बिहीबार, वैशाख १३, २०८१

भारतबाट प्याजको तस्करी, किसान मारमा

नेपाली बजारमा अत्यधिक मूल्य बढेपछि सीमा क्षेत्रहरुबाट प्याजको तस्करी हुन थालेको छ।
 |  आइतबार, माघ ५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ ५, २०७६

भैरहवा- नेपाली बजारमा अत्यधिक मूल्य बढेपछि सीमा क्षेत्रहरुबाट प्याजको तस्करी हुन थालेको छ।

triton college

यसअघि कपडा, हार्डवेयर, चिनी, तेल लगायतको चोरी तस्करी गर्नेहरु नै अहिले प्याजको तस्करीमा लागेका छन्। भारतीय बजारबाट तस्करी गरेर नेपाली बजारमा प्याज भित्रिन थालेपछि नेपाली किसानहरु समेत मारमा परेका छन्।

करिब दुई महिनाअघि प्रहरीले प्याज तस्करी गरेर ल्याएको एउटा ट्रयाक्टर बरामद गर्यो। तर ३५ बोरा प्याजसहित नियन्त्रणमा लिइएको ना २ च ८७३६ नम्बरको ट्रयाक्टर भन्सार चलान गरिएकोपछि प्याजको पनि तस्करी हुन थालेको कुरा थाहा भयो। पछिल्लो समय दैनिकजसो ट्रयाक्टर, पीकअप भ्यान, मोटरसाईकल र साईकलमा प्याजका बोराका बोरा भित्रिन थालेका छन्।

अधिकांश खेती किसानी गर्ने सीमावर्ती नागरिक यतिबेला आफ्नै खेतको डिलबाट प्याज र तरकारीको चोरी पैठारी भने टुलुटुलु हेरर बसिरहेका छन्। उनीहरुले प्रहरीलाई धेरै पटक खबर गरेका हुन्। तर प्रहरीले अहिलेसम्म रोकेको छैन।

‘हामीले अर्गानिक खेती गरिरहेका छौँ। जसको कारण लागत बढी पर्छ र मूल्य महंगो पनि पर्छ। तर सीमापारी कम लागतमा उत्पादन गरेका विषादी प्रयोग भएका प्याज बिना रोकतोक ल्याइएको छ। खुलेआम ट्रयाक्टर, मोटरसाईकल, साईकलमा बोराका बोरा काउली, प्याज, सिमी, लौका लगायतका तरकारी भित्रिरहेको छ। यो रोकिएन भने हामी त बर्बाद नै हुन्छौं।’ तरैनी कृषि स्मार्ट ग्रामका अध्यक्ष समेत रहेका किसान गजेन्द्र चौधरीले भने।

corrent noodles
Metro Mart

भैरहवाको सेमरपानी नाका हुँदै सबैभन्दा बढी प्याज अबैध रुपमा नेपाल भित्रिइरहेको छ। सेमरपानीबाट भित्रिएको प्याज बसन्तपुर, धकधई हुँदै भैरहवा तर्फ र बुटवल तर्फका गोदाममा जाने गरेको देखिएको छ। प्रहरीसँगको मिलेमतोमा तस्करहरुले भारतीय बजार सुनौली, नौतनहवाबाट प्याज तस्करी गरेर नेपाल भित्र्याइरहेका छन्।

प्रहरी प्रमुख एसपी हेमकुमार थापाले राखेका सूचना दिने प्रहरीहरुले घुमुवाको काम गरिरहेका छन्। उनीहरुले नै प्याज तस्करीसँग मासिक किस्ता बुझ्नेगरी तस्करहरु नै बताउँछन्। ‘हामीले एकजना बराबर दिनको एक हजार रुपैयाँसम्म प्रहरीका घुमुवालाई बुझाउँछौं। कोहीले ५ सय पनि दिने गरेका छन्’, जिल्लाको सेमरपानी नाकामा शुक्रबार भारतबाट विना भन्सार प्याज तस्करी गरी नेपाल भित्र्याउँदै गरेका अस्लिमले भने।

यो नाकाबाट मात्रै दैनिक डेढसय बढी तस्करहरुले प्याज नेपाल भित्र्याउँछन्। डेढ सयजनाबाट प्रहरीले दैनिक यही नाकाबाट मात्रै ७५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म असुल्ने गरेको छ। स्थानीय राजेश मल्लाहले लाइन लागेर दिनहुँ खुलेआम तस्करी हुँदासमेत प्रहरी प्रशासन मौन बसेको बताउँछन्। ‘घुमुवा प्रहरीहरु पैसा बुझ्नेबेला मात्रै आउँछन्। अन्यबेला फर्केर आउँदैनन्। खुलेआम यसरी राजश्व छल्दासमेत असुलीकै कारण प्रहरी मौन छ’, उनले भने।

धकधई, मैनीहवा, पजरकट्टी, बेलहिया, मेउडिहवा, एअरपोर्ट, लुम्बिनीलगायतका क्षेत्रबाट दिउँसै प्याजको चोरी पैठारी भईरहेको छ।
मंसिर १५ गते ट्रयाक्टरसहित नियन्त्रणमा लिइएको ३५ बोरा प्याज पनि त्यसैको उदाहरण भएको स्वयं चोरी पैठारीमा संलग्नहरु बताउंछन्। प्रहरीले नै तस्करीका लागि रुटको सेटिङ मिलाउने गरेका छन्।

यसरी अवैधरुपमा तस्करी गरि नेपाल भित्र्याइएको प्याज धकधई, गल्लामण्डी लगायतका ठाउँमा विक्री हुँदै आएको छ। कतिपयले भण्डारण गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन्। खुलेआम प्रहरीको मिलेमतोमै तस्करी हुँदा दैनिक लाखौं राजश्व गुमेको छ। भैरहवा भन्सार कार्यालयका एक अधिकृतले भने, हामीले प्याजको तस्करी भईरहेको सुनेका छौँ। यो तत्काल रोक्नुपर्छ। चोरी पैठारी भईराख्यो भने राज्यको लाखौं राजश्व गुम्छ। ’

पछिल्लो समय प्याज निकै महंगो भएको छ। भारतीय बजारमा प्रतिकिलो भारतीय रुपैया ५० पर्ने प्याज नेपाली बजारमा १२० देखि १५० सम्म पर्छ। मूल्यको अन्तरकै कारण प्याज तस्करी भइरहेको छ।

भैरहवा भन्सार कार्यलयबाट असोज यता प्याजको एक दाना पनि नभित्रिएको भन्सार प्रमुख कमल कुमार भट्टराईले बताए। उनले भने, ‘भन्सारबाट भित्रिएको छैन। बाहिरको हामीलाई थाहा भएन।’ भन्सारबाट आउँदा पनि प्याजमा सहुलियत कर लाग्ने गर्दछ। कृषिजन्य उत्पादन भएकोले प्याजमा कृषिमा सुधार शुल्क ५ प्रतिशत र आन्तरिक कर ५ प्रतिशगरी जम्मा मूल्यको १० प्रतिशत शुल्क लाग्ने गर्दछ।

विषादी परीक्षणविनै धमाधम तस्करीको प्याज नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्छामा पुग्छ। यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर पार्नसक्ने चिकित्सकहरु बताउँछन्। क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख विष्णु काफ्लेले भने विषादी परीक्षण नगरेको प्याजलगायत जुनसुकै तरकारी खान हुदैंन।

काफ्लेले भने, ‘केही महिना यता प्याज आएको छैन। हामीले क्वारेन्टाइन गरेपछि मात्रै नेपाल भित्रिने हो तर तीन महिनायता हामीकहां प्याजको क्वारेन्टाइन भएकै छ्रैन।’

प्लान्ट क्वारेन्टाईनले क्वारेन्टाइन गरेको छैन। भन्सारले भन्सार गरेको छैन तर नेपाली बजारमा छ्यापछ्याप्ती भारतीय प्याज विक्री बितरण भईरहेको छ।

आफै उत्पादन गरेर भैरहवाको हाटबजारमा प्याज बिक्री गर्न आएका कोटही माईका किसान रामअवतार दुबे भन्छन्, ‘बजारभरी कहांबाट आउँछ, आउंछ। हामीले थोरै उत्पादन गरेर ल्याउँदा महंगो पर्छ अनि बजारमा जत्तिमा चलेको छ त्यतिमा बेच्नै पर्दछ।

प्रकाशित: Jan 19, 2020| 15:38 आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।