काठमाडौं – न्युजिल्याण्ड र भारत बीचको टी-ट्वान्टी सिरिज अन्तर्गत आज(शुक्रबार) को खेलले पनि सुपर ओभरबाट विजेता चयन गरेको छ। भारत र न्युजिल्याण्डले समान १६५ रन बनाएपछि आजको खेल सुपर ओभरमा धकेलिएको हो। सुपर ओभरमा आज पनि भारतले बाजी मारेको छ। यसअघि बुधबारको खेल पनि सुपर ओभरसम्म पुगेको थियो। जसमा भारत नै विजयी भएको थियो। अन्तिम समयमा जितको नजिक पुगेर पनि राम्रो फिनिसिङ गर्न नसक्दा दुबै खेल घरेलु टोली न्युजिल्याण्डले गुमाउनु परेको छ।
आजको सुपर ओभरमा न्युजिल्याण्ले भारतलाई जितका लागि १४ रनको लक्ष्य दिएको थियो। भारतले उक्त लक्ष्य पाँच बलमै भेट्टायो। योसँगै पाँच खेलको टी-ट्वान्टी सिरिजमा भारतले ४-० को अग्रता बनाएको छ भने श्रृङ्खला नै क्लिन स्विप गर्ने दाउमा भारत रहेको छ।
यसअघि न्युजिल्याण्डलाई जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो। भारतका लागि अन्तिम ओभर लिएर आएका सार्दुल ठाकुरले उत्कृष्ट बलिङ गरे। उनले पहिलो बलमै २४ रन बनाएर खेलिरहेका टेलरलाई आउट गरे। त्यसपछि दोस्रो बलमा टिम सेफर्टले चौका हानेपनि तेस्रो बलमा उनी ५७ रनमा रन आउट भए। दुबै सेट ब्याट्सम्यान आउट भएपछि न्युजिल्याण्ड दबाबमा पर्यो। उसलाई अब जितका लागि तीन बलमा तीन रनको आवश्यकता थियो। त्यसपछि चौथो बलमा एक रन बनाएको न्युजिल्याण्डले पाँचौं बलमा ड्यारी मिचेललाई गुमाउन पुग्यो। अन्तिम बलमा जितका लागि दुई रन आवश्यक हुँदा न्युजिल्याण्डले एक रनमात्रै जोड्न सक्यो। अन्तिम बलमा दोस्रो रनको लागि दौडेका मिचेल स्यान्टनर आउट भएका थिए। त्यसपछि खेल सुपर ओभरमा धकेलिएको थियो। न्युजिल्याण्का लागि कोलिन मुन्रोले सर्वाधिक ६४ रन बनाए। भारतका सार्दुल ठाकुरले दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले मनिस पाण्डेको अविजित ५० रनको मद्दतमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। यस्तै केएल राहुलले ३९ तथा सार्दुल ठाकुरले २० रन बनाउँदा कप्तान विराट कोहली ११ रनमा आउट भए। न्युजिल्याण्डका सोधिले तीन तथा हमिश बेनेटले दुई विकेट लिए।
पाँचौं तथा अन्तिम टी-ट्वान्टी खेल आइतबार हुने छ।