधीलाई जसरी तस्बिर सार्वजनिक गर्नु जस्ता क्रियाकलाप पक्कै पनि उचित थिएनन्।

पूर्ण अनुसन्धान र परीक्षण नै नगरी सूचना सार्वजनिक गर्ने प्रहरी चिप्लिएकै हो। प्रहरीले घटनालाई शंकास्पद नभनेर अनुसन्धान भइरहेको भनिदिएको भए सम्भवतः सनसनी बन्दैन थियो।

जनकपुर घटना सम्बन्धमा प्रहरी प्रशासनको भूमिका र प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सञ्चारकर्मीलाई अझ जिम्मेवार भएर सत्यतथ्य समाचार सम्प्रेषण गर्न चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्