काठमाडौं- नेपाली कांग्रेसभित्र महिनौँदेखि जारी आन्तरिक विवाद साम्य भएको छ। शुक्रबार दिनभर बसेको शीर्ष नेताहरुको बैठकले सहमति जुटाएको हो।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरु, महामन्त्रीहरु तथा पूर्व महामन्त्रीहरु सहभागी थिए।
बैठकमा संस्थापन इतर पक्षले विरोध गर्दै आएको केन्द्रीय विभागहरु बढाउने विषय, नेपाल विद्यार्थी संघमा तदर्थ समिति बनाउने र तरुण दलको म्याद थप गर्ने विषयमा सहमति जुटेको छ।
सबै विषयमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा गराएको बहुमतको निर्णयअनुसार नै सहमति जुटे पनि असन्तुष्ट समूहका मागलाई त्यसैमा समेटिने भएको छ।
स्रोतका अनुसार केन्द्रीय विभाग ४७ वटै रहनेछन् तर विभागको नेतृत्वमा भने भागवण्डा हुने भएको छ।
त्यस्तै महाधिवेशनको म्याद यसअघि केन्द्रीय कार्य समितिले निर्णय गरेबमोजिम आगामी २०७७ को फागुनमा हुनेछ।
भ्रातृ संगठन नेविसंघको तदर्थ समितिमा पनि सभापति देउवाले नै सभापति मनोनित गर्नेछन् भने अन्य पदहरुमा भागबण्डा गर्ने सहमति जुटेको छ।
त्यस्तै नेपाल तरुण दलको म्याद ६ महिना थप गरिने भएको छ।
अन्य विवादित विषयहरु पनि टुंगिसकेको र यी विषयहरुमा आगामी सोमबार बस्ने केन्द्रीय कार्य समिति बैठकबाट निर्णय गराईने भएको छ।
त्यसका लागि सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।