काठमाडौं- प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।
आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।
यस अवसरमा धार्मिक नगरी जनकपुरका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ भइरहेको छ ।
विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् ।
सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।
आजबाट वसन्त ऋतु प्रारम्भ
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । यसै यामदेखि वन ढकमक्क हुन्छ ।
प्राकृतिक रुपमै रमाइलो वातावरणको अनुभव हुन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।
वसन्त श्रवण
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहीबार बिहान ९:०५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्ने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका मिठाराम पुडासैनीले जानकारी दिए ।
वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको उहाँले बताउनुभयो ।