काठमाडौं - काठमाडौंबाट शनिबार प्रकाशित राष्ट्रिय दैनिकले विविध विषयवस्तुका खबरलाई प्राथमिकतामा राख्दै समाचार प्रकाशन गरेका छन्।
अन्नपूर्ण पोष्टले रित्याइँदै वन शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ । यस्तै अन्नपूर्णले नै अमेरिकी दूतावासले एमसीसीमा सैन्य गतिविधि संलग्न नहुने, ऋणको बोझले त्रिशूलीमा : पत्नीको ज्यान गयो, दुई नाबालक नदीमा बेपत्ता शिर्षकका समाचारलाई पनि प्रथम पृष्ठमा स्थान दिएको छ भने कान्तिपुर दैनिकले पनि विनय लामिछानेको परिवारले ऋण तिर्न नसक्दा गर्न खोजेको आत्महत्या प्रयासलाई मुख्य स्थान दिँदै समाचार प्रकाशन गरेको छ। विनय व्यवस्थापन विषयका लेक्चर थिए। उनीसहित उनकी श्रीमती र उनीहरुले दुई नाबालक छोरा लिएर धादिङको बेनीघाटस्थित सिउरेनीटार जोड्ने पुलमुनि नदीमा हामफालेका थिए। घटनामा विनयको उद्धार गरिएको छ भने उनकी श्रीमती जमुनाको मृत्यु भएको छ। उनका दुई छोरा ६ महिनाका रिजन र दुई वर्षका विजन बेपत्ता छन्।
रित्याइँदै वन
अन्नपूर्ण पोष्ट लेख्छ, न पहाड न त तराई/मधेश न पूर्व–पश्चिम। जताततै वन संरक्षण होइन की विनाश गर्ने प्रवृत्ति बढेको छ। वनलाई तस्कर र भूमाफियाहरुले कमाइ खाने बाटो बनाएका छन्। तराईका सुकुम्बासी र भूमिहिनका नाममा माफियाले वन कब्जा गरि बस्ती बसालेका छन्। पहाडका वनमा वातावरण प्रभाव मूल्याङ्कन नै नगरी सडक, अन्य पूर्वाधार वन मासेर बनाउने क्रम बढेको छ। यस्तै अवस्था रहे वन क्षेत्र रित्तिने छ। यसमा सरकारी कर्मचारी वनका पदाधिकारीसँग मिलेमतो गर्छन्।
यसमा प्रदेश २ को चुरेबाट तस्करीको अवस्था भयावह छ। यहाँ चुरे वन १ लाख १५ हजार ९ सय ६ हेक्टर फैलिएको छ । यस्तै तराईमा १ लाख ३ हजार ८ सय ७४ हेक्टरमा फैलिएको छ। जम्मा वनमध्ये १७ हजार ८ सय ४३ हेक्टर वन अतिक्रमणमा परेको छ।
यस्तै सिन्धुलीमा २० हजार हेक्टर वन विनाश भएको छ। यस्तै कर्णालीमा निकुञ्ज र जिल्ला वन कार्यालयले मात्रै १६ हजार भन्दा बढी हेक्टर वन अतिक्रमण गरेका छन्। यस्तै वन अनुसन्धान तथा सर्वेक्षण विभागले सन् २०१५ मा गरेको अनुसन्धानमा कैलालीमा १५ तथा कञ्चनपुरमा २४ प्रतिशतले वन घटेको छ।