मंगलबार, जेठ १३, २०७७

ब्लग विशेष

कोरोना भाइरसपछि आउने बहारको पर्खाइ

1585491210spring_2.jpg

जेठको तातो मध्याह्नमा अमलतासको पहेंलो झालरसँग दोहोरी चल्दै गर्दा सायद कोरोनाले हार मानिसकेको हुनेछ। प्रकृतिको शृंगार त्यसबेला झनै जरुरी हुनेछ।

तपाईंले अनुभूत गर्नुभएकै होला, कोरोना भाइरसको विलापले वसन्तको उन्मुक्त हाँसो लुकाइदिएको छ। यद्यपि, तमाम अनिश्चितता र त्रासका बीच वसन्तको उन्मुक्तता जारी छ।

बगैंचामा गुलाब र बेली फुलेकै छन्। कोइरालोका शाखामा संसारभरिको रंग जमेको छ र सिमलका रुखमा ठूल्ठूला राता कचौराजस्ता फूल झुन्डिएका छन्। पतझडमा झर्दाझर्दै पातहरुले कोपिलाका कानमा फक्रने मन्त्र जो फुकिदिएका थिए।

यता गर्मी चढ्दै छ, उता सिमलका फूलमा यौवन बढ्दै छ। यी फूलमा बन्द परागलाई चुम्दै भँवरा र माहुरी मदमस्त छन्। फेरि पनि प्रकृति उनीहरुलाई रसपानको निम्तो दिनबाट कहाँ थाक्छ र?

आँगनको दसहरी आँपको अग्लो रुख आफ्ना माहुरसँगै दिनभर झुमिराख्छ। छेउको मालदहमा बहार केही कम छ। तर पनि कोइली उसका पातमा लुकेर कुहुकुहु गरिरहँदा ऊ गर्वले तन्किएको छ। अगाडिको किम्बुको रुखले हरियो पछ्यौरी ओढेको छ।

नजाने प्रकृतिले कस्तो फिल्टर हालिदिएको हो, इन्स्टाग्रामको मेफेयर–लुडबिग जस्ता तमाम फिल्टर पनि हल्का लाग्छन्। बस, केही दिनको कुरा हो, फेरि रसिला किम्बुमा पनि माहुरीदेखि बस्तीका बालबालिकाले धावा बोल्नेछन्।

अचेल बबुलका नाजुक पात हेर्नुभएको छ? यत्ति सानासाना पात छन् तर हाँगामा यसरी लपेटिएका छन्- यस्तो लाग्छ प्रकृतिले तिनको मरोड खोल्न दैनिक ज्यालादारीको ठेक्का लिएको छ। तपाईं तराईमा हुनुहुन्छ र बबुलको हाँगामा उत्रेको यौवन देख्नुभएको छैन भने बहार देख्नुभएकै छैन।

भित्री मधेसदेखि दक्षिणतिर पलाँस रातै हुँदै गर्दा महुवा किन पछि परोस्? कश्मीरी गाइड एवं ड्राइभर फैजल गह्रौं आवाजमा भन्छन्– तमाम विपत्ति र समस्याबाट गुज्रिरहेको कश्मीर उपत्यकामा पनि सुन्दर मौसमको आगमन भएको छ।

बहार आउन कहिले अस्वीकार गर्छ र! त्यो त बिस्तारै आरु, नास्पाती, स्ट्रबेरीदेखि गुलाब, डेजी, थाइम, एडलवाइसजस्ता फूलहरुमा नाचिरहेको छ।

श्रीनगरदेखि अफगानिस्तानसम्म र इरानदेखि नेदरल्यान्डस् सम्म ट्युलिपमा यौवन आएको छ। कश्मीरमा जबरवानदेखि इरानमा जगरोससम्मका पहाडमा जंगली ट्युलिप रंगीन हुँदै छन्।

परिस्थिति केही फरक भैदिएको भए मानिसहरुको सिलसिला पनि यी स्थानमा हुन्थ्यो, तर अहिले त बहारहरुको दृश्यमा निर्जन मात्रै छ।

गाउँबाट हजुरआमाको सन्देश आएको छ, गुराँसले परिवेश रंगाउन सुरु गर्यो रे। हजुरआमाको बगैंचामा काफल, कागती, आलुबखडाजस्ता फलफूलले चहलपहल ल्याउन खोज्दै छन्।

थाहा छ, मेघालयदेखि न्युयोर्क, क्यानडा, ब्राजिल, जर्मनी, टर्की, स्पेन, अस्ट्रेलिया र टोक्योलाई एउटै मालामा कसले उन्छ? चेरी ब्लसम (साकुरा) ले।

जापानमा काम गर्ने साथीले लामो सास तानेर भन्छे, जापानमा यस वर्ष कोरोना भाइरसको त्रासको बीच ‘हानामी’ उत्सव मनाइएन। तर चेरीका हाँगामा निकै बहार छ। जापानको एक हजार वर्ष पुरानो हानामी परम्परामा चेरीको बगैंचामा खानपिन, पार्टी र पिकनिक मनाउने गरिन्छ।

हानामी अर्थात् साकुरामा लागेका फूल हेरेर रमाउने उत्सव। रात हुँदै गर्दा साकुराको रुख बिजुलीले झिलिमिली पारेर परिवेश रोमाञ्चक बनाइन्छ। जापानमा हानामीलाई यो रातमा योजाकुरा भनिन्छ।

खैर, अहिले गुलमोहर चुपचाप उभिएको छ, उसको काँधमा अरु पनि जिम्मेवारी छ। बहारको पहिलो भाग थाकेपछि सिन्दूरी र पहेंलो गुलमोहरले परिवेश झकमक्क पार्नेछ।

जेठको तातो मध्याह्नमा अमलतासका पहेंला झालरसँग गुलमोहरको दोहोरी चल्नेछ। सायद कोरोनाले तबसम्म हार मानिसकेको हुनेछ। त्यसबेला प्रकृतिको शृंगार झन् जरुरी हुनेछ।

(ट्राभल ब्लगर कौशिकको दि प्रिन्टमा प्रकाशित यो लेख भावानुवाद गरिएको हो।)



प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप