कास्की- अन्नपूर्ण क्षेत्रकाे हिमपहिरोमा परेर बेपत्ता भएका तीन नेपाली र चार कोरियन सातै जनाको मृत्यु भएको आशंका गरिएको छ।
बाक्लो हिउँ र पहिरोसँगै खसेको ढिस्कोका कारण बेपत्ता सबैको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। अहिले पनि बाक्लो हिउँ र अत्यधिक चिसो भएका कारण खोजी गर्न नसकेपछि उद्धार टोली नै फर्किएको छ ।
बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार वेपत्ता भएकाहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो। कोरियन रेस्क्यू टिम गत सोमबारदेखि परिचालन भएको थियो ।
उद्धारकर्तालाई समस्या पर्ने भन्दै बिहीबार पर्यटन विभागले विज्ञप्ति निकालेर हिउँ पग्लने बेलासम्मको लागि उद्धार कार्य स्थगित गर्न आग्रह गरेको थियो ।
अन्नपूर्ण बेसक्याम्प नजिकैको पदमार्गमा गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परेर तीन नेपाली र चार कोरियन नागरिक वेपत्ता भएका थिए ।
नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोन बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ।