शनिबार, वैशाख ८, २०८१

१७ वर्षदेखि क्रिकेट मैदान स्याहार्ने ‘क्युरेटर’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त क्रिकेट मैदानको स्याहार गर्नु मधुको दिनचर्या हो।
 |  मंगलबार, माघ २१, २०७६

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, माघ २१, २०७६

काठमाडौं– उनी बिहान ८ बजे कीर्तिपुरस्थित क्रिकेट मैदान आइपुग्छन्। र, बेलुका ५ बजेसम्म मैदानको स्याहारमै खटिन्छन्।

triton college

उनी अर्थात् मधु तामाङ थोकर।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको उक्त क्रिकेट मैदानको स्याहार गर्नु मधुको दिनचर्या हो।

त्यो त्यही मैदान हो, जसको उनी १७ वर्षदेखि स्याहार गरिरहेका छन्। दक्षिणकालीको बाँसबारी घर भएको मधु कीर्तिपुर क्रिकेट मैदानका ‘क्युरेटर’ पनि हुन्।

उनी भन्छन्, “म अबेर हुँदा बेलुका ७ बजेसम्म मैदानमै हुन्छु, नभए पनि बेलुका ५ बजेसम्म मैदानमै हुन्छु।”

corrent noodles
Metro Mart

भन्छन्, “म यो मैदानसँग जोडिएको १७/१८ वर्ष जति नै भइसक्यो।”

त्यहीँ मैदानमा भोलि (माघ २२)बाट ‘विश्वकप क्रिकेट लिग २’ अन्तर्गतको नेपाल, अमेरिका र ओमनबीच त्रिपक्षीय क्रिकेट शृंखला सुरु हुँदैछ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता आफूले काम गरेको मैदानमा हुन लाग्दा उनी मख्ख छन्। भन्छन्, “म त एकदमै खुसी छु। यस्तो गर्व गर्न लायक प्रतियोगिता यहाँ हुँदैछ।”

उनी खुसी मात्र छैनन्, प्रतियोगिताको नतिजा पनि नेपालको पक्षमा आउनेमा आशावादी छन्। भन्छन्, “नेपालमै खेल्दाचाहिँ नेपालले जितोस् भन्ने त हुन्छ नै। झन् यो त आफैंले मेहेनत गरेको मैदान भएकाले नेपालले जितोस् नै भन्ने लाग्दो रैछ।”

उनी थप्छन्, “आफैंले बनाएको पिचमा सबै खेलाडीले राम्रो खेलोस् भन्ने लाग्छ। सबैले राम्रो खेलेर जितेमा म मात्र होइन, पिच बनाउने हामी सबैलाई गर्व लाग्नेछ।”

मधुलाई नेपालीले खेल जित्ने आशासँगै कामको जिम्मेवारी पनि छ। उनको मुख्य कामचाहिँ पिचको हो। “बाहिरको काम सकियो। पिच पनि लगभग तयार भइसक्यो। अब, पिचलाई पानी हाल्दै गलाउनु पर्छ,” सोमबार बिहानै क्रिकेट मैदानमा काम गरिरहेका मधुले भने, “पिचमा पानी कति हाल्ने माैसमले निर्धारण गर्छ।”

उनको लामो अनुभवले मैदानको घाँससँग चिनजान गराइसकेको छ। आफूलाई घाँसको आवश्यकता र अनुकूलता थाहा हुन थालेको बताउँदै भन्छन्, “घाँसको आवश्यकता अनुसार दुईदेखि तीन पटकसम्म पानी हाल्नुपर्ने थियो अस्तिचाहिँ। तर, अहिले पिच पेल्ने काम भइरहेकाले माैसम हेरेर मात्रै पानी हाल्नुपर्ने हुन्छ।”

“मैदानकाे महत्त्व भनेकै पिच हो। पिचमा घाँस मरेको छ भने रोप्नु पर्यो, मलजल गर्नु पर्यो, काटेर फेरि मल हाल्नु पर्यो। त्यहाँ आउटफिल्डमा बाहिरको घाँस उम्रिएको छ भने त्यसलाई फाल्नु पर्यो र नयाँ घाँस रोप्नु पर्यो। यदि खाल्डो परेमा बालुवा ल्याएर त्यसलाई पुर्नु पनि पर्यो,” मधु यी कामलाई आफ्नो कर्तव्य सम्झन्छन्।

उनी भ्याएको काम आफूले गर्छन् र नभ्याएमा अरुलाई अह्राउँछन्। मधु घाँसलाई कसरी जोगाउने वा सार्ने भनेर सहकर्मीलाई पनि सिकाउँछन्।

साथीहरूले पिच नजिकै रोलर सफा गरिरहेका बेला त्यता इंकित गर्दै मधुले भने, “यो बेलाबेलामा फोहोर भइरहन्छ। त्यसलाई सफा गरेर मात्र पिच पेल्ने काम गर्नुपर्छ। नभए बाहिरको फोहोर रोलरसँगै पिचमा जान्छ र पिच फोहोर बनाउँछ।”

उनी थप्छन्, “फोहोरमा घाँसको डाँठहरू हुन्छ। डाँठ पिचमा छिर्योे भने खाल्डो पर्छ। त्यसैले पिचमा खाल्डो नहोस् भनेर सफा गरेर मात्र पिच पेल्ने गरेका छौं। पिच त एकनासको, लेभल हुनुपर्यो नि। खेल्न उपयुक्त बनाउनलाई बाहिरको फोहोर हुनु भएन। त्यसैले यो सफा गर्नैपर्छ।”

त्रिपक्षीय शृंखलाका लागि अन्तर्राष्ट्रिय स्तरका क्युरेटर पनि नेपाल आएका छन्। क्यानले श्रीलंकाका बन्दुला वार्नापुरालाई कीर्तिपुरको मैदानका लागि चिफ क्युरेटर सेलेक्ट गरेको हो।

वार्नापुराले श्रीलंकाको चिफ क्युरेटर भएर काम गरिसकेका छन्।

वार्नापुराबाट आफूले नजानेका धेरै कुरा सिक्ने अवसर पाएको मधुले नेपाल समयसँगको कुराकानीमा बताएका छन्।

वार्नापुराले मधुलाई घाँसे पिच बनाउन निर्देशन दिएका थिए। वार्नापुराकै निर्देशन अनुरूप उनी घाँसे मैदान बनाउन व्यस्त देखिन्थे केही दिनअघिबाटै।

घाँसे पिचकाे फाइदाबारे थाहा पाएपछि उनी यस्तो पिच बनाउन झनै उत्साहित भएका थिए।

उनका अनुसार घाँसे पिच छिट्टै बिग्रिँदैन। मधु भन्छन्, “घाँसको जराले माटोलाई कम्प्याक्ट गरेर समाइरहेको हुन्छ। घाँसले मैदानलाई समाएर राख्ने भएकाले माटो दह्रो भइरहन्छ। ग्रास विकेटमा बाउन्स पनि राम्रो हुन्छ। हुनतः फ्ल्याट विकेटमा पनि राम्रै हुन्छ। तर, घाँसे मैदानमा धेरै राम्रो हुन्छ। घाँस भएन भने स्पाइकले माटो छिटो निस्किन्छ।”

उनले थपे, “फ्ल्याट विकेटमा दुई दिन खेल्न सकिन्छ भने ग्राँस विकेटले चार दिन धान्छ। घाँसको फाइदा त्यति हो। क्वालिटीका हिसाबले पनि घाँसे विकेट नै राम्रो हो।’

०००

उनी मैदानमा काम गर्न आउँदाताकाका कति साथीहरू अहिले त्यहाँ छैनन्। कोही बाहिर काम गर्छन् भने कोही विदेश गइसकेका छन्। मैदानका काम गर्न आएदेखि धेरै जनासँग उनको चिनजान भयो। कति साथीहरू पनि बने। कति सँगै छन्, कतिले छोडेर गए।

उनी भन्छन्, “म यहाँ आउँदा सँगै आएका र पहिले सँगै काम गरेका साथीहरूले त छोडेर गइसके। १७ वर्षअघिबाट काम गर्दै आएका एक–दुई जना मात्र छौं।”

पुराना साथी गएसँगै उनीसँग काम गर्ने नयाँ मान्छे पनि थपिएका छन्। भन्छन्, “नयाँ आउने साथीहरू यतै दक्षिणकालीतिरका पनि छन्। जनकपुरतिरका, देशैभरका छन्।”

हाल मैदानमा काम गर्ने १५ जना छन्। उनका अनुसार सबैलाई कामको बाँडफाँड गरिएको छ।

०००

१७ वर्षसम्म मैदानमा बस्दा उनले त्यहाँ धेरै उतारचढाव देखे। डेढ दशकअघि र अहिलेको तुलना गर्दै मधु भन्छन्, “सुरुमा यहाँ काम गर्न थाल्दा दर्शक त्यति धेरै हुन्थेनन्। तर, अहिले दर्शक ह्वात्तै बढेका छन्।”

दर्शककाे संख्या कहिलेबाट बढेको भन्ने मधुलाई यकिन थाहा छैन। भन्छन्, “मलाई लाग्छ– सात/आठ वर्षदेखि नेपाली क्रिकेटमा दर्शक बढेका छन्। यहाँ काम गर्न थालेको ५/६ वर्षसम्म त क्रिकेट हेर्नकै लागि दर्शक आउँदैनथे, मतलव थोरै मात्र आउँथे।”

१० वर्षअघि नेपाल र अमेरिकाको खेल हुँदा आफू २०/२२ जनाको टोलीसहित मैदानको पश्चिमी भागमा बसेर खेल हेरिरहेको मधु सम्झन्छन्। खेलका क्रममा दर्शकले मैदानमा ढुंगा प्रहार गरेका थिए।

उक्त घटना सम्झदै मधुले भने, “आफ्नो टिमलाई समर्थन त गर्नुपर्छ। तर, विपक्षीले खेल जित्न लाग्दा ढुंगै त हान्नु भएन नि!”

मधुले मैदानमा ढुंगा बर्सिएको तीन/चारपटक देखिसकेका छन्। जुनसुकै खेलका बेलामा पनि मैदानमै हुने मधुले भने, “त्यसपछिका कति खेलमा ढुंगा प्रहार भइसकेको छ। यही समय भन्नेचाहिँ थाहा छैन। तर, यु–१९को एक खेलमा भएको थियो जस्तो लाग्छ।”

तर, अहिले अवस्था फरक छ। मैदानको अवस्था पहिलेभन्दा राम्रो भइसकेको छ। वरपर मैदानमा घेरवार गरिएको छ। अनि यो पटक सुरक्षा व्यवस्था पनि राम्रो छ।

मधु दर्शकसँग अनुरोध गर्छन्, “आउनुस्, खेल हेर्नुस्। रमाइलो गर्नुस्। नेपाललाई सपोर्ट गर्नुस्। तर, उत्तेजक भने नबन्दिनुस्।”

प्रकाशित: Feb 04, 2020| 15:45 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।