काठमाडौं– राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा सुर्ती/सुर्तीजन्य पदार्थको आयात ह्वात्तै बढेको छ।
पछिल्लो पाँच महिना (साउन–मंसिर)मा नेपालले भारतबाट एक अर्ब ४ करोड रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ४६ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा ७१ करोड ५० लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात भएको थियो।
त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो चार महिना (साउन–कात्तिक) मा सुर्तीजन्य पदार्थको आयात ७०.२ प्रतिशतले बढेको थियो । यसअवधिमा ८९ करोड ४० लाख रुपैयाँ बराबरको सुर्तीजन्य पदार्थ आयात भएको थियो । गत आर्थिक वर्षको यसै अवधिमा ५२ करोड ५० लाख रुपैयाँ बराबरको मात्र आयात भएको थियो।
नेपालमा चुरोट, तयारी सुर्ती र गुट्खा लगायत उत्पादनमा सुर्तीको खपत हुन्छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई सुर्तीजन्य पदार्थको आयात किन बढ्यो भन्ने बारेमा अध्ययन नगरिएकाले आफूलाई थाहा नभएको बताउँछन्।
उनीहरुका अनुसार कुल आयातमा सुर्तीको हिस्सा निकै कम हुने भएकाले पनि यसबारे सरकारी निकायको ध्यान नपुगेको हो।
तर, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका उपसचिव कृष्णराज बजगाईं भने गत आर्थिक वर्षमा त्यसअघि नै आयात गरिएको सुर्ती/सुर्तीजन्य पदार्थको स्टक बाँकी रहँदा आयात कम देखिएको दाबी गर्छन्।
यद्यपि, गएका वर्षहरुको तथ्यांक हेर्दा स्टक नै बाँकी रहने गरी ठूलो मात्रामा आयात भएको चाहिँ देखिंदैन।
चुरोट उत्पादक सूर्य नेपालका प्रवन्ध निर्देशक रवि केसी भने सुर्ती आयात बढेको बारे आफूले विश्लेषण नगरेको तर, सूर्य नेपालबाट उत्पादित चुरोटको खपत पछिल्ला केही महिनामा करिब पाँच प्रतिशतले कम भएको बताउँछन्।
पाँच वर्षमा सुर्तीजन्य पदार्थ आयात रुपैयाँमा
२०७१/७२– २ अर्ब ३ करोड ७० लाख
२०७२/७३– २ अर्ब ७६ करोड ५० लाख
२०७३/७४– २ अर्ब ८० करोड ५० लाख
२०७४/७५– २ अर्ब ६४ करोड
२०७५/७६– २ अर्ब ३५ करोड ५० लाख
२०७६/७७ को पहिलो पाँच महिनासम्म– १ अर्ब ४ करोड रुपैयाँ