मोरङ– मोरङको मिक्लाजुङमा आइतबार राति तीन एक्सकाभेटरमा आगजनी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी लोकदर्शन थापाका अनुसार मिक्लाजुङ गाउँपालिका–१, बाँझफिट्टेमा शर्मा भीमेश्वर जेभी कम्पनीका को१क ३०३० र नम्बर प्लेट नभएका दुई एक्सकाभेटरमा आगजनी गरिएको छ।
ती एक्सकाभेटर मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएको बुझिएको छ।
आगजनीबाट एक्सकाभेटरका सिट जलेको र त्यसको अगाडिको भागमा समेत सामान्य क्षति पुगेको उनले बताए। “आगजनीको क्षतिबारे प्राविधिक प्रतिवेदनपछि मात्रै जानकारी हुन्छ,” उनले भने।
आगजनी कसले गराएको भन्ने विषयमा केही नखुलेको डीएसपी थापाले बताए।
शंकास्पद वस्तु फेला
आगजनी गरिएको स्थानमा शंकास्पद वस्तु फेला परेको छ।
शंकास्पद वस्तु डिस्पोजका लागि टोली पठाइएको डीएसपी थापाले जानकारी दिए। सदरमुकामबाट घटनास्थल पुग्न ५–६ घन्टा समय लाग्ने भएकाले टोली पुगिनसकेको उनले बताए।