सोमबार, चैत २४, २०७६

समाचार स्वास्थ्य/जीवनशैली

कोरोना विपद् : आशा जगाउने पाँच कुरा

1585220189corona_women.jpg

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट १९६ देश/क्षेत्रका झन्डै २० हजारको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ४ लाख नाघेको छ। यीमध्ये करिब डेढ लाख निको भएका छन्। संसारको एक चौथाइ जनसंख्या बन्दाबन्दी (लकडाउन) मा छ।

यी खबर चिन्ताजनक छन्। तर, जानकारका अनुसार यो अवस्थामा पनि आशा जगाउने केही कुरा बाहिर आएका छन्।

१. चीनको वुहानमा कोरोना भाइरस संक्रमण हुँदा प्रयोग भएको ‘रहस्यमय’ शब्द अब छैन।

भाइरसको ‘जिन सिक्वेन्स’ पत्ता लागिसकेको छ। रोकथामका लागि विशेष खोप वा औषधि पत्ता नलागे पनि नियन्त्रणका उपाय जानकारीमा छन्। भाइरसले जलवायुअनुसार आफूलाई परिवर्तन सक्ने देखिए पनि अधिकांश मामिलामा त्यस्तो पाइएको छैन।

सन् १९८० को दशकमा एचआईभी फैलिन सुरु हुँदा उक्त भाइरसको पहिचानमै दुई वर्ष लागेको थियो। अहिले अवस्था त्यस्तो छैन।

२. चीन, दक्षिण कोरियाजस्ता देशको उदाहरणबाट के स्पष्ट भएको छ भने कोरोना नियन्त्रणमा आउन सक्छ।

चीनको वुहानको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। संक्रमण दर कम भइसकेको छ।

चीनपछि कोरोना संक्रमणको केन्द्र दक्षिण कोरिया हुने अनुमानविपरीत दक्षिण कोरिया संक्रमितको संख्या झन्डै नौ हजारमा सीमित गर्न सफल भएको छ। तीमध्ये झन्डै ४ हजार पूर्ण निको भइसकेका छन्।

कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले नगद कारोबारसमेत ठप्प पारेको थियो। ताइवान र सिंगापुरले पनि कोरोना भाइरस नियन्त्रणमा महत्त्वपूर्ण सफलता हात पारेका छन्।

यो सफलता लकडाउनदेखि व्यक्तिहरुबीच भौतिक दूरी, अधिकतम परीक्षणलगायतका कारण सम्भव भएको हो। 

३. अर्को आसलाग्दो जानकारी के हो भने कोरोना भाइरस संक्रमित व्यक्तिको छेउबाट हिँड्दैमा समातिहाल्दैन।

विशेषज्ञका अनुसार संक्रमित व्यक्तिसँग प्रत्यक्ष शारीरिक सम्पर्क हुँदा, संक्रमित व्यक्तिले तपाईंको अगाडि खोक्दा, हाछ्यूँ गर्दा र संक्रमित व्यक्तिको सामुन्ने तपाईंले दुई मिटरभन्दा कम दुरीमा १५ मिनेटभन्दा धेरै समय बिताउँदा संक्रमण हुने जोखिम रहन्छ।

सबैलाई थाहा भइसकेको छ, नियमित हात धुने, स्यानिटाइजरले हात राम्रोसँग पुछ्ने गर्दा पनि संक्रमणको जोखिम केही कम हुन्छ। ढोकाको चुकुल, हत्थाजस्ता ठाउँ, जहाँ भाइरस संक्रमण हुने सम्भावना हुन्छ त्यहाँ स्यानिटाइजर, इथानोल या हाइड्रोजन पेरोक्साइडले सफा गरेर पनि संक्रमणको जोखिम कम गर्न सकिन्छ।

४. महामारीसँग जुध्न वैश्विक रुपमा व्यावहारिक तालमेल सम्भव भएको छ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूले संसारभर कम्तीमा पाँच करोड मानिसको मृत्यु भएको अनुमान गरिन्छ। यति ठूलो संख्यामा मृत्यु हुनुको कारण संसारको ठूलो जनसंख्यालाई आवश्यक पोषणयुक्त खाना उपलब्ध थिएन। तर, अहिले अवस्था त्यस्तो छैन।

सय वर्षअघिको अवस्थाभन्दा चिकित्सा विज्ञानले धेरै प्रगति गरिसकेको छ। अहिले इन्फ्लूएन्जा वा कोभिड– १९ जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका लागि धेरै राम्रो सुविधा उपलब्ध छ, जसबाट धेरैको ज्यान बचिरहेको छ। सञ्चार प्रविधिको विकासका कारण पनि धेरै कुरा सहज भएकाे छ।

५. नयाँ कोरोना भाइरस (कोभिड-१९) आफ्नो परिवारकै अर्को सदस्य मर्स जति घातक छैन।

मर्सकाे पहिचान सन् २०१२ मा भएको थियो। मर्स संक्रमणबाट हुने मृत्यु दर ३७ प्रतिशतसम्म छ, जबकि कोभिड– १९ संक्रमणबाट हुने मृत्यु दर त्योभन्दा निकै कम छ। कोरोना भाइरस संक्रमणका अधिकांश बिरामी निको भइरहेका छन्।

चीनमा ४५ हजार संक्रमितमाथि गरिएको अध्ययनअनुसार करिब पाँच प्रतिशत मात्र गम्भीर बिरामी भएका थिए। गम्भीर बिरामीमध्ये आधाको मात्रै मृत्यु भएको थियो। अर्थात् मृत्यु दर २.५ प्रतिशत मात्रै थियो।

प्रतिक्रिया दिनुहोस्