अछाम- छाउगोठ भत्काउने अभियानमा सक्रिय भएका प्रहरी अछाममा कुटिएका छन् ।
अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने क्रममा शनिबार एक प्रहरी हवल्दार कुटिएका हुन् ।
प्रहरी चौकी जगढका हवल्दार धनबहादुर कैलालाई स्थानीय एक महिलाले भैंसी बाँध्ने किलाले हिर्काएकी हुन् । उनको ढाडमा चोट लागेको छ ।
छाउगोठ भत्काउँदा देउता आएको भन्दै ती महिलाले प्रहरीलाई किलाले हानेको अछामका प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिए ।
प्रहरीमाथि हातपात गर्ने ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने तयारी गरेको उनले जानकारी दिए । छाउगोठ भत्काउन जाँदा असहयोग गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।
अभियान सुरु गरेको डेढ महिनामा अछाममा ४ हजार ७ सय ३३ छाउगोठ भत्काइएका छन् ।
छाउ बार्न गोठमा बसेका बेला गत मंसिर १५ को राति साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएको थियो । उक्त घटनापछि संघीय सरकारले छाउगोठ हटाउने अभियान चलाएको छ ।