काठमाडौं– १३ औं चरणको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबका जुमानु राईले ह्याट्रिक गरेका छन्।उनको ह्याट्रिसँगै पुलिसले आजको खेलमा जित निकालेको छ।
जितसँगै विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगको शीर्ष ६मा स्थान पक्का गरेको हो। सातदोबाटोस्थित एन्फा कम्लेक्समा बिहीबार सम्पन्न खेलमा पुलिसले फ्रेन्ड्स क्लबविरुद्ध ३–०को जित निकाल्यो।
जितका लागि जुमानूले खेलको दोस्रो हाफमा तिन गोल गरे। उनले खेलको ४९, ५६ र ८५ औं मिनेटमा गोल गरेका हुन्।
उनले जारी लिगमा व्यक्तिगत पहिलो ह्याट्रिक गरे भने लिगमा यो दोस्रो ह्याट्रिक हो। उनीभन्दा अघि एपिएफका संजोग रार्ईले ह्याट्रिक गरेका थिए। ७० साल पछि ह्याट्रिक नभएको लिगमा आज जुमानुको ह्याट्रिसँगै दोस्रो ह्याट्रिक लिगले पाएको हो।
जितसँगै पुलिसको खातामा २० अंक भएको छ। उसले १३ खेलमा ६ जित, २ बराबरी र पाँच हारका साथ २० अंक बनाएको हो।
२० अंकसहित पाँचौ स्थानमा रहेको पुलिसको भन्दा एक अंक कम रहेको जावलाखेल युथ क्लबले भोलीको खेलमा जित निकाल्ने सम्भावना कम छ। यदी निकाली हाले पनि पुलिसले एक स्थान भन्दा तल झर्नु पर्दै। किनभने सातौं स्थानमा रहेको च्यासलको १५ अंक मात्र छ। एक खेल बाँकी रहेको च्यासलले जितेल ३ अंक जोडे पनि छैटौं स्थानमा आउन सक्दैन।
सुखद अन्त्यपछि विभागीय टोली नेपाल पुलिस क्लबले ए डिभिजन लिगको शीर्ष ६ टोलीले प्रतिस्पर्धा गर्नपाउने राष्ट्रिय लिगमा सहभागी हुन पाउने भएको छ।
उता फ्रेन्ड्सले लिगको अन्तिम खेल हारेसँगै १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।