काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।
कसैले एमसीसीकाे बहसलाई मुख्य समाचार बनाएका छन् भने कसैले कोरोना भाइरसको त्रासपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीलाई निगरानीमा राखिने विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
यस्तै हायात होटलमा सञ्चालकले सरकारी शेयर झ्वाम पारेर सरकारमाथि नै अन्याय गरेको, नेकपामा वामदेव गौतम शक्तिशाली बनेको विषयलाई पनि आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।
आजको कान्तिपुर दैनिकले नोवल कोरोना संक्रमणको त्रासपछि चीनबाट नेपाल ल्याउन लागिएका नेपाली विद्यार्थीलाई कम्तिमा १४ दिन निगरानीमा राख्न लागिएको विषयलाई मुख्य समाचार बनाएको छ । चीनबाट नेपाल ल्याउन लागिएका १८० विद्यार्थीका लागि आज बेलुकासम्ममा क्वारेन्टाइन स्थल निर्धारण गर्ने सरकारको तयारी छ ।
यस्तै कान्तिपुरले विद्यालयको योजना छनोट राष्ट्रपतिबाट शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय बनाउने तयारी गरेको हो ।
विद्यालयको आवाश्यकता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनामा बजेट पठाउने गरि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यविधि बनाइएको हो । कार्यक्रमको ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खर्च गर्न योजना छनोट गर्ने कार्यविधि बनाइएको कान्तिपुरले लेखेको छ ।
अन्नपूर्ण पोस्ट्ले एमसीसी संशोधन गरिने शीर्षकमा मुख्य समाचार छापेको छ । नेकपाले गठन गरेको एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालसँग छोटो कुराकानी सहितको खबर उसले छापेको छ ।
यस्तै बाल मन्दिरमा अनाथको कोटामा, बाठाटाठाका सन्तान पढ्ने गरेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । अनाथ बालबालिकालाई छुट्याइएको कोटामा बाल मन्दिरका पदाधिकारीले रजाइँ गरिरहेको समाचारमा उल्लेख छ ।
यस्तै कोरोना भाइरसका कारण चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ । चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको समाचारमा उल्लेख छ।
आजको नागरिक दैनिकले नेकपाको केन्द्रमा गौतम शीर्षकमा मुख्य समाचार छापेको छ । संगठन विभागलाई नेतृत्व गर्दै आएका वामदेव गौतम पार्टी उपाध्यक्षको जिम्मेवारी पनि पाएपछि थप शक्तिशाली भएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने हायात होटलका सञ्चालकले गरेको बद्मासीलाई मुख्य समाचार बनाएको छ ।
हायात होटेलमा राज्यको ३०४ रोपनी जग्गाः तर सरकारको सेयर ३९.७७ बाट झारेर जम्मा ९.०१ प्रतिशतमा सीमित, खुलासा भएको एक वर्षसम्म सरकार मौन शीर्षकमा उसले खबर छापेको छ ।
आजको कारोबार दैनिकले भने देशभर ९६ वटा पुल अलपत्र अवस्थामा रहेको विषयलाई मुख्य समाचार बनाएको छ । रणनीतिक सडकहरुको पुल निर्माणका केहि प्रगति भएपनि स्थानीय सडकका पुलहरुमा समस्या धेरै देखिएको समाचारमा उल्लेख छ ।