काठमाडौं- तीन महिनाअघि अमेरिका गएर सम्पर्क विहीनजस्तै भएकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दान्ता नेपालीले आफू अमेरिकामा बिरामी परेको बताएकी छन् ।
१ कात्तिकमा अमेरिका उडेकी उनको ७ नोभेम्बर (२१ कात्तिक) मा फर्कने टिकट थियो। तर, लामो समय नफर्किएकी उनले फेसबुक अकाउण्ट समेत डिएक्टिभ गरेपछि उनी उतै लुकेर बसिन् कि भन्ने आशंका गरिएको थियो ।
तर, उपमेयर नेपालीले भर्खरै फेसबुक स्टाटस लेख्दै आफू नहराएको तर, अमेरिकामा बिरामी परेको उल्लेख गरेकी छन्।
‘म आराम छैन। तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ। ओरालो लागेको मृगलाई सबैले खेद्छ्न् भन्थे हो रहेछ । आज आएर बुझ्दै छु।’ उपमेयर नेपालीले लेखेकी छिन्,‘म हराएको पनि छैन। म कतै लुकेको पनि छैन। म मेयर रत्न शाहीलाई जानकारी नदिएर पनि आएको होइन। उहाँले नै भ्रमण स्वीकृत गरेर आएकी हुँ।’
उनले अमेरिकाबाट मेयर शाहीलाई पटक-पटक फोन गर्दा नउठेको तर, प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाल र वडाध्यक्षहरुसँग कुरा भएको दाबी गरेकी छन्।
आफू बिरामी पर्दा नगरपालिकाले सहयोग नगरेको पनि उनको गुनासो छ। उनले लेखेकी छन्, 'मैले पनि बार–बार माग्नेजस्तो कति चोटि कल गर्नु। बार-बार भिख मागिन। मैले सोचें, म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन, माग्दिन।’
उनको बारेमा प्रकाशित समाचारप्रति पनि उपमेयर नेपालीले आक्रोश व्यक्त गरेकी छन्। 'अब मेरो समाचार बनाउँदै पेट पाल्नेहरुलाई मेरो भन्नु केही छैन र मेरो स्वास्थ भन्दा ठूलो केही छैन। मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला । मलाई Responsibility बारेमा राम्रोसँग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ।'
उपमेयर नेपालीले अहिले आफू राम्रोसँग बोल्न पनि नसक्ने अवस्थामा रहेको र भारतीय चिकित्सक डा. अञ्जीर कुमारबाट उपचार गराइरहेको भन्दै पूर्ण रुपमा निको हुन अझै ५ महिना लाग्ने बताएकी छन्।
आफ्नो बिराम के हो भन्नेबारेमा भने उनले खुलाएकी छैनन्।
उनले फेसबुकमा स्टेटस लेख्नमा 'उषा कुमाई'ले सहयोग गरेको उल्लेख गरेकी छन्।
यो पनि पढ्नुहोस्: