काठमाडौं - अष्ट्रेलियासँगको तीन एकदिवसीय सिरिज भारतले एक एकको बराबरीमा ल्याएको छ। पहिलो खेलमा १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतले दोस्रो खेलमा भने अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको छ। भारतको जितसँगै अन्तिम एक दिवसीय खेल रोचक बन्ने भएको छ। तेस्रो खेल जित्नेले सिरिज आफ्नो पक्षमा पार्ने छ।
शुक्रबार राजकोटमा सम्पन्न दोस्रो दिवसीय खेलमा भारतले दिएको ३ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ३ सय ४ रनमात्रै बनाउन सक्यो। अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ९८, मार्नुस लाबुशचेन्जले ४६, एरोन फिन्चले ३३ तथा एस्टन अगरले २५ रन बनाए। भारतका मोहम्मद सामीले तीन तथा नवदिप सैनी, रविन्द्र जडेजा र कुलदिप यादवले समान २/२ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो। भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए। अष्ट्रेलियाका एडम जाम्पाले तीन र केन रिचर्डसनले २ विकेट लिए।
तेस्रो तथा अन्तिम एक दिवसीय खेल आइतबार हुने छ।