सोमबार, जेठ १९, २०७७

विशेष

महामारीले क्षतिमात्र गर्दैन, आमूल परिवर्तन पनि ल्याउन सक्छ

महामारीले जन्मायाे न्युटन र शेक्सपियर

1585287183flu.jpg
तस्बिर साभारः हिस्ट्री डटकम।

महामारीले ठूलो जनधनको क्षति मात्र गरेको छैन, केही नयाँ आविष्कार, सामाजिक परिवर्तन र प्रतिभाशाली व्यक्तिलाई समेत जन्म दिएको इतिहास छ। हरेक महामारीले युरोपलाई बाँकी राखेको छैन, इटाली त पटकपटक तारो बन्दै आएको छ।

यतिबेला कोरोना भाइरस महामारीका रुपमा फैलिएको छ। मानव समुदाय भयभीत छ। विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ।
मानव जातिका लागि यस्ता महामारी नौला भने होइनन्। हरेक पटक त्यस्ता महामारी निन्त्रण गर्न मान्छेले गरेका अनुसन्धानबाट प्राप्त उपलब्धिले धेरै पाठ सिकाएको छ। यस्ता महामारीले विश्वमा आमूल परिवर्तन मात्र ल्याएको छैन, केही प्रतिभाशाली व्यक्तिहरु पनि छाडेर गएको छ।

रोमन सैन्य दस्ता धराशयी पार्ने प्लेग

युरोपमा सन् १६५–१८० मा फैलिएको एन्टोनी प्लेग महामारीले दैनिक दुई हजारको ज्यान गएको थियो। यो महामारी इराक कब्जा गरी रोम फर्कंदा रोमका लिज्नाएर सैनिकले सँगै लगेको विश्वास गरिन्छ। सुरुमा दादुरा र पानीसरा आएपछि महामारीको रूप लिएको थियो।

महामारीका कारण रोमन सैन्य दस्ता धराशयी भयो। बिस्तारै इसाई धर्मको प्रचारप्रसारमा मद्दत पुग्यो। रोमन साम्राजको पतन गर्न यसको ठूलो भूमिका रहेको इतिहासकारहरु बताउँछन्।

महामारी नियन्त्रणमा अहिलेजस्तो उपचार पद्धतिको विकास नभइसकेकाले धेरै शताब्दीसम्म यसको प्रकोप फैलिएको थियो। महामारीबारे मानिसलाई पहिलोपटक जानकारी प्राप्त भएको घटना त्यही थियो।

युरोपको एकतिहाइ जनसंख्या सखाप पार्ने ब्ल्याक डेथ

सन् १३४७ देखि १३५१ सम्म युरोपभर फैलिएको यो महामारीलाई ब्युबोनिक प्लेग पनि भनिन्छ। यो महामारीले युरोपभर ५ करोडभन्दा बढीको ज्यान लिएको थियो।

हाल इटालीमा पर्ने जेनोवाका व्यापारीले व्यापारकै सिलसिलामा एसियाका विभिन्न सहरमा जाँदा त्यहाँबाट यो डरलाग्दो रोग लिएर फर्किएका थिए। महामारी सत्रौं शताब्दीसम्म फाट्टफुट्ट देखापरेको इतिहास छ।

भनिन्छ, ब्ल्याक डेथले मृत्यु भएका मानिसको कपडाबाट कागजजस्तो छाप्न मिल्ने कपडा बनाएर जर्मन नागरिक गुटेन बर्ग (जीवनकाल १४००–१४६८) ले बनाएको प्रिन्टिङ प्रेसले आमसञ्चारमा ठूलो क्रान्ति ल्यायो। 

छापाखानाको आविष्कारपछि एउटै पुस्तक एउटा–दुईटा होइन, हजारौं प्रति छपिन थाल्यो। ज्ञान र सूचनाको प्रसारणसँगै युरोपभर चलिरहेको पुनर्जागरण अर्थात् रिनासाको अभियानलाई तीव्रता दियो। मानिसमा वैज्ञानिक चेतना वृद्धि भयो।

महामारीले जन्मायाे न्युटन र शेक्सपियर

ब्ल्याक डेथका कारण इटालीमा धेरै मानिसको ज्यान गएको थियो। इटालीपछि फ्रान्स, उत्तर अफ्रिका, स्पेन, अस्ट्रिया, हंगेरी, स्विजरल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स हुँदै यो महामारी सन् १३४९ मा बेलायत पसेको थियो।

महामारी फैलिएपछि धेरै शिक्षण संस्था अनिश्चित समयका लागि बन्द गरी छात्रछात्रालाई घरमै राखिएको थियो। केही प्रतिभाशाली मान्छे घरमै देखापरे, जसले संसारलाई ठूलो योगदान दिएका छन्।

तीमध्ये एक थिए– सर आइज्याक न्युटन (जीवनकाल जनवरी ४, १६४३–मार्च ३१, १७२७)। फुर्सदमा बगैंचातिर बरालिँदा स्याउको बोटबाट दाना खसेर न्युटनको थाप्लामा ठोकिन पुगेछ।

कसैले झट्टी हान्यो भनेर चारैतिर हेर्दा कतै पनि कोही नदेखेपछि उनलाई त्यो स्याउ किन तल खस्यो ? किन माथि गएन भनेर जिज्ञासा चलेछ। खोज्दैबुझ्दै जाँदा न्युटनले ब्रह्माण्डमा भएका हरेक पिण्डमा आकर्षण शक्ति भएको र त्यो शक्ति गुरुत्वाकर्षण शक्ति भएको पत्ता लगाए।

केही शताब्दी लम्बिएको त्यस महामारीकै बेला बेलायतका महान् नाटककार विलियम सेक्सपियर (अप्रिल १५६४–अप्रिल १६१६) ले घरै बसेर सयौं कविता र दर्जनौं कालजयी नाटक रचना गरे। उनी अंग्रेजी भाषाका कवि एवम् नाटककार विश्वविख्यात साहित्यकारको सूचीमा अग्रणी छन्।

यतिमात्र होइन, महामारीपछि युरोपको जीवनशैलीमा आमूल परिवर्तन आएको थियो। इतिहासविद् चाल्र्स भ्यान डोरन भन्छन्, “मृतकको संख्या धेरै भएकाले धनसम्पत्ति, खेती, घरबार सारा स्वामित्वविहीन भएका थिए। महामारीमा बाँच्नेहरू तत्काल आफूले सोचेभन्दा कैयौं गुणा धनी भए। कामदारको अभाव हुन थाल्यो। कामदारले भनेजति ज्याला पाउन थाले।”

किसान कम भएका कारण कृषि उत्पादनको माग धेरै हुन थाल्यो। थोरै जनशक्तिले धेरै उत्पादन गर्नुपर्ने बाध्यता आयो। मान्छेको श्रमले मात्रै उपभोग्य वस्तु उत्पादन गर्न सकिएन।

डोरन भन्छन्, “यसले उत्पादनका साधनमै आमूल परिवर्तन ल्याउनुपर्ने बाध्यता पनि सिर्जना भयो। समाज बिस्तारै साधारणयन्त्र र प्रविधिको विकासमा अघि बढ्न थाल्यो। यसरी युरोपको मध्ययुगीन सामन्ती समाज कोल्टो फेर्दै औद्योगिक समाजतर्फ अग्रसर भयो। एउटा महामारीले युगान्तकारी भूमिका खेल्न सक्छ भन्ने ज्वलन्त उदाहरण थियो त्यो।”

पहिलो इन्फ्लुएन्जा, इटालीमै ८ हजारको मृत्यु

हुन त पहिलोपल्ट इसापूर्व ४३० ताका पेलोपोनेसियन युद्धका बेला ग्रिक सैनिकहरूलाई यो महामारीले सताएको मानिन्छ। तर, ‘इन्फ्लुएन्जा’ को पहिलो लिखित प्रमाण भने सन् १५८० मा एसियामा फैलिएको वैज्ञानिकहरु बताउँछन्।

महामारी एसियाबाट बिस्तारै युरोप र उत्तर अमेरिकासम्म पुगेको थियो। इटलीको रोममा ८ हजारले ज्यान गुमाएका थिए। प्रभावित मुलुकले संक्रमितलाई ‘क्वारेन्टाइन’ मा राखी पहिलो पटक आ–आफ्ना सीमा नाकामा आवतजावत बन्द गरेका थिए।

इन्फ्लुएन्जा पनि इटालियन भाषाकै शब्द हो। जसको अर्थ प्रभावमा पार्नु भन्ने हुन्छ। इन्फ्लुइन्जा शब्दको व्युत्पत्ति ल्याटिन भाषाको ‘इन्फ्लुएन्सिया’ बाट अपभ्रंश भई बनेको पनि भनिन्छ।

सय वर्षसम्म फैलिएको हैजा

सन् १८०० मा बङ्गालको खाडीबाट सुरु भएको हैजाको महामारी संसारका धेरै मुलुकमा पुगेको थियो। बेलायत अधीनस्थ तत्कालीन भारतमा बढ्दै गएको धनी र गरिबबीचको आर्थिक सामाजिक खाडल कम गर्न जानाजान हैजाको महामारीलाई रोकथाम गरिएन भन्ने गरिन्छ।

विपन्न वर्गलाई बडारेर कथित सामाजिक सन्तुलन कायम गर्न खोजिएको थियो भन्ने विश्वास पनि थियो। हैजा भारतीय उपमहाद्वीपमा मात्रै सीमित भएन; यो त धेरै स्थानमा एकैपटक देखियो।

बेलायत र रूसमा महामारी नियन्त्रण गर्ने सरकारी प्रयत्न एकदमै फितलो भएको भन्दै आन्दोलनकारीले अस्पतालमा आक्रमण गरेका थिए। यसले विश्वलाई उन्नाइसौं शताब्दीभर दुःख दिइरह्यो।

सामाजिक दूरीले रोकियो ५ करोडको ज्यान लिने स्पेनिस फ्लु

सन् १९१८ मा देखिएको महामारीले संसारका एक तिहाइ जनसंख्यालाई संक्रमित पारेको थियो भने कम्तीमा ५ करोड मान्छेको ज्यान लिएको थियो। औषधि उपचार लगभग शून्यकै हाराहारीमा रहेका बेला ‘सोसल डिस्ट्यान्सिङ’ का माध्यमले मात्रै महामारी राकिएको थियो।

अमेरिकाको फिलाडेल्फियामा प्रथम विश्वयुद्धमा अमेरिकाले महत्त्वपूर्ण भूमिका खेलेको खुसीयालीमा दुई लाख मान्छेले एउटा परेडमा भाग लिएका थिए।

परेडमा सहभागीमध्ये चार हजार ५०० भन्दा बढीको ज्यान गएको थियो। सेन्ट लुइसमा सार्वजनिक जमघट, यातायात आदिलाई तत्कालका लागि बन्द गरिएका कारण त्यति ठूलो क्षति हुन पाएन।

सरुवा रोगको महामारीमा ‘सोसल डिस्ट्यान्सिङ’ महत्वपूर्ण हुन्छ भन्ने प्रमाण पनि सेन्ट लुइसमा अपनाइएको सतर्कताले देखाउँछ।

मध्यशताब्दीको फ्लुमा २० लाखको मृत्यु
चराचुरूङ्गीमा लाग्ने एभिएन फ्लु मानिसमा सरेपछि यसले महामारीको रूप लिएको थियो। रोग प्रतिरोधी औषधिको आविष्कार र कूटनीतिक क्षेत्रमा भएको विकासका कारण स्थिति भिन्न बन्यो।

सन् ३० र ४० को दशकसम्म आइपुग्दा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र विश्व स्वास्थ्य संगठनको स्थापना भए भने फ्लुका खोप पनि आविष्कार भएको थियो। सीडीसी आमजनताको स्वास्थ्य स्थितिबारे तथ्यांक संकलन गरी जनस्वास्थ्यका क्षेत्रमा सरकारले लिनुपर्ने आवश्यक रणनीति तर्जुमा गर्ने एक अमेरिकी संस्था हो। महामारीका बखत स्थिति नियन्त्रणमा लिन यस्ता संस्थाहरूले निकै ठूलो मद्दत गर्छन्।

तर न त उपलब्ध खोप न त विश्व स्वास्थ्य संगठन र सीडीसीजस्ता संस्था नै मध्य शताब्दीका यी महामारी नियन्त्रण गर्न सफल रहे। हङकङबाट सुरु भएको भनिएको उक्त फ्लुले सन् १९५७ र १९६८ मा गरी २० लाख मानिसको ज्यान लिएको थियो ।

एचआईभी एड्सको जोखिम कायमै

सन् ७० को दशकदेखि हालसम्म ७ करोड ५० लाखभन्दा बढी मानिस यो महामारीबाट संक्रमित भएका छन् भने ३ करोड २० लाखले ज्यान गुमाएका छन्।

हुन त यसका थुप्रै एन्टिरेट्रोभाइरल औषधि आविष्कार भएको छ। असुरक्षित यौनसम्पर्क, प्रदूषित लागूऔषधका सुइ र अन्य जैविक संसर्गबाट सर्ने हुनाले यसविरुद्ध जनस्वास्थ्यका कार्यक्रम प्रशस्त ल्याइएका हैनन्। तर हालसम्म यो महामारी पूर्ण नियन्त्रणमा आएको छैन। 

इतिहामा यस्ता धेरै महामारीले ठूलो क्षति पुर्याएका छन्। त्यसैले यी घटनाबाट हामीले सिक्नुपर्ने कुरा धेरै छन्।

जोन हप्किन्स विश्वविद्यालयका औषधि विज्ञानका इतिहासकार ग्राहम मुनी भन्छन्, “विगतले सिकाएका पाठलाई हामीले बेवास्ता गरेका धेरै उदाहरण छन्। एउटा उदाहरण : सरकारहरूले यस्ता महामारीका कारण पीडित बनेका आमनागरिकलाई सामाजिक–आर्थिक असरबाट बचाउन गतिलो कदम चाल्न सकेको देखिँदैन, बाध्यकारी ढंगले क्वारेन्टाइनमा राख्न, यात्रामा रोक लगाउन, विद्यालय, कार्यस्थललगायत सबै बन्द गर्न आदेश मात्र दिएको पाइन्छ।” यसले थप सामाजिक असमानता बढ्ने मुनीको दाबी छ।

(टिम म्याक्डोनको लेखको भावानुवाद)

अनुवादक : मातृका पौडेल

 

प्रतिक्रिया दिनुहोस्