काठमाडौं– नेपाली कांग्रेसले कमण्लु लिएर उपसभामुख नमाग्ने टिप्पणी गरेको छ। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफूहरु कमण्डलु लिएर उपसभामुख नमाग्ने दाबी गरेका हुन्।
उपसभामुख पाउने उद्देश्यले सभामुखमा उम्मेदवारी नदिएको कुरा गलत भएको रिजालले बताएका छन्। उनले संविधानमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्थाबारे चर्चा गर्दै उपसभामुख कसलाई दिने भन्ने विषय नेकपाको विवेकमा रहेको बताए।
‘सरकार संसदप्रति सधैँ उत्तरदायी हुनुपर्छ भन्ने मूल्यमान्यता बुझेको मान्छे सभामुख हुनुपर्छ भन्ने कांग्रेसको धारण हो। सभामुख छान्दै गर्दा हिजो यही पदमा आसिन मान्छे जेल गएको कुरा पनि कसले भुल्नु हुँदैन। अग्निप्रसाद सापकोटाले आफूमाथि आम मानिसले गरेको आशंका दूर गर्न सक्नुपर्छ। यदि त्यस्तो आशंका दूर गर्न सके हाम्रो साथ सहयोग रहन्छ । नत्र भने विचार गर्नुपर्ने अवस्था आउन सक्छ,’ रिजालले भने।