शुक्रबार, जेठ १६, २०७७

ब्लग

कोरोना संक्रमण, इस्लाम र सञ्चारमाध्यम

1587357138islam.jpg

चीनबाट सुरु भएको कोरोना भाइरस युरोपमा फैलिसकेकोे खबर आउँदा लाग्थ्यो, यो उत्तरका अग्ला हिमाल नाघेर हामीसामु प्रकट हुने छैन।

संघारमै आइपुगेको भाइरसबारे नागरिकलाई समयमै सचेत गराउन सरकारी संयन्त्रले आवश्यक ठानेन। मिडियामा पनि भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मको आगमन, दलहरुका आन्तरिक द्वन्द्व, दिल्ली हिंसा र नेपाल भ्रमण वर्षका खबरले प्राथमिकता पाए। तर, मानव जातिमाथि ठूलो घात गर्ने पुरानो भाइरसको नौलो रुप हामीकहाँ आइपुग्न हिमालको बाटो किन रोज्थ्यो र?

धेरै समय लागेन। हामी आफ्नै अव्यवस्थामा रुमल्लिरहेका बेला कोरोना भाइरस कसैलाई थाहै नदिई, वाहकलाई पनि झुक्याएर सीमावारि आइसकेछ। सायद यो विमानबाट, पैदलै, रेल र बस हुँदै आइपुग्यो।

औषधि वा खोप नबनेको यो भाइरसले विनाश ल्याएको छ नै । मानिसलाई सामाजिक दुरीमा राख्न बाध्य बनाइदिएको छ। अन्य रोग लागेका बेला आफन्त नजिकै बस्छन्। रेखदेख, सहानुभूति र स्नेहको स्पर्शले मात्रै पनि बिरामीको मनोबल बढ्छ।

विडम्बना! कोरोना भाइरस संक्रमणमा परेपछि त मानिस मानिससँगै डराउनुपर्ने, पर बस्नुपर्ने र आफन्तले पनि साथ दिन नसक्ने अवस्था हुँदो रहेछ। अझ मृत्युपछि पनि बेवारिसेजस्तै बन्नुपर्ने हुन्छ।

रोगले कसैमाथि भेदभाव गर्दैन। दरबारमा बस्ने होस् वा झुपडीमा रात गुजार्ने होस्। जुनसुकै जाति, धर्म, पेसा वा वर्णको होस्। त्यस्तै कोरोना भाइरसले पनि। तर कुनै पनि विपत्तिको सबैभन्दा ठूलो कहर गरिब र सीमान्तकृतले बढी भोग्नुपर्छ। यो विश्वव्यापी यथार्थ हो।

यहाँ प्रसंग उठाउन खोजिएको हो, दिल्लीमा आयोजित तब्लिगी मरकज जमातको भेलापछि इस्लाम धार्मिक समुदायमाथि बनाइएको नकारात्मक दृष्टिकोण। कोरोना भाइरस संक्रमण फैलँदै गर्दा भेला आवश्यक थियो थिएन, सुरक्षा सावधानी अपनाइयो अपनाइएन भन्ने भिन्नै बहसको विषय हो। जोखिमकै बीचमा सरकारी नियम उल्लंघन गरेर भेला आयोजना गरिएको रहेछ भने त्यसमा कोही दोषी हुन सक्छ र कानुनबमोजिम सजाय पनि पाउला।

जमात इस्लाम धर्ममा आध्यात्मिक शिक्षा, धार्मिक ग्रन्थ कुरानबारे जानकारी र प्रवचन दिने एउटा अनुष्ठान हो। जमातीहरु विभिन्न मदरसा, मस्जिद र मुसलमान बस्तीमा पुगेर धार्मिक शिक्षा दिने गर्छन्। यसमा इस्लाम धर्ममा आस्था राख्ने जोकोही पनि सहभागी हुन सक्छ। मस्जिद र मदरसामा पुगेर धार्मिक शिक्षा–प्रवचन दिने भएकाले उनीहरुको बसोबासको प्रबन्ध पनि मस्जिद, मदरसाले नै गरेका हुन्छन्।

कोरोना भाइरस संक्रमित हुनेमा जमाती पनि भेटिएका छन्। तर, यस विषयलाई भारतीय मिडियाले अतिरञ्जनापूर्ण तरिकाले नकारात्मक प्रचार गरिरहेका छन्। त्यसले समग्र इस्लाम धर्मावलम्बीमाथि विद्वेष फैलाउन खोजेको प्रतीत हुन्छ।

नेपालमा पनि मुसलमान समुदायका केही व्यक्तिलाई कोरोना भाइरस संक्रमण भएको छ। संक्रमितको संख्या बढ्नु चिन्ताको विषय हो। अहिलेसम्म जजसमा कोरोना भाइरस संक्रमण देखिएको छ, उनीहरु भाइरस बोकेर नेपाली समाजमा फैलाउन आएका होइनन् भन्ने स्पष्ट हुनुपर्छ। त्यस्तै भाइरस संक्रमित जमाती लकडाउनअघि नै नेपाल आएका थिए।

लकडाउनका कारण सीमा बन्द छ, सडक ठप्प छ। यस्तो बेला जमातीहरु पनि आफू बसिरहेको ठाउँमै र घरभित्रै बस्नु स्वभाविकै हो। यसरी बसेकालाई लुकेर बसेको भनिँदैन। उसो त विश्वभरका मानिस नै घरभित्र लुक्नुपर्ने अवस्था छ।

नेपालमा केही मिडियाले अप्रिय लाग्ने खालका हेडलाइन राखेर समाचार प्रवाह गर्न थालेको देखिन्छ– विशेषगरी मस्जिदमा रहेका केही मुसलमानमा कोरोना संक्रमणको पुष्टि भएपछि। त्यति मात्र होइन, कतिपय समाचारहरु सिंगो समुदायलाई नै आक्षेप लगाउने गरी प्रवाह भइरहेका छन्।

जनकपुरका दुई महिलालाई 'सडकमा रुपैयाँ फालेको' भन्दै लान्छित गरियो तर, वास्तविकता बेग्लै रहेछ। कसैले पनि गलत गर्छ भने उसले सजाय पाउनुपर्छ। समुदायलाई नै गलत रुपमा प्रस्तुत गरिँदा आस्थामा चोट पर्नु स्वाभाविकै हो।

सामाजिक सञ्जालमा पनि निश्चित समुदायलाई तारो बनाएका स्टाटसहरु देखिन्छन्। गल्ती भइहाले मानिसबाट पो हुन्छ, जाति वा धार्मिक समुदायबाट भएको त हुँदैन नि।

उसै पनि मुस्लिम समुदायमा शिक्षितहरुको संख्या थोरै छ। अधिकांश विपन्न छन्। चेतनाको स्तर कम हुँदा पनि गल्ती हुन सक्छ। परम्परागत शिक्षा दिन हिँडेका जमाती आधुनिक संसारका सबै विषयमा जानकार नहुन सक्छन्। यसमा हेक्का राख्नुपर्ने होइन त्यस्ता सञ्चारमाध्यमले ?

संक्रमित भएको मानिस मुसलमान रहेछ भने ठूला अक्षरमा मुस्लिम संक्रमित भन्न थालिएको छ। समाचार हेरेर, कल्पना गरौं त घरतर्फ जाँदै गरेका एक हुल मुसलमानको समूह मात्र थानकोटमा भेटिए सामाजिक सञ्जाल र केही मिडियामा त्यो समाचार कसरी प्रवाह गर्दा हुन्?

हामी नेपाली सदीयौंदेखि समुदायमा मिलेर बसेका छौं। एकअर्काका दुख सुख हामी बाँड्छौं। दसैं, इद, कुर्बानी, भाइटीका, रक्षाबन्धन, उधौली, ल्होसार सबै हाम्रै हुन्। इदका अवसरमा हाम्रो घरमा आएर पर्व मनाउने थुप्रै हिन्दू र जनजाति साथी छन् हाम्रा। दसैं, तिहार र ल्होसारमा हामी अरु साथीहरुका घरमा गएर रमाइलो गर्छौं। महामारीका बेला समुदायबीचको यस्तो सहिष्णुतामा खलल पुर्याउन खोज्नु आपत्तिको विषय हो।

सरोकार मुसलमान समुदायको मात्र होइन, थुप्रै मानिस लकडाउन अवज्ञा गर्दै सडकमा निस्केका देखिन्छन्। खानेबस्ने ठाउँ नभएपछि कतिमय मानिस सयौं किलोमिटर हिँडेर आफ्नो घरतर्फ लागेका छन्। तर, उनीहरुको जाति र धर्मका बारेमा कुरा भएको छैन। गरिनु पनि हुँदैन।

संक्रमितलाई कुनै समुदाय वा जातिसँग नजोडौं। आपसी सद्भाव कायम राखौं र कोरोनाको संक्रमण फैलन नदिन सचेत बनौं।

 

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप