काठमाडौं - नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग भेटेको छ।
भेटमा सवारी साधन पैठारीकर्ताहरुले आफ्नो एजेन्सी बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमासमेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल भएको नाडाले जनाएको छ।
भेटका क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आइपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरे। उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए।
छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ठ अर्यालले यसबारे केही दिन भित्रै नेपाल राष्ट्र बैंक, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसंग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने बताए।