काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा न्युरोड टिमले उपाधि दावेदार त्रिभुवन आर्मी क्लबको समाना गर्नुपर्ने छ।
आजको खेलमा जित निकाल्दै आर्मी अन्य क्लबसँग अंकदुरी बढाउने दाउमा हुने छ। १६ अंकका साथ शीर्ष स्थानमा रहेको आर्मीलाई मछिन्द्र र मनाङले समान अंकका साथ पच्छ्याइरहेका छन्। आर्मीले जित निकालेको खण्डमा ३ अंकको अग्रता बनाउने छ।
उता, गत संस्करणमा पुछारमा रहेको न्युरोड टिमले प्रदर्शनमा सुधार गर्दै चार खेल जितिसकेको छ। एक बराबरी र दुई हारको सामना गरेको एनआरटी आजको खेलबाट पाँचौ जितको खोजीमा हुने छ। खेल १२ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ।
दोस्रो खेलमा फ्रेण्ड्स क्लबले संकटा क्लबको सामना गर्ने छ। अंक तालिकामा नवौं स्थानमा रहेको संकटा र ११ स्थानको फ्रेण्डस् क्लब आपसमा राम्रा प्रतिद्वन्द्वी हुन्। दुई जितको निकालिसकेका दुवै टोली आजको खेलबाट तेस्रो जित निकाल्ने दाउमा छन्।
फ्रेण्डस् क्लब आफ्नो खातामा तीन अंक थप्दै आठौं स्थानमा उक्लन चाहन्छ भने संकटा क्लबले जित निकालेमा छैटौं स्थानमा उक्लने छ। तर, संकटाले दुई भन्दा धेरै गोल अन्तरले जित निकालेको खण्डमा भने अंक तालिकाको पाँचौं स्थानसम्म जान सक्छ। खेल ३ बजे दशरथ रंगशालामा हुने छ।