काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेका छन्।
घरेलु मैदानमा हुन लागेको त्रिकोणात्मक सिरिजमा उनले लिएको हरेक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्ने सामाजिक संजालमार्फत घोषणा गरेका हुन्।
‘नेपाली क्रिकेटका लागि मसँग एउटा सपना छ जुन सपना नेपाली क्रिकेटका युवा हस्तिका लागि पनि महत्वपूर्ण छ। यो सपनामा लगानी गर्न म अमेरिका र ओमानविरूद्धको खेलमा लिएको प्रत्येक विकेटको लागि ८ हजार ८ सय ४८ रूपैयाँ दिने छु’ सन्दीपले फेसबुकमा लेखेका छन्।
नेपालले अमेरिका र ओमानसँग एकदिवसीय क्रिकेट खेल्दैछ। खेल माघ २२ देखि २९ सम्म चल्ने छ।