काठमाडौं– बागलुङका खगेन्द्र थापा मगरको शुक्रबार निधन भएसँगै संसारको सबैभन्दा होचा व्यक्ति कोलम्बियाका इडवार्ड फर्नान्डेज भएका छन्। ३२ वर्षीय फर्नान्डेज ७०.२१ सेन्टिमिटरका छन्। खगेन्द्र ६७.०८ सेन्टिमिटरका थिए।
मुटुको रोग र दमबाट ग्रसित खगेन्द्रको छातीमा संक्रमण भएपछि निधन भएको हो। उनी पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत थिए।
चञ्चले स्वभावका खगेन्द्र पूजापाठमा रमाउने, नाचगान गर्न मन पराउने स्वाभावका थिए। २७ वर्षे खगेन्द्रको बिहे गर्ने इच्छा थियो । ‘सबैले बिहे गरे, मेरो पनि बिहे गर्नुपर्यो । मलाई मेरो श्रीमतीले सघाउँछे,’ खगेन्द्र राना मगर प्रतिष्ठानकी सदस्य धनकुमारी रानाले सुनाइन् । उनी रसिक स्वाभावका भएको पनि धनकुमारीले सम्झिइन्।
खगेन्द्र एक वर्ष स्कुल पनि गए । उनले पोखराको सरस्वती आवासीय माविमा एलकेजी पढेका थिए । खगेन्द्र पढ्ने बेला स्कुलको माहोल नै रमाइलो बनेको प्रिन्सिपल दुर्गाबहादुर थापाले सुनाए।
२०४९ साल असोज २८ गते बागलुङमा जन्मेका खगेन्द्रको नाम ०६७ सालमा विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा लेखिएको थियो।
पोखराका मीनबहादुर रानाले खगेन्द्रले बागलुङबाट पोखरा ल्याएर गिनिज बुकका लागि पहल गरेका थिए। पोखरा आएपछि मिडियामा आउन थालेका खगेन्द्रको गिनिज बुकमा नाम लेखिएपछि चर्चा जताततै हुन थाल्यो।
मानिसहरु उनलाई हेर्न र उनीसँग फोटो खिचाउन तँछाडमछाड गर्थे । यहाँसम्म कि केही समय त उनलाई भेट्न शुल्कसमेत तिर्नुपर्ने भयो । उनकै नाममा खोलिएको प्रतिष्ठानले लाखौं रुपैयाँ संकलन गर्यो।
०६७ सालमा गिनिज बुकमा नाम लेखाएपछि खगेन्द्रको चर्चा नेपालमा मात्र सीमित भएन । अन्तर्राष्ट्रिय मिडियाले पनि उनलाई फलो गर्न थाले । सँगै उनको विदेश यात्रा पनि सुरु भयो।
करिब १० वर्षको अवधिमा खगेन्द्रले भारत, मलेसिया, हङकङ, दक्षिण कोरिया, बेलायत, अष्ट्रेलिया, इटली, फ्रान्स, स्विट्जरल्याण्ड, लक्जेम्बर्ग, कतार, अमेरिकासम्मको यात्रा गरे।
पार्थिव शरीरमा राष्ट्रिय झण्डा
कीर्तिमानी खगेन्द्र राना मगरको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेको छ। खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।
नेपालको नाम विश्वसामु राख्ने खगेन्द्रको शव यात्रासहितको दाहसंस्कारमा सरकारी स्तरबाट प्रदेशका एक मन्त्रीबाहेक अन्य निकाय खासै सहभागी नहुनुले कीर्तिमान राख्ने व्यक्तिलाई राज्यले उचित सम्मान दिन नसकेको केही सहभागीले गुनासो गरेका थिए।
यसैबीच, गण्डकी प्रदेश सरकारले विश्वकै होचा व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम गरेका खगेन्द्र थापा मगरको निधनप्रति शोक व्यक्त गरेको छ। मगरको निधनको खबरले आफूहरुलाई अत्यन्त दुःखी बनाएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङद्वारा हस्ताक्षरित शोक वक्त्तव्यमा उल्लेख छ।
सम्झियो गिनिज बुकले
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा हिँडडुल गर्न सक्ने र नसक्ने दुई प्रकारका होचा मानिसहरूको नाम लेखिन्छ। खगेन्द्र पहिलो क्याटेगोरीका हुन्।
हिँडडुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा निधन भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ। उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि गिनिज बुकको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले खगेन्द्र हामीबीच नरहेको भन्ने नेपालबाट खबर सुनेर निकै दुःखी भएको बताएका छन्।
०६७ सालमा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो। नेपालकै ५४.६ सेन्टिमिटरका चन्द्रबहादुर डाँगी पत्ता लागेपछि थापा मगरले सबैभन्दा होचा व्यक्तिको उपाधि गुमाएका थिए। तर, चन्द्रबहादुरको २०७२ सालमा मृत्यु भएपछि पुनः खगेन्द्रको नाम लेखियो।