काठमाडौं– १२खरी बुक्सले दोस्रो ‘बाह्रखरी कथा प्रतियोगिता’ को घोषणा गरेको छ।
आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर १२ खरीले प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरेको हो।
प्राप्त भएका कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक मण्डललाई उपलब्ध गराउने बताइएको छ।
ती कथामध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा २०७७’ पुस्तकका लागि २५ वटा छान्नेछन् र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ।
प्रतियोगिताको निर्णायकहरुमा पत्रकार तथा साहित्यकार नारायण वाग्ले, उपन्यासकार अमर न्यौपाने र गत वर्षको प्रतियोगिताकी विजेता बिना थिङ तामाङ छन्।
प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे कथालाई क्रमश: एक लाख, ६० हजार र ४० हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ।
प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आगामी फागुन १० गतेभित्र ‘बाह्रखरी कथा’ को इमेल ठेगानामा पठाइसक्नुपर्ने जनाइएको छ।
कथा प्रतियोगिताको नतिजा २०७७ वैशाख १२ गते सार्वजनिक गरिने सोही दिन ‘उत्कृष्ट कथा– २०७७’ को लोकार्पणसमेत हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
गत वर्ष करिब ९ सय वटा कथा प्राप्त भएकोमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ पहिलाे, लक्ष्मण वियोगीको ‘टाउको’ दाेस्राे
र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तेस्राे भएको थियो।