काठमाडौं– झन्डै तीन सातायता उतारचढाव देखिएको सुनको मूल्य पुनः बढ्न थालेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो पाँच दिनमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको छ।
गत बुधबार प्रतितोला ७४ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन निरन्तर बढ्दै आइतबार ७५ हजार पाँच सय रूपैयाँ पुगेको छ।
महासंघका अनुसार बिहीबार प्रतितोला ७५ हजार रूपैयाँ कायम भएको छापावाल सुन शुक्रबार ७५ हजार दुई सयमा किनबेच भएको थियो।
त्यसअघि गत पुस २३ गते छापावाल सुन प्रतितोला ७६ हजार पाँच सय रूपैयाँ कारोवार भएको थियो। त्यसयता दुई दिन निरन्तर घटेको सुनको भाउ पुस २५ गते प्रतितोला ७४ हजार ६ सय रूपैयाँ पुगेको थियो। त्यसको पर्सीपल्ट (पुस २७) पुनः चार सय रूपैयाँ बढेको सुनको भाउ पुस २८ गते ७४ हजार आठ सय र पुस २९ गते ७४ हजार रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
माघमा पनि सुनको मूल्यमा उतारचढाव देखियो। माघ १ गते छापावाल सुन प्रतितोला सात सय बढेर ७४ हजार सात सय रूपैयाँ कायम भएको थियो। त्यसको दुई दिनपछि (माघ ३) सुनको मूल्य एक सय बढेको थियो।
यस्तै, माघ ५ गते पुनः दुई सय रूपैयाँ बढेर ७५ हजार रूपैयाँ कायम भएको सुन पुस ७ गते ७५ हजार तीन सय रूपैयाँमा कारोबार भएका महासंघले जनाएको छ।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागे पनि अहिले पुनः उकालो लागेको महासंघले जनाएको छ।