बुधबार, जेठ १४, २०७७

मनोरञ्जन

गफाडी दुनियाँमा मौन प्रेमको अर्थ बुझाउने ‘अहिंस्रक’ कोरियन फिल्म

15864058673iron.jpg

उदासीले भरपुर ‘थ्रि आइरन’ को खास कुरो नायक र नायिकाबीच संवाद नै हुँदैन।

सन् २००३ मा आएको ‘ओल्ड बोय’ सँगै दक्षिण कोरियाली फिल्मप्रति विश्वको ध्यानकर्षण भएको हो । विस्तारै कोरियाली फिल्म अति हिंसाबीच अचम्म पार्ने फिल्मका रुपमा चिनिन थाले।

‘मेमोरिज अफ मर्डर’ (२००३), ‘अ टेल अफ टू सिस्टर्स’ (२००३), ‘अ बिटरस्वीट लाइफ’ (२००५), ‘द चेजर’ (२००८), ‘द गुड द ब्याड द वीयर्ड’ (२००८), ‘मदर’ (२००९), ‘थस्र्ट’ (२००९), ‘द म्यान फ्रम नो ह्वेर’ (२०१०), ‘आई श द डेभिल’ (२०१०), ‘द येलो सी’ (२०१०), ‘न्यू वल्र्ड’ (२०१३) देखि हालका वर्षमा आएका ‘द ह्यान्डमेडन’ (२०१६), ‘द वेलिंग’ (२०१६), ‘ट्रेन टू बुसान’ (२०१६) र फरेन लेंग्वेज अस्करको प्रबल दावेदार मानिएको ‘बर्निंग’ (२०१८) जस्ता फिल्मले हरर र हिंसाका वरपर अविश्वसनीय कथा रचेर विश्वभर तहलका मच्चाए।

तर यसै कारण, फरक फरक खालका फिल्म बनाउने दक्षिण कोरियाली फिल्म उद्योग हिंसा, मारधाड, सिरियल किलर, भूत–प्रेत र जुनसुकै हद पार गर्ने मानिसको वरपर बनेका फिल्मबाटै विश्वमा चिनिन थाल्यो।

यद्यपि, हलिउड जानराका कथा देखाइरहँदा पनि कोरियाली फिल्महरु त्यसभन्दा नितान्त टाढा रहेर मौलिक भएकोमा सम्मानित भइरहेका थिए। तर, हिंस्रक कोरियाली फिल्मको यो चलन स्थापित हुनुअघि दक्षिण कोरियामा एउटा यस्तो फिल्म पनि बन्यो जसले स्टाइलिस कोरियाली फिल्मभन्दा ठिक विपरीत प्रेममाथि एकदम नौलो दृष्टिकोण प्रस्तुत गरेर विश्वभरका फिल्म प्रेमीलाई अचम्ममा पारिदियो ।

प्रेमको विषयमा अहिंस्रक फिल्म दक्षिण कोरियामा पहिल्यैदेखि बनिरहेका छन् तर ‘थ्रि आइरन’ को कुरा बेग्लै छ। सरल, सादा यो फिल्मले दर्शकहरुमा अमिट छाप पारेको छ।

निर्देशक किम की–दुक हिंस्रक फिल्मका लागि जति चिनिन्छन् त्यति नै मेडिटेटिभ आर्ट हाउस फिल्मका लागि पनि। उनका ‘मोबियस’ (२०१३) र ‘पिएता’ (२०१२) जस्ता डिस्टर्बिङ फिल्म हेर्नु सबैलाई सहज हुँदैन तर, ‘स्प्रिङ, समर, फल, विन्टर... एन्ड स्प्रिङ’ (२००३) र ‘थ्रि आयरन’ (२००४) जस्ता मेडिटेटिभ फिल्म हेरेर विश्वभरका फिल्मप्रेमी आह्लादित हुन्छन्।

‘स्प्रिङ, समर, फल, विन्टर... एन्ड स्प्रिङ’ तालको बिचमा रहेको एक बौद्ध मठमा बस्ने जवान र वृद्ध भिक्षुको वरपर घुम्छ। फिल्ममा उनीहरुको वर्षौंको जीवनलाई पाँच विशेष मौसममा देखाइएको छ। चार वर्ष लगाएर बनाइएको यो फिल्म बनाउँदा दृष्य जुन मौसमको छ त्यही मौसममा छायाङ्कन गरिएको थियो।

तर, आज ‘थ्रि आइरन’ को कुरा गरौं जसमा प्रेमको मौन अर्थबारे विलक्षण प्रस्तुति छ।

‘थ्रि आइरन’ मा नायकको घर छैन। एउटा मोटरसाइकल छ, त्यसमै सवार ऊ दिनभर पम्पलेट टाँस्दै हिँड्छ र तीनैमध्येका कुनै सुनसान घरमा पसेर रात काट्छ। कोही नभएका घरमा एक दुई दिन बस्छ तर, चोरी गर्दैन। बरु, घरमा रहेका मैला लुगा धोइदिन्छ, बिग्रेका मेसिन बनाइदिन्छ र सबै सामान सजाएर राखिदिन्छ। अर्थात् ऊ पूरै यायावर छ।

एक दिन उसको जीवनमा एउटा केटी आउँछे। घरेलु हिंसामा परेकी विवाहित केटी। अब नायकको जीवनमा सबै कुरा बदलिन्छ र, सहरमा दुई जना यायावर भैदिन्छन्। सुन्दाखेरि यो कथा आम बलिउड फिल्मका कथा जस्तो लाग्न सक्छ। तर, हेरेपछि थाहा हुन्छ केही निर्देशक किन पर्दामा रचिएको फिल्मी कथाका ‘लेखक’ भनिन्छन्।

जुन काम नायक एक्लैले गर्दै आएको थियो अब उदास नायिकसँगै गर्छ। सुरुआतमा नायिका विस्मित हुँदै नायकका पछिपछि लाग्छे तर, विस्तारै जुन घरमा नायक–नायिकाले डेरा जमाउँछन्, त्यहाँको काममा सहयोग गर्न थाल्छे। नायकको नजिक आउँदै गर्दा उसमा लुगा धुने यस्तो लत बस्छ कि जब समाजले उसलाई नायकबाट छुट्ट्याइदिन्छ तब आफ्नो धनी लोग्नेको घरमा वासिङ मसिन हुँदाहुँदै पनि लुगा हातैले मिचीमिची धुन्छे।

उदासीले भरिपूर्ण ‘थ्रि आइरन’ को विशेषता नायक र नायिकाबीच कुनै संवाद हुँदैन। फिल्ममा थोरै संवाद छ, जो अरु पात्रहरुले बोल्छन्। नायक र नायिका मौन रहन्छन्। उनीहरुको मौनता एकअर्कामा अपरिचित हुँदा, एक अर्कासँग नजिकिंदै गर्दा, लुकेर पसेको एउटा घरको सोफामा सँगै रहँदा र लामो समयपछि भेट्दा पनि कायमै रहन्छ।

डेढ घण्टासम्म मुख्य पात्रहरुबीचको मौनता यो फिल्मको विशेषता हो। र, यो बोलक्कड दुनियाँमा यो फिल्मभन्दा राम्रो फिल्मी प्रस्तुति सायदै तपाईंले हेर्न पाउनुहुन्छ।

दुबै बोल्नै नसक्ने होइनन् तर, गफैगफको यो संसारमा सायद उनीहरुलाई संवाद गर्ने चाहना छैन। दुबैले नदेखेका बेलासमेत एकअर्कालाई बुझ्छन्। बडो रमाइलो हुन्छ, यस्तो फिल्म हेर्नु।

सुस्त गतिको यो फिल्मको अर्को विशेषता बेग्लाबेग्लै खालको संगीतको प्रयोग र रुचीपूर्ण घटनाहरुलाई केन्द्रमा राखेर यो फिल्मले कथा विना संवाद अघि बढिरहेको अनुभूति हुनै दिँदैन। तीव्र संगीतका कोरियाली थ्रिलर हेर्ने बानी परेका दर्शकका लागि त नबोलेरै धेरै भन्ने ‘थ्रि आइरन’ हेर्नु गजब अनुभव हुनेछ।

फिल्मको ‘थर्ड एक्ट’ अर्थात् अन्तिम भाग अद्भूत छ। आफ्नो प्रेम कथामा मौनको महत्त्व दर्शाउनु बाहेक फिल्मले आध्यात्म (वा जादुमय यथार्थवाद?) र भौतिकवादी संसारभन्दा माथि उठेर चाहनालाई पनि आफूमा सुन्दर तरिकाले जोडेको छ।

र, क्लाइमेक्सले यो फिल्मलाई इतिहासमै सुन्दर अन्त्य भएको फिल्ममध्येको एक बनाइदिएको छ। भएर पनि नहुनु केवल उखान नभएर, साँचो प्रेममा डुबेको जीवनका लागि फिल्ममा परम सत्य भइदिन्छ।

प्रतिक्रिया दिनुहोस्