जनकपुरधाम- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले नाममात्रको संघीयता रहेको भन्दै यस्तो संघीयताको काम नरहेको बताएका छन्।
नाममात्रको संघीयताले परतन्त्रको अन्त्य नहुने उनले उल्लेख गरेका छन्।
शुक्रबार जनकपुरमा तीन महिने संगठन विस्तार तथा शुद्धिकरण अभियानको आरम्भ गर्दै अध्यक्ष यादवले मधेश जनविद्रोहको बलमा आएको संघीयताको मर्ममाथि कुठाराघात गर्दै शासक वर्गले वर्चस्व कायम राख्ने गरी ल्याइएको संघीयताले शोषित पीडितको उत्थान नगर्ने बताए।
मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधानस्रोतसम्पन्न प्रदेश मागेपनि अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको यादवको भनाइ छ।
संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै यादवले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए।
पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताईन्।
पार्टीका अर्का उपाध्यक्ष एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे। राउतले संगठित र अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न निर्देशन दिए।