काठमाडौं– ‘आजको लागि एउटा सानो काउली बाँकी छ, भोलिदेखि के तरकारी खाने थाहा छैन’ गत साता चीनमा रहेका नेपाली डा. अमित श्रीवास्तवले नेपालमा रहेकी श्रीमती पल्लभीसँग भनेका थिए।
अघिल्लो हप्तासम्म आफू ठीक रहेको भन्दै चिन्ता नलिन घरमा आग्रह गरिरहेका अमितले पछिल्ला दिनमा भने आफूलाई घर फर्काउन सम्बन्धित निकायमा दबाब दिनका लागि घरपरिवार र आफन्तलाई तारन्तार फोन गरिरहेका छन् । अमित मात्रै होइन, चीनमा रहेका धेरै नेपाली विद्यार्थी अहिले आत्तिएका छन् र स्वदेश फर्किन आतुर छन् ।
यता, अभिभावक पनि आफ्ना छोराछोरीलाई फिर्ता गर्न विभिन्न निकायसँग हारगुहार गरिरहेका छन् । हरेक दिन विभिन्न निकायहरुमा दौडधुप गरिरहेका छन् ।
कोरोना भाइरसको उद्गमस्थल वुहानमा आफूहरुको अवस्था निकै दयनीय रहेको त्यहाँका नेपाली विद्यार्थीहरुले बताउँदै आएका छन् । ‘१६–१७ दिनदेखि भित्रको भित्रै बस्नुपरेको छ । नयाँ वर्षमा स्टोर गरेको खानेकुरा पनि सकियो । बाहिर लिन जान पनि सम्भव छैन । हरियो तरकारी खान नपाएको धेरै दिन भइसक्यो,’ अमितले ह्वाट्सएपमा भने ।
चीनको हुवेई प्रान्तमै बस्ने डा. माधव गौतमको भान्छामा पनि हरियो तरकारीलगायत अन्य खानेकुरा सकिसकेको छ । बाहिर खानेकुरा लिन जान पनि समस्या छ । गौतमका अनुसार चीनमा अहिले मास्कको अभाव छ, युनिभर्सिटीले अहिलेसम्म जम्मा १० वटा सर्जिकल मास्क दिएको छ । ३–४ वटा युनिभर्सिटी बाहेक अन्यले खानेकुरालगायत आवश्यक सामग्री पनि दिएका छैनन् ।
चीनमा अहिले सबैभन्दा अभाव खानेपानीको भएको निरञ्जन परियारले बताए । ‘चामल, तेल, ग्यासलगायत अत्यावश्यक सामग्रीको अभाव त छँदैछ । आलु र दालको भरमा छाक टार्नुपर्ने अवस्था छ । आज पेटभरी खान पनि भोलि के खाने भन्ने डरले थोरै खाएर साँचेर राख्नुपर्ने अवस्था छ,’ उनले भने ।
अभावका कारण महँगी पनि बढेको छ । ‘पहिले २ युआन पर्ने सामानलाई अहिले १० युआन तिर्नुपर्छ । मास्क किन्न पनि पाइँदैन, कोठाभित्रै मास्क लगाएर बस्नुपर्छ । पल्लो कोठामा अर्कोले खोक्दा पनि डराउनुपर्ने अवस्था छ, हामीलाई मानसिक तनाव बढी भयो,’ निरञ्जनले भने। उनका अनुसार वुहानमा अहिले बाटो पनि सुनसान हुन्छ । मानिसहरु एक अर्कासँग डराउँछन् ।
तस्बिरहरू : वुहानमा रहेका नेपाली