इटहरी- पटिया आदिवासी थारू समुदायले बनाउने र प्रयोग गर्ने मौलिक गुन्द्री अर्थात् गलैँचा हो। मोरङको सुन्दरहरैचा १० दुलारीमा जन्मेकी वबिता चौधरीले आफू जान्ने भएदेखि नै घरमा यस्ता पटिया बुन्न थालिन्। दशकअघि विवाह भएर इटहरी–४ मा आएपछि भने पटियाको प्रयोग नगरिएको चौधरीको अनुभव छ।
थारु समुदायको चाडबाड र बुढापाकाहरूलाई बस्नबाहेक पटिया प्रयोगको प्रचलन लगभग हराएको थियो। बजारको गलैँचाले पटिया प्रयोग कम हुँदै आएको थियो। घरलु औजार र स्थानीय सीपले बन्ने पटियालाई उद्योगमा उत्पादित विदेशी गलैँचाले लगभग बिस्थापित नै गरेको थियो।
नयाँ पुस्ताले त पटिया बिर्सन थालेका थिए। तर, पछिल्ला केही वर्षहरुमा इटहरीका थारु समुदायमा आफ्नोपनको खोजी हुन थालेपछि भने पटियाको प्रयोग पुनः सुरु भयो। पटिया प्रयोग सुरु हुन थालेपछि चौधरीले फेरि पटिया बनाउन थालिन्।
खोला किनारमा उम्रने पटिया बनाउन आवश्यक कच्चा पदार्थ ल्याएर चौधरीले पटिया बन्नु थालिन्। केही समयअगाडि आफ्नी वृद्ध सासु पाचो चौधरीसँगै पटिया बनाउन व्यस्त थिइन् चौधरी। नेपाल समयसँग बोल्दै चौधरीले भनिन्, ‘एउटा मलाई र एउटा छिमेकी दिदीलाई बनाउँदै छु।’
पटिया बनाउन आवश्यक तानदेखि सबै घरेलु औजारबाटै पटिया बुन्छिन् चौधरी। उनले बुनेका पटियाको माग छरछिमेकमा अत्यन्तै बढ्यो क्रममा छ। पटेर काटेर ल्याएपछि दश दिनमा सुकेर पटिया बन्न लायक हुन्छ। पटिया बन्न लायक पटेरलाई हातको सीपले तानमा बुनेपछि दुई दिनमा एउटा पटिया तयार हुन्छ।
पुर्ण रुपमा तयार भएको पटियालाई सात सय रुपैयाँमा बेच्ने चौधरी बताउँछिन्। दुई दिनको मेहेनत र पटेर खोज्ने थप समय लाग्ने कुरालाई किन यत्ति सस्तो भन्ने प्रश्नमा चौधरी मुस्कुराँउदै भन्छिन्, ‘आफन्तलाई मात्रै बेचेकाले धेरै दाम नलिएको हो।’ आफूले व्यवसायिक रुपमा नभएर सामाजिक रुपमा काम गरेको चौधरी बताउँछिन्। व्यवसायिक रुपमा बनाउँदा प्रत्येक पटियालाइ एक हजार रुपैयाँमा बेच्ने सोच रहेको चौधरी बताउँछिन्।
थारू समुदायको विवाह र विभिन्न पूजा पाठमा पटियाको अनिवार्य प्रयोग हुने बताउँछिन्।
पटिया प्रयोग गर्दै इटहरीको क्याफे
थारु समुदायको पाठपुजादेखि विवाहसम्म प्रयोग हुने पटिया अन्यत्र पनि प्रयोग हुन थालेको छ। इटहरीमा सञ्चालित फलैँचा क्याफेले पटिया प्रयोग गर्ने गरेको छ। क्याफेका सञ्चालकहरू सन्दीप पौडेल र दिव्यराज गुरुङले आफूहरुले मौलिकता महसुस गराउन पटिया प्रयोग गरेको बताउँछन्।
गुरुङ भन्छन्, ‘स्थानीय सीपबाट उत्पादित बस्तुहरुको सकेसम्म धेरै प्रयोग गरौँ भन्ने हिसाबमा हामीले पटिया प्रयोग गरेका हौँ।’
उनका अनुसार पटियासँगै स्थानीय हातले बनाएका मुढा, माटाका चिया भाँडादेखि अन्य सामानहरु क्याफेले प्रयोग गरिरहेको छ। गुरुङले इटहरी र सुनसरीका अन्य विभिन्न क्षेत्रमा उत्पादित रैथाने सीपका पटिया, माटाका भाँडा र मुढाहरु खरिद गरिरहेको बताए।