सोमबार, जेठ १९, २०७७

समाचार विशेष

वुहानका पीडितको अनुभव- कोरोनाले हामीलाई सदाका लागि बदलिदिएको छ

1586787078Wuhann.jpg

वुहानमा नयाँ भाइरसको संक्रमण फैलिएको तथ्यांक सार्वजनिक भएको केही दिन मात्रै भएको थियो, चेन वेनलुका बुवा भर्खरै ज्वरोबाट निको भएका थिए। त्यो दिन जनवरीको २२ तारिख थियो, त्यतिञ्जेलसम्म केही सय मान्छे मात्रै बिरामी परेका थिए।

चेनका ५५ वर्षीय बुवा पनि ति बिरामी परेका केही सयमध्ये एक होलान् भन्ने कसैले सोचेका थिएनन्।

२९ वर्षकी आर्किटेक्ट, चेन सम्झिन्छिन्, ‘उनी आफू फेरि उठौँला भन्ने सोचेकासम्म थिएनन्।’ त्यसबेला शहरका अन्य लाखौँ जनताहरू जस्तै चेन परिवार पनि आमूल परिवर्तनकारी ७६ दिने लकडाउनको कठिनाईबाट गुज्रिनुपर्ने स्थिति भोग्दै थियो, जसबाट यसै हप्ता उनीहरूले मुक्ति पाएका छन्।

अर्को दिन, एक करोड १० लाख जनसंख्या भएको वुहान सहरको बाहिरी संसारसँगको सम्पर्कविच्छेद गरियो। सरकारको उक्त निर्णयबाट चेन परिवार मात्र होइन सम्पूर्ण वुहानबासी नै छाँगाबाट खसेझैं भए।    

केही हप्तापछि त वुहानकै नक्कल सम्पूर्ण एसिया, युरोप र अमेरिकाभरि लागू हुन पुग्यो। अहिलेसम्म बिरामीहरूको संख्या १८ लाख भन्दा बढी पुगेको छ भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ। बाँकी विश्वमा अझै लकडाउन चलिरहँदा कोभिड–१९ को महामारीको उद्गम वुहान भने खुलेको छ।

७६ दिनपछिको क्वारेन्टाइन औपचारिकरूपमा गत बुधवार अन्त्य गरी सहरलाई खुला गरिएको छ। औपचारिक तथ्यांकअनुसार यसक्रममा ३ हजार २ सय जनाको ज्यान गएको छ भने हपेइ प्रान्तमा मात्रै ६७ हजार जना संक्रमित भएका थिए।

वुहानमा रेष्टुराँ व्यवसाय गर्दै आएका हुआङ्ग वेई आफ्नो बन्द व्यवसायको अवस्थाबारे दुखेसो पोख्छन्, ‘आर्थिक मन्दीबाट तपाईं कसरी उम्किन सक्नुहुन्छ जब थाप्लामा बैंकको ऋण छ अनि भएको रोजगारी पनि कतिबेला गुम्ने हो भन्ने त्राहीत्राही रहन्छ? वुहानबासीका लागि यो साल निकै कठिन हुनेछ।’

स्थानीयवासीहरू गएको २ महिनामा अकल्पनीय ढंगले परिवर्तन भएको जीन्दगी खोई कसरी बित्यो भनेर टाउको कन्याउदैछन्। कोही जतिसक्दो छिटो सहर छोड्ने सोचमा छन् भने कसैलाई महामारी दोहोरिने चिन्ता छ। लकडाउनले आर्थिक क्षेत्रमा ठूलो प्रभाव पारेका कारण अबका दिनमा कसरी जिविका धान्ने भन्ने चिन्ताले धेरैलाई सताएको छ।

‘७६ दिन भनेको लामै समय हो’, चेन भन्छिन्, ‘त्यतिखेर त मलाई एकदमै रिस उठ्थ्यो।’ शुरूमा केही कुरा पनि ठेगानका थिएनन्। समग्र व्यवस्था नै लथालिंग थियो पछि आएर स्थिति अलि सुध्रिन थाल्यो।’

उनको परिवारका सदस्यहरूको स्वास्थ्य छिट्टै बिग्रन थाल्यो, उनी सम्झिन्छिन्। सबैभन्दा पहिले उनका बुवालाई ज्वरो आयो। तैपनि उनका बुवा जर्बजस्ती काममा गई नै रहे। अर्को दिन उनकी आमालाइ पनि ज्वरो आयो। त्यसपछि उनका श्रीमान पनि थला परे, त्यसलगतै उनी पनि थला परिन्।

तिनीहरू कैयौँ पटक अस्पताल गए तर कसैलाई पनि कोरोना भाइरसको संक्रमण भने भएन। लकडाउनको दशौँ दिन बिरामी परेका उनका बुवालाई डाक्टरले चेकजाँचका क्रममा ‘केही समस्या छ’ नभनुञ्जेल तिनीहरू ढुक्क थिए। 

उनका बुवा र आमा अन्ततः आफ्नो नाम सार्वजनिक गर्न नचाहे पनि अस्पतालमा भर्ना हुनपुगे। त्यसबेलासम्म तिनीहरू बसोबास गर्ने क्षेत्रका धेरै मान्छे काेराेना भाइरसबाट संक्रमित भैसकेका थिए। त्यसपछि क्वारेन्टाइनमा रहन आदेश जारी भएपछि कसैलाई पनि घर बाहिर जान दिइएन।

अस्थायी अस्पतालहरू निर्माण गरिए र छिट्टै शव गृहहरू भरिन थाले। त्यसबखत र अहिले लकडाउन अन्त्य भएको स्थितिमा पनि धेरैको मनमा आफू असहाय बन्दै गएको अनुभूति भएको सुनाउछन्।

‘आफ्नो घरको झ्याल छेउमा बसेर टुलुटुलु हेर्नुबाहेक यहाँ अहिले हामीले गर्नसक्ने केही छैन।’ सौन्दर्य प्रशाधनका सामग्रीको सानो व्यापार गर्दै आएका स्थानीय झाङ्ग शिचु भन्छन्। ‘म नै मेरो मालिक हुँ त्यसैले यो लकडाउनको समयभरि मसँग भएको केही बचत रकमकै भरमा टिकेको थिएँ। अब मसँग बाँकी केही छैन कसरी धान्ने होला खोई !’

लकडाउन अन्त्य भए पनि अरू शहरमा जान कठिन छ। उदाहरणका लागि बेईजिङ्गले एक प्रणाली व्यवहारमा ल्याएको छ, जसमा स्थानीय सरकारको अनुमति प्राप्त गरेपछि मात्रै वुहानका बासिन्दाहरूले फिर्ति टिकट किन्न पाउने ब्यवस्था छ तैपनि त्यसको कुनै भर छैन।

चीनले वुहानवासीलाई उच्च सम्मान प्रदान गर्न राष्ट्रिय अभियान नै चलाएको छ। ‘वुहान जाऔं!’ भन्ने नारा अंकित साईनबोर्ड तथा विज्ञापनहरू देशैभर देख्न पाईन्छ। तर झाङ्ग अझै आफूलाई अलगथलग नै ठान्छन्।

‘हरेक दिन तपाईँ टिभीमा देख्न–सुन्न सक्नुहुन्छ– ‘वुहान जाऔं’, तर हामीलाई कसैले पनि रूचाउँदैनन्’, झाङ्ग दुखेसो पोख्छन्। 

रेष्टुराँ व्यवसायी हुवाङ्ग वेईले गत जनवरी २० मा मानवबाट मानवमा संक्रमण शुरू भएको खबर आएलगतै आफ्नो ‘बारबिक्यु’ रेस्टुराँ बन्द गरेर बसेका छन्। 

उनले गत अप्रिल ५ देखि सिमित मात्रामा तयारी खानाहरू बेच्न थाले पनि पुरानै अवस्थामा पूर्ण क्षमताले आफ्नो रेस्टुराँ सञ्चालन गर्न अझै महिना दिन लाग्ने देखिन्छ। हाल उनले सामान्य समयको आम्दानीको ६ भागको एक भाग मात्रै आम्दानी गरिरहेको भए पनि यस्तो संकटमा कुनै पनि सरकारी सहयोग पाएका छैनन्।

हुन त सरकारले साना व्यवसायीहरूलाई सहुलियत दरमा ऋण सहयोग गर्ने संकल्प गरेको छ तर यो कुरा व्यवहारमा लागू गर्न निकै कठिन हुने देखिन्छ।

‘लकडाउनको अन्त्यसँगै उपभोक्ताको माग ह्वात्तै बढ्ने र अहिलेको घाटाको सोधभर्ना हुन सक्ने अपेक्षा धेरैले गरेका छन्। तर मलाई त त्यस्तो लाग्दैन’, हुआङ्ग आफ्नो पिरलो यसरी बिसाउँछन्।

‘दश दिनको अस्पताल बसाईपछि निको भएर चेन वेनलुका बा–आमा घर फर्किएका छन्। वेनलु र उनका श्रीमान पनि बिसेक भएर घर आए। सोही क्षेत्रका अरुको भाग्य चेन परिवारको जस्तो रहेन। त्यस क्षेत्रमा लकडाउनका क्रममा कैयौं संक्रमितको ज्यान गएको तथ्य सार्वजनिक भएका थिए।

वुहानमा आम मान्छेको जीवन क्रमशः सामान्यतर्फ फर्किंदैछ। तर वेनलु भन्छिन, ‘स्थिति सामान्य बन्न अझै निकै समय लाग्छ।’

महामारीपूर्वको जीवन सम्झँदै उनि भन्छिन्, ‘पूर्वस्थितिमा फर्किन सम्भव छ तर अभैm दुई महिना जति लाग्ला जस्तो छ। तर जे भए पनि यस महामारीले वुहानवासीलाई सदाका लागि बदलिदिएको छ भन्ने मलाई लाग्छ।’

डन वेनल्याण्ड र सुन युले फाइनान्सियल टाइम्सका लागि तयार पारेकाे सामग्री

प्रतिक्रिया दिनुहोस्