मंगलबार, जेठ १३, २०७७

संवाद

'मध्यम वर्गले सत्य बोलेमा सामाजिक र राजनीतिक पतन रोकिन्छ'

लेखक निर्मल वर्मासँगको दुई दशक पुरानो सम्वाद जुन आज पनि सान्दर्भिक छ

1586004143nirmal_verma.jpg

साहित्यकार निर्मल बर्माको साेचाइ परम्परागत साहित्यकारभन्दा फरक थियो। उनी सामाजिक, सांस्कृतिक र राजनीतिक मुद्दामा सजग रचनाकार थिए। मूर्तिदेवी पुरस्कार, साहित्य अकादमी पुरस्कार, ज्ञानपीठ पुरस्कारजस्ता प्रतिष्ठित पुरस्कार प्राप्त बर्माका अन्तर्वार्तासमेत विशिष्ट मानिन्छन्। उनका अन्तर्वाताको संग्रह (मेरे साक्षात्कार सिरिज) नै प्रकाशित छ। दुई दशक पुरानो साक्षात्कारमा भारतीय साहित्यकार निर्मल बर्माले समाजका चुनौतीबारे जुन कुरा गरेका थिए, त्यो आज हाम्रा लागि पनि सान्दर्भिक छ।

प्रस्तुत छ, उनको सोही अन्तर्वार्ता :


आजको सामाजिक–राजनीतिक परिदृश्यमा तपाईंको विचार के हो?

सामाजिक र सार्वजनिक जीवनमा पतन र राजनीतिमा अवसरवादले स्थान बनाएको छ। पहिले भ्रष्टाचारलाई असाधारण दोष मानिन्थ्यो। पछि लोकतन्त्रमा त भ्रष्टाचार हुन्छ नै भन्न थालियो।

लोकतन्त्रको मर्यादा भंग गर्ने चिजलाई लोकतन्त्रको अंश मान्न थालिन्छ भने यो हाम्रो समाज र व्यक्तित्वमा आएको पतन हो ।

मलाई लाग्छ, यो जड स्थितिबाट हामीलाई मध्यम वर्गले नै पार लगाउँछ। स्वतन्त्र भारतमा हामी कुनै वर्गप्रति आस्था राख्छौं भने त्यो मध्यम वर्ग नै हो।

यो वर्गले साहस गरेर सत्यलाई सत्य भन्न सक्यो भने हाम्रो सार्वजनिक जीवनको पतन र राजनीतिक जीवनमा आएको अवसरवादबाट छुटकारा पाउन सक्छौं।

समाज खराब परिस्थितिमा बाँचिरहेको छ। कतै कुनै सकारात्मक हलचल देखिँदैन। लाग्छ हामीले गल्ती गरिसक्यौं। यस्तो किन?

यसको प्रमुख कारण हो, हामीभित्र यथास्थितिलाई स्वीकार गर्ने प्रवृत्ति विकास हुनु। यो परिवर्तनले ठूलो अर्थ राख्छ। यसै कारण अचेल विरोध या संघर्ष चेतनाको स्तरमा नभएर शक्तिको स्तरमा हुँदै छ।

परिवर्तनको आकांक्षा सत्ता वा शक्तिका लागि हुन थाल्यो भने जुन खालको नैतिक आन्दोलन जयप्रकाशजी वा गान्धीजीले गर्नुभएको थियो, त्यो असम्भव हुन्छ।

यहाँ त स्थिति कस्तो छ भने कुनै मुद्दा उठायो र त्यसलाई आफू सत्तामा पुग्ने प्रक्रियाको माध्यम बनायो। जनताको हितको कुरा हुँदैन। हरेक कमजाेरी र न्यूनतालाई निजी स्वार्थ पोषणका लागि भजाइन्छ।

यस्तोमा साहित्यबाट कुनै आशा? के साहित्यले सामूहिक लक्ष्य प्राप्तिका लागि हाम्रो चेतनालाई संगठित गर्न सक्छ?

साहित्यले चेतनालाई संगठित गर्दैन। साहित्यले त ती मूल्यप्रति सचेत गराउनसम्म सक्छ, जसले साहित्य र सत्ताको ढाँचाका बीच एउटा सन्तुलन बनाएर राख्छ। उदाहरणका लागि अभिव्यक्ति स्वतन्त्रताको एउटा मूल्य छ। हाम्रो संविधानले यसलाई स्वीकार गरेको छ।

साहित्यमा स्वतन्त्रता महत्त्वपूर्ण हुन्छ। तर जुन शब्दले हाम्रो जीवनको वास्तविकतालाई प्रतिध्वनित गर्छ, त्यो शब्द बोल्ने विवेक छैन भने यो स्वतन्त्रताले पनि कुनै अर्थ राख्दैन।

यस दृष्टिकोणले हेर्दा एउटा साहित्यकारले त्यो अन्तराल वा स्पेसतर्फ हाम्रो ध्यान आकृष्ट गराउँछ जुन मौखिक र औपचारिक रुपमा उपलब्ध छ तर, हाम्रो जीवनमा कार्यान्वयन भइरहेको छैन। एउटा लेखकले मानिसको चेतनामा विकसित हुने विभेदको खाडलबारे बारम्बार सचेत गराइरहनुपर्छ।

तपाईं यी समस्याको समाधान मध्यम वर्गमा देख्नुहुन्छ, तर आफ्नै अस्तित्वको संघर्षमा दिनरात लागिरहेको वर्गबाट यो सम्भव छ?

मध्यमवर्गको उत्पत्ति मध्य शब्दबाट भयो। त्यो वर्ग जो दुई 'एक्सट्रिम' बीचको वर्ग हो। सामान्य रुपमा हेर्दा यो वर्गमा पढेलेखेका, प्रोफेसनलहरु हुन्छन्। सजग र जागरुक वर्ग यही हो। राष्ट्रिय आन्दोलनका बेला यो वर्गकै माध्यमबाट चेतनाको प्रसार भयो।

आजका राजनीतिक पार्टीलाई हेर्ने हो भने पनि सक्रिय रुपमा काम गर्ने अधिकांश मध्यम वर्गकै छन्। डाक्टर, पत्रकार, लेखक, शिक्षक, इन्जिनियर जस्ता बुद्धिजीवी जसलाई हामी इन्टेलेजेन्सिया भन्छौं यही वर्गबाट आएका हुन्।

यही वर्गका माध्यमबाट धेरै हदसम्म हाम्रा जनताले आफ्ना आवश्यकता, पीडा र सीमा अभिव्यक्त गर्छन्। पत्रकारहरु आममानिसको बोली बोल्छन्। अभिव्यक्त गर्ने क्षमता निकै महत्त्वपूर्ण हो।

जबसम्म हामी आफ्नो कुरा कसैसम्म पुर्याउँदैनौं, हाम्रो समस्या उसले कसरी थाहा पाओस्। मिडिया, पत्रकार, लेखकले हाम्रा समस्या अरुसामु प्रत्यक्ष गराउँछन्। सामान्यतया साहु, राजनीतिक र उद्योगपतिले उनीहरुलाई आफ्ना सुविधा सुरक्षित गराउन खरिद गर्न खोज्छन्।

यसको मतलब आज मध्यम वर्गसामु निकै ठूलो चुनौती छ हो?

हो, मध्यम वर्गसामु आफ्नो नैतिक दायित्व बुझ्ने र प्रलोभनमा नपर्ने चुनौती छ। आफ्नो स्थितिका कारण मध्यम वर्गले यस्तो गर्न सक्छ। ऊ कसैको मोहबाट आफूलाई माथि उठाउँछ भने निश्चय पनि ऊ डुब्दै गरेको समाजको उद्धारक साबित हुनेछ।

तर के यो चुनौतीबीच मध्यम वर्गको पारम्परिक बुनोट उच्च–मध्यम वर्गबाट प्रभावित भइरहेको छ?

भारतमा हालका वर्षमा उच्च मध्यम वर्ग तीव्र रुपमा फैलिरहेको छ। यसको जरा मध्यम वर्गमै भए पनि यसका हाँगाले उच्च वर्ग वा अभिजात्य वर्गका संस्कारलाई अपनाउँदै छ।

यहाँ ती सबै सुखसुविधा सुलभ छन् जो उच्च वर्ग वा पश्चिमी मध्य वर्गका मूलभूत आवश्यकता हुन्। यो वर्गले ती सबै सुविधालाई आत्मसात् गर्दै छ। त्योभन्दा पनि व्यक्तिवाद, अवसरवाद, लाभका लागि सम्झौता गर्ने जस्ता उच्च र अभिजात्य वर्गका दुर्गुणलाई आत्मसात् गर्दै छ।

उच्च मध्यम वर्गका यिनै गुण, यिनै प्रवृत्ति आज संक्रामक रुपमा मध्यम वर्गीय समाजमा पनि फैलँदो छ। यसै कारण ऊ उच्च मध्यम वर्गमा सामेल हुने होडमा सम्झौता गरिरहेको छ। प्रलोभनमा परेर आममानिसबाट आफूलाई अलग बनाउँदै छ, यो उचित होइन।

हामीकहाँ सामूहिकतालाई महत्त्व दिइन्छ । कुटुम्ब र परिवारमा रहने परम्परा छ। हामी व्यक्तिवादी होइनौं, तर उच्च मध्यम वर्गको प्रभावमा हाम्रा यी संस्कार धूमिल हुँदै छन्।

(सत्याग्रहमा प्रकाशित यो अन्तर्वार्ता हिन्दीबाट अनुवाद गरिएको हो।)

 

प्रतिक्रिया दिनुहोस्