मंगलबार, जेठ १३, २०७७

ब्लग

कोरोनाको उच्च जोखिममा प्रदेश २ : राउत बन्लान् त उदाहरणीय ?

1579024955lalbabu_raut.jpg

प्रदेश २ कोरोना संक्रमणका हिसाबले उच्च जोखिममा छ। यसका पछाडि पर्याप्त कारण छन्। पहिलो- प्रदेश २ का सबै जिल्लाको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ। दुई मुलुकबीच आवतजावत सहज छ।

कोरोना महामारीमा फसिसकेको भारतबाट ठूलो संख्यामा नेपाली यहाँ आइसकेका छन्। मुख्य नाकामा कडाइ भएपछि चोरबाटो भएर प्रदेश २ भित्र प्रवेश गर्ने क्रम रोकिएको छैन।

लुकिछिपी आउने क्रममा कमी नआएपछि अहिले सशस्त्र प्रहरीको संख्या थपेर नाकामा थप कडाइ गरिएको छ। भारतबाट आएकालाई स्थानीयकै सहयोगमा क्वारेन्टाइनमा राखिएको छ।

दोस्रो- कतार, मलेसिया, सउदी अरेबियालगायतका देशमा वैदेशिक रोजगारीमा जाने जनशक्ति सबैभन्दा बढी यही प्रदेशबाट छ। अधिकांश युवा जनशक्ति रोजगारीका सिलसिलामा ती देशमा पुगेका छन्। कोरोना संक्रमण फैलिएपछि घर फर्कने क्रम बढेको छ।

पछिल्लोपटक चैत ४ मा कतार एयरलाइन्सबाट नेपाल फर्केकी एक युवतीमा कोरोना संक्रमण फेला परेको थियो। त्यो जहाजमा कतिपय प्रदेश २ का पनि थिए। सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा पहिचान गरी उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको छ।

प्रदेश २ मा अहिलेसम्म कसैमा कोरोना पोजिटिभ भेटिएको छैन। १५९ जनाको स्वाब संकलन भएकोमा ११३ जनामा कोरोना नेगेटिभ देखिएको छ। अरु रिपोर्ट आउन बाँकी छ।

तर, केही रिपोर्ट नेगेटिभ आउँदैमा ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको चिकित्सक बताउँछन्। पर्याप्त मात्रामा परीक्षण नभएकाले ढुक्क हुन नसकिने उनीहरुको तर्क छ।

अर्को कारण हो भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव। लालबाबु राउत नेतृत्वको सरकारले कोरोनाविरुद्धको लडाइँका लागि तयार रहेको बताइरहे सरकार निकै कमजोरी छ।

स्तरीय अस्पताल छैन। भएका अस्पतालमा आईसीयू बेड छैन। दक्ष जनशक्ति अभाव छ। पीपीई, भेन्टिलेटरलगायत अत्यावश्यक उपकरण छैनन्। अन्यत्रको त के कुरा? प्रदेश राजधानी जनकपुरका अस्पतालमा पनि गम्भीर प्रकृतिको रोगको उपचार हुन सक्दैन। काठमाडौं वा भारततर्फ जानुपर्ने बाध्यता छ।

प्रदेश २ मा भेन्टिलेटरको संख्या ११ छ। जनकपुरस्थित प्रादेशिक अस्पतालमा ३, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा ३ र वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ५ वटा भेन्टिलेटर छन्। प्रदेशभित्र कम्तीमा पनि एक सय भेन्टिलेटर आवश्यक रहेको चिकित्सक बताउँछन्।

त्यसैले प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ र संक्रमण भइहालेमा उपचारमा पनि निकै कठिनाइ सामना गर्नुपर्नेछ।
यस्तो अवस्थामा पनि कोरोनाविरुद्धको लडाइँमा मुख्यमन्त्री राउतले खेलेको अहिलेसम्मको भूमिका प्रशंसनीय छ। उनले विभिन्न संघसंस्थाको सहयोग पाएका छन्।

कोरोना रोकथामका लागि स्थापना गरिएको मुख्यमन्त्री राहत कोषमा सहयोग आउने क्रम जारी छ। तर कोषमा संकलित रकम कोरोनासँग लड्न पक्कै पनि पर्याप्त छैन।

अतः प्रदेश २ मा कोरोना संक्रमणको जोखिमविरुद्ध लड्न धेरै काम गर्नुपर्नेछ। अस्पतालमा आईसीयू बेड र भेन्टिलेटर जडान अत्यावश्यक छ। चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीईलगायतका सामग्री खरिदमा ढिलाइ गर्नु हुँदैन। कोरोना उपचार गर्न छुट्टै अस्पताल बनाउन सकिए झनै प्रभावकारी हुन्छ। तर, यसका लागि प्रदेश सरकारले ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ।

मानव सूचकांकको हिसाबले प्रदेश २ को स्वास्थ्य र शिक्षाको अवस्था निकै तल छ। शिक्षा र स्वास्थ्यको स्थिति माथि उकास्न दीर्घकालीन योजना बनाउनतर्फ ध्यान दिनु जरुरी छ। तत्कालका लागि के हुन सक्छ त त्यस्तो योजना ?

आर्थिक वर्ष सकिन अब दुई महिना बाँकी छ। पछिल्लो आर्थिक वर्षको बक्यौता भुक्तानी हुन नसक्दा चालु आर्थिक वर्षमा पनि विकास निर्माणको काम अघि बढ्न सकेको छैन।

पुँजीगत बजेट हालसम्म खर्च भएको छैन। अब खर्च हुने सम्भावना पनि देखिँदैन। त्यसैले विकास निर्माण तथा संसदीय विकास कोषको रकम स्तरीय अस्पताल निर्माण र स्वास्थ्य उपकरणमा लगाउँदा दीर्घकालीन हित हुने देखिन्छ।

यस्तो निर्णय गर्दा कतिपय पार्टी वा प्रदेश सांसदका तर्फबाट पक्कै विरोधको स्वर उठ्नु स्वाभाविकै हो। त्यसैले मुख्यमन्त्री राउतले हिम्मतसाथ सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय गर्नुपर्छ। तर याे कोरोना भाइरस संक्रमण रोकथामका लागि गतिलो प्रयास हुनेछ भने प्रदेश २ मा उनकाे कदम उदाहरणीय बन्ने निश्चित छ।

 

प्रतिक्रिया दिनुहोस्