सिन्धुपाल्चोक- जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाह्रबिसे बजार क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।
आइतबार राति जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएको हो।
समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिएको छ।
बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै निषेधाज्ञा जारी गरिएको थियो ।
नगरपालिकाले सडक साँघुरो हुने गरी वर्षौंदेखि सडक मिचेर दायाँबायाँ बनाएको घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियो ।
सूचनालाई अटेर गरेपछि नगरपालिकाले शुक्रबार डोजर प्रयोग गरी घर टहरा भत्काएपछि समान्य झडप समेत भएको थियो । झडपपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।