काठमाडौंबासीका अनेक दुःख छन्। खानेपानीको दुःख, धुलोधुवाँको तनाव। सडकमा खाल्डैखाल्डा। पानी परे हिलो, घाम लागे धुलो। हिँड्नलाई फुटपाथ छैन। बर्खा लागेपछि सडक छेउमा फोहोरको डुंगुर।
ट्राफिक जाम त काठमाडौंको पर्याय नै भइहाल्यो। सवारीसाधनकै कुरा गरौं न। आफ्नो सवारी भए पनि दुःख नभए पनि दुःख। नहुँदा भनेको समयमा भनेको ठाउँमा पुगिँदैन। सार्वजनिक यातायातको सास्ती सबैले भोगेकै हो।
साधन हुनेलाई सधैं समस्या हुन्छ पार्किङको। काठमाडौंको बजारमा सबैथोक पाइन्छ तर पार्किङ गर्ने ठाउँ पाइँदैन। दैनिक करोडौंको व्यापार/कारोबार गर्ने कतिपय सपिङ मल, होलसेल बजार, बैंक तथा वित्तीय संस्थामा समेत पार्किङको लागि ठाउँ पाइँदैन। सडक किनारमा जथाभावी पार्किङ गर्दा अनेक जोखिम। कहिले लड्ने, कहिले सामान टुटफुट हुने, कोरिने, कहिले हेलमेट हराउने त कहिले सवारीसाधन नै हराउने।
काठमाडौंका मुख्य सडकदेखि स–साना गल्लीसम्म पनि सडक अतिक्रमण गरी सवारी पार्किङ गरिएको देखिन्छ। यसले गर्दा सडक साँघुरिएर सवारी जाम त भएकोे छ नै, पैदलयात्रीलाई समेत हिँड्न कठिन भएको छ। फुटपाथ पार्किङका कारण सबैभन्दा बढी पीडित छन् दृष्टिविहीन। दृष्टिविहीन नविना चौलागाईं भन्छिन्, ‘हामी हिँड्ने बाटोमा मोटरसाइकल राखेको हुन्छ। कतिपटक त ठोक्किएर लडेको छु।’
दैनिक लाखौं मानिस हिँडडुल गर्ने काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरु न्युरोड, दरबारमार्ग, पुतलीसडक, जमल, ठमेल, भोटाहिटी, असन, भृकुटीमण्डप, रत्नपार्क, कोटेश्वर, गौशाला, चाबहिल, महाबौद्धजस्ता क्षेत्रमा पार्किङको समस्या बढी रहेको भुक्तभोगीहरु बताउँछन्।
‘थोरै ठाउँमा कोचेर पार्किङ गर्दा कोरिने, टुटफुट हुने डर हुन्छ। मोटरसाइकल पार्किङ गरेर पसलमा गयो, फर्केर आउँदा कहिले हेलमेट हुँदैन, कहिले साइड लाइट भाँच्चिएको हुन्छ। कहिले त महानगरले मोटरसाइकल उठाइदिन्छ। कि पार्किङ व्यवस्थित गर्नुपर्यो कि सडक छेउमा पार्किङ गर्दा महानगरले उठाउनु भएन। ठाउँ नै छैन त कहाँ पार्किङ गर्नु ?’ मोटरसाइल चलाउने मानबहादुर खड्का भन्छन्।
‘हरेक दिन पार्किङको झन्झट बेहोर्नुपर्छ। स्मार्ट पार्किङले केही सहज त भएको छ तर दिनभरि त्यहाँ पार्किङ सम्भव हुँदैन, निकै महँगो पर्छ,’ न्युरोडमा पसल गर्ने बालाजुका हरि सिलवालले समस्या सुनाए। उनी आफ्नो पसल अगाडिकै गल्लीमा पार्किङ गर्छन्। कहिलेकाहीँ ढिलो पुग्दा त्यही गल्ली पनि भरिइसकेको हुन्छ।
जमलमा व्यापार गर्ने जीवन श्रेष्ठ पनि पसल भएको ठाउँमा पार्किङ नभएका कारण सडक किनारमै मोटरसाइकल राख्छन्। कहिलेकाहीँ ट्राफिकले फेला पारे चिट काटिदिन्छ, कहिले उठाएरै लगिदिन्छ।
काठमाडौं व्यवस्थित गर्ने जिम्मेवार निकाय काठमाडौं महानगरपालिका पार्किङ समस्या समाधानका लागि भन्दै बेलाबेला योजना ल्याउँछ तर यसको दीर्घकालीन समाधान हुन सकेको छैन। महानगरले दरबारमार्ग र न्युरोड क्षेत्रका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरे पनि पर्याप्त छैन।
महानगरको स्मार्ट पार्किङ क्षेत्रमा देनिक करिब ११ सय सवारीसाधन पार्क गर्न सकिन्छ जबकि दैनिक ५ लाखभन्दा बढी सवारी काठमाडौंमा उपत्यकामा गुड्छन्। बढ्दै गएको सवारीसाधनको चापले पार्किङको समस्यामात्र बढाएको छैन, ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको छ। सवारीधनीले जथाभावी सडकमा गाडी पार्किङ गर्दा ट्राफिक जाम बढेको ट्राफिक प्रहरी बताउँछन्।
के गर्दैछ महानगर ?
पार्किङ समस्याबारे बेखबर छैन कामनपा। ‘पार्किङको विषयमा निकै आउँछन् गुनासा। सार्वजनिक जग्गाको अभावमा पार्किङका लागि निश्चित स्थान छुट्याउन सकिएको छैन,’ महानगर प्रहरी प्रमुख धनपति सापकोटा भन्छन्, ‘पार्किङको समस्या हुँदाहुँदै पनि हेरेर बस्नुपर्ने बाध्यता छ।’ ८१ स्थानमा पार्किङको आवश्यकता महसुस गरेर कामनपाले व्यवस्थित पार्किङका लागि उचित ठाउँको खोजी गरिरहेको उनले बताए।
सडक अतिक्रमण गरी गरिएको पार्किङ हटाउन काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी महाशाखाको समन्वयमा दुईवटा गाडी खटिन्छन्। ती गाडीले नो पार्किङमा राखिएका दुईपांग्रे सवारी उठाएर लैजान्छन्। सवारीधनीले सिंहदरबार बग्गीखाना गएर एक हजार रुपैयाँ तिरेपछि मात्र आफ्नो सवारी लैजान पाउँछन्। चारपाङ्ग्रेको हकमा भने ट्राफिक प्रहरीले ह्वील लक गरिदिन्छन्।
कुन कार्यालय र कसले ह्विल लक लगाएको हो भन्ने विस्तृत विवरणसहित सम्बन्धित सवारीसाधनमा स्टिकर टाँसिन्छ। स्टिकरमा जथाभावी पार्किङ गर्ने सवारी साधनको नम्बर, ठाउँ, मिति र समय पनि उल्लेख गरिएको हुन्छ। ह्विल लक खुलाउन स्टिकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नुपर्छ। महानगरले अनधिकृत पार्किङ गरिएबापत गत आर्थिक वर्षमा १ करोड २५ लाख रुपैयाँ जरिवाना असुल गरेको महानगर प्रहरी प्रमुख सापकोटाले बताए।
कामनपाले केही वर्ष अगाडि उपत्यकाका ७५ भन्दा बढी स्थानमा सशुल्क पार्किङ सञ्चालन गर्दै आएको थियो। तर, महानगरले कानुनविपरीत पैसा उठाएको भन्दै सर्वोच्च अदालतले शुल्क उठाउन रोक लगाइदियो। ०७१ पुस १ देखि महानगरले सबै ठेक्का रद्द गरी निःशुल्क पार्किङ गर्न दिने निर्णय गर्यो। तर, त्यसपछि पनि पार्किङ व्यवस्थित भएको छैन।
अव्यवस्थित भए पनि सडक किनारमा पार्किङ गर्न दिनु बाध्यता भएको सापकोटा तर्क गर्छन्। भन्छन्, ‘अफस्ट्रिट पार्किङलाई बढावा दिन प्रत्येक व्यावसायिक घरलाई भूमिगत पार्किङमा जोड दिएका छौं। निजीस्तरबाट भइरहेको सशुल्क पार्किङलाई पनि प्राथमिकतामा राखिएको छ। राजधानीका व्यस्त ठाउँमा पार्किङ व्यवस्थापनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने महानगरको नीति छ।’